2025 April 24/ 06:12: 41am

- वासुदेव घिमिरे
    सन् २७० तिर रोमका सम्राट थिए क्लोडियस द्वितीय । उनले आफ्ना सैनिकहरु प्रेमिल भावनामा नअलमलियुन् भनेर प्रेम र विवाहलाई सख्त निषेध गरेका थिए । तर यसको विरोध गर्दै त्यहिबेलाका एक रोमन पादरी सन्त भ्यालेन्टाइनले प्रेम गर्ने जोडीहरुलाई गोप्य रुपमा विवाहबन्धनमा बाँध्ने र प्रेम गर्न उक्साउने गर्थे । यहि थाहा पाएर सम्राटले उनलाई गिरफ्तार गरे र मृत्युदण्ड दिए । तिनै सन्त पादरीको स्मरण स्वरुप एक सिपाहीले आफ्नी प्रेमिकालाई लेखेको पत्रको अन्तिममा आफूलाई “उही तिम्रो भ्यालेन्टाइन” भनी चिनाए त्यहाँबाट सुरु भएको हो “भ्यालेन्टाइन डे”। जुन विश्वभर विस्तार भइरहेको छ । हुन त विभिन्न देशहरुमा आ–आफ्नै संस्कृति अनुसार प्रेम दर्शाउनका लागि विभिन्न पर्व र विशेष दिनहरु तोकिएका छन् । चीनमा चिक्सी फेस्टिबल, जापानमा तानेबाता फेस्टिबल, कोरियामा पेप्पेरो डे, थाइल्याण्डमा लाँय क्राथोङ जस्ता उत्सवहरु प्रेम दर्शाउनैका लागि आयोजना हुने गर्छन्, जसका आ–आफ्नै विशेष कथाहरु छन् । पूर्वीय संस्कारमा पनि वसन्त पञ्चमीलाई सरस्वतीको पूजा र प्रेम प्रस्तुत गर्ने विशेष प्रेमील दिनका रुपमा समेत लिइन्छ । तर विश्वभरी नै बढ्दै गएको पश्चिमा संस्कृतिको प्रभावले पनि होला भ्यालेन्टाइन डे ले धेरैलाई खिचिरहेको छ । 
खासमा त प्रेम यस्तो गहिरो भावना हो जसले जीवनलाई नै आनन्दित तुल्याउँछ । मानिसलाई सकारात्मक बनाई जीवनमा शान्ति र आनन्दको वर्षा गराउने प्रेमको सम्बन्ध आत्म, मन र शरीरसँग पनि हुन्छ । अझ प्रेमलाई विहङ्गम दृष्टिले हेर्ने हो भने त संसार नै प्रेममा अडेको छ । जसरी गुरुत्वाकर्षण शक्तिको प्रभावले ब्रम्हाण्डका ग्रह, उपग्रहको स्थिति सन्तुलित रहेको छ, त्यस्तै संसारभरका प्राणीलाई सन्तुलित बनाउने एउटै कुरा छ प्रेम । प्रेमले हरेक हृदयलाई तानेको छ हरेक आँखालाई लोभ्याएको छ । हिंस्रक जीवलाई समेत नियन्त्रण गर्न सक्ने एउटै तत्व छ त्यो हो प्रेम । 
स्कुल कलेजमा लुकाएर दिइने प्रेमपत्र, घण्टौं घोरिएर पठाइएका एसएमएसहरु, लुकि लुकी गरिएका च्याट, रिप्लाई कुर्दै बिताएका अनिदा रातहरु, भेटमा जुधेका आँखा, बढेको ढुकढुकी अनि सँगै हुँदा वा बोल्दा कता कता लाग्ने काउकुती यी सबैमा पनि कता कता लुकेको होला प्रेमको अंकुर । तर के प्रेम यहिमात्र हो त ? यसैगरी सुरु भएको प्रेम हिंसामा, हत्यामा अनि कहिल्यै नमेटिने दुस्मनीमा कसरी बदलिन्छन् होला ? यसको एउटै कारण छ  प्रेमको महसुस हृदयले गर्न सकेन । संसारले नै सम्मान गरी स्वर्ण अक्षरले लेखेका प्रेमका कथाहरु बियोगान्त छन् । मुना र मदन, हिर र रान्झा, रोमियो र जुलियटको प्रेमलाई संसारले दृष्टान्त बनायो तर संयोगान्त हुन सकेनन् यिनै प्रेमहरु । पूर्वीय संस्कृतिमा पनि कृष्ण र राधाको प्रेमचर्चा आज पर्यन्त भएको छ तर विवाह भएको कतै वर्णन छैन । त्यसैले त बुझ्न जरुरी छ प्रेम विश्वास हो, एकअर्काको सम्मान हो । प्रेमको अन्तिम उद्देश्य प्राप्ति मात्र हुँदो हो त कयौं वर्षको प्रेमपछि विवाहमा परिणत भएका प्रेम सम्बन्धहरु कहिल्यै छुट्ने थिएनन् । प्रेम सिर्फ आँखाको आकर्षण हैन, हृदयको समर्पण र सम्मान हो । यसले त हरेक हृदयमा एक यस्तो झंकार निस्पन्न गराउँछ जसले जतिसुकै कठोर हृदयलाई पनि कोमल बनाइदिन्छ । यसले मिच्न सक्छ हरेक सिमाना, नाघ्न सक्छ समाजले बनाएका बडेबडेमानका पर्खालहरु, तर हानी गर्दैन कसैको । आफ्नोमात्र खुशीको लागि देखिने पागलपन मात्र प्रेम कदापि हुन सक्दैन । एकअर्काको खुशीको लागि जब दुबै तयार रहन्छन् नि आफ्नै हृदयभित्रै पीडाहरु लुकाउन, त्यहाँ मौलाएको हुन्छ अजर प्रेमको विरुवा । 
भ्यालेन्टाइन डे पश्चिमा संस्कृति हो । यसलाई हामीले अंगाल्नु हुँदैन भन्ने एकखालको बहस पनि छदैंछ । यो विवादको जन्म यसकै नाममा भित्रिएका विकृतिहरुले सिर्जना गरेको हो । यसको राम्रो नराम्रो पक्षको बहसको एउटा पाटो छदैंछ । भलै भ्यालेन्टाइन डे एउटा पश्चिमा संस्कृतिको द्योतक होला । प्रेम त सर्वव्यापी छ, विश्वव्यापी छ, सर्वधर्ममा छ । त्यसैले यसको भावनालाई बुझौं । बलजफ्ती राखिएको प्राप्तिको चाहना वा आँखाका आकर्षण प्रेम हैनन् । यो त अपराध हो । प्रेमलाई संकुचित बनाई फगत सिमित आकर्षणको डोरीले मात्र कस्नु हुदैंन । प्रेम त यस्तो धर्म बनोस् जसले हरेक हृदयमा शान्ति फैलाओस्, हरेक हृदयलाई यस्तो शितलता देओस् जसको आँचलमा जीवन व्यतित गर्ने साहस जागोस् । सबैले भ्यालेन्टाइन डे का रुपमा सप्ताहव्यापी अनेकौं डे मनाइरहनु पनि आवश्यक छैन, हरेक हप्तामा सातै दिन आफ्नो मायालु मान्छेप्रति बफादार हुँदै टाढा भएपनि नजिक भएपनि प्रेमप्रतिको आकर्षण र समर्पणलाई घट्न नदिउँ । अनेकौं उपहारका भारी दिनु भन्दा जीवनभरलाई नघट्ने मुटुभरीको माया दिन सकियो भने जीवन निकै सुन्दर बन्नेछ, संसार साच्चै प्रेमिल बन्नेछ । आकर्षण मात्र त सकिएला तर एक–अर्काप्रतिको समर्पण जुगौंजुग बँचाउन सकियो भने मात्र वास्तविक प्रेम गरेको ठहर्छ । सबैको जीवन प्रेममय रहोस्, शुभकामना । मदानीबिटबाट साभार .