2026 August 15/ 08:04: 31pm

मणिराज श्रेष्ठ
    ५ कार्तिक १९९४ काभ्रेपलाञ्चोक जिल्ला,बनेपामा उदाउनु भएर लामो समय शिक्षाको ज्योती फैलाउन तल्लिन भई बनेपा नगरपालिकाको प्रमुख भएर विकास निर्माणमा मात्र नभई  ज्येष्ठ नागरिक,बालबालिका,अपांगता लगायत बिभिन्न सामाजिक संस्थाहरू र अन्य स्वास्थ्य,शिक्षण लगायतका संस्थाहरूमा सल्लाह,सुझाब तथा सहयोग गर्नमा अनवरत लागि रहन्दा रहन्दै ३० चैत्र २०५६ मा हामी माझबाट अस्ताउनु भयो, आदरणीय बहुआयामिक ब्यक्तित्व रामभक्त कोख श्रेष्ठ ।
    उहाँको व्यक्तित्व, आचरण, व्यवहार आदिका बारेमा विभिन्न विध्दतवर्ग, शिक्षाविद्, समाजसेवी, साहित्यकार, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, विद्यार्थीहरु लगायतका धेरै व्यक्तित्वहरु मध्ये केहीका भनाइहरू यहां पस्कने प्रयास गरेको छु ।
‘करपिन्त स्यनिगु ज्या छुं मयासे थःपिन्त व मेपिन्त नं भिनिगु ज्या याय्गु स्व ।’
    ‘अर्कालाई बिगार्ने कुनै काम नगरी आफुलाई र अरुलाई पनि भलो हुने काम गर’ भन्नेहुन्छ ।
— स्व. रामभक्त कोख श्रेष्ठ
१. आफ्नै जन्ममूमिलाई कर्मभूमि बनाई राष्ट्रमा शिक्षा, समाजसेवा, प्रजातान्त्रिक राजनीति, लेखन र प्रकाशन कार्यमा निरन्तर लाग्नु भएका रामभक्त कोख श्रेष्ठ दृढ, निडर, कर्मठ, इमान्दार, सहयोगी, स्वाभिमानी, संवेदनशील, मृदृभाषी, संघर्षशील र बहुअयामिक  व्यक्तित्वका अथक राष्ट्रसेवी हुनुहुन्थ्यो ।– 
रामभक्त कोख श्रेष्ठ स्मृतिग्रन्थ २०६१
२. एक असल, बौद्धिक चिन्तनशील नेता हुनु हुन्थ्यो । रचनात्मक र सिर्जनात्मक गतिविधिमा सदैव लगनशील भइरहने उहाँको स्वभाव थियो । 
— रामचन्द्र पौडेल
३. शैक्षिक इतिहासका उल्लेखनीय शिक्षासेवी रामभक्त कोख श्रेष्ठसँग मेरो राम्रो सम्बन्ध थियो । उहाँ शिक्षाको विकास कसरी गर्न सकिन्छ र गुणस्तरीय शिक्षालाई सबैको पहुँचभित्र कसरी पार्न सकिन्छ भन्ने कुरामा चिन्तित हुनुहुन्थ्यो । – डा.सुरेशराज शर्मा
४. मिलनसारिता, सहृदयता तथा तथ्यपरक र बजनदार तर्क र प्रमाणले गर्दा भिन्नै विचारका व्यक्तिहरू पनि रामभक्त कोख श्रेष्ठको अदर सम्मान गर्दथे । उहाँले कहिल्यै कसैको विरोध गर्नु भएन र कहिल्यै कसैप्रति गुनासो पनि गर्नु भएन ।
– हरिभक्त भोछिभोया
५. रामभक्त कोख श्रेष्ठ मेधावी र मिहिनेती हुनुहुन्थ्यो । उहाँको प्रारम्भिक शिक्षा माताकै रेखदेखमा घरमै भएको थियो । उहांको औपचारिक (विद्यालय) शिक्षाको प्रारम्भ त्यसबेला राजदास बादे श्रेष्ठको घरमा भरखर खुलेको आजाद स्कुलबाट भएको  थियो । उहाँ १४ बर्षकै कलिलो उमेरमा प्रवेशिका परीक्षा उत्तिर्ण गर्नु भएको थियो । 
– बिमललाल सिकु श्रेष्ठ
६. कहिल्यै क्रोधित नहुने, सरल र शान्त स्वभावका, कहिल्यै कसैको चित्त नदुखाउने रामभक्त कोख श्रेष्ठ गहन विचारक थिए । उनी पछिसम्मका लागि हुने गरी योजना गर्थे र त्यस योजनामा कम खर्चले काम सिध्याउने विचार गर्थे । 
– ज्ञानकाजी मानन्धर
७. ब्यक्तित्वका बारेमा के भन्नु उपयुक्त हुन्छ भने उनी विद्वान् थिए, राजनितिज्ञ थिए, शिक्षासेवी थिए, श्रेष्ठ पुरूष थिए, परिश्रमी थिए, लगनशील थिए र समाजसेवी थिए । समाज र राष्ट्रनिर्माणका क्षेत्रमा यिनी नमरून्जेलसम्म लागिरहे ।
– आशाकाजी सेवक
८. धैर्यपूर्वक सबैको कुरा सुन्ने, सबैसँग मित्रवत् व्यवहार गर्न रूचाउने,नम्र बोलीवचनमा सबैसँग हाँसी आत्मीयता बढाउन अघि सर्ने चरित्र र स्वभाव नै रामभक्त कोख श्रेष्ठको सौन्दर्यहरू हुन् । त्यस्तै धैर्यशीलता र सहनशीलताको बर्णन गरिसाध्य छैन । – मोहन दुवाल
९. 
Ram Bhakta was a visionary, he loved to talk about ideas, and for me, ideas were what kept me motivated and willing to keep trying new approaches. – Barbara Butterworth

१०. He is a man of calm and quite. Gentlemanness is his major characteristic. He was best teacher, loved headmaster, professional supervisor, instructional leader, able administrator and well-known community contact person. He always appreciate his initiation endeavor to encourage the community people. He is a man of courage and competition. He is also a man of quality, dedication and popularity. - Dr. Uttam K. Karmacharya
११. रामभक्त दाइ केवल बनेपाको मात्र होइन नेपाल कै एक उज्वल व्यक्तित्व हुनुहुन्थ्यो ।उहांको चिन्तन र व्यबहारलाई जसले नजिकबाट बुझेको छ, उसलाई थाहा छ । यस्ता सन्त व्यक्तित्व जन्माउन मातृभूमिले पनि प्रतिक्षा गर्नु पर्दछ । 
– डा. हरि प्रशाद पोखरेल 
१२. आफै जलेर अरूका निम्ति चेतना छर्ने एउटा प्रकाशपुञ्ज अनि निष्ठागावान प्रजातान्त्रिक योध्दा हुनु हुन्थ्यो । 
– गोकुल बास्कोटा
१३. उहाँ देखावटी कराको पछि लाग्नु भएन, सदा सद्विचार र सद्कर्म गर्नु भयो । मुखले एउटा दर्शनको नाम जपेर व्यबहारमा अर्को कहिल्यै बन्नुभएन । मुखमा राम राम बगलीमा छुरा को संस्कारले उहांलाई कहिल्यै छोएन,छुन दिएन । त्यसैले होला, रामभक्तसर आफ्नो जीवनभर सङ्लो रहनुभयो, श्रद्धेय रहनुभयो ।
–  मधु आचार्य
१४. मेरो आदरणीय गणित शिक्षक, उहां गणित पढाउने,मलाई गणित बिषय असाध्यै मन पर्ने । म उहाँले पढाएको छिट्टै बुझिहाल्थें र अंक पनि राम्रो ल्याउंथें । – डा.भुषण श्रेष्ठ
१५. समयलाई राम्ररी ख्याल गर्ने श्री श्रेष्ठ राजनीतिक गुटबन्दीको तुच्छ दुराग्रह भन्दा माथि उठ्नुभएको थियो । उहाँ नेपाली कांग्रेससंग आबद्द भए पनि दलगत क्षुद्र राजनीित भन्दा पनि राजनीतिक संस्कृति भएको एक व्यक्तित्वका रूपमा देखिनुहुन्थ्यो । – खेम कोइराला बन्धु
१६. एक पटक बुबालाई किन उहां फेरी फेरी कुभलो गर्ने मान्छेहरूसंग नजिक हुनुभएको भनेर सोधेको थिएँ । एकपटक धोका दिने मान्छेले बारम्बार धोका दिइरहन्छ (चाणक्य) । जसको मनमै विषको बीज छ भने उसबाट अमृतको फलको आशा कसरी गर्न सकिन्छ ? तर, उहाँले मलाई हरेक कालो बादलमा चांदीको घेरा हुन्छ भनेर सम्झाउनुभयो । – मनिष कोख श्रेष्ठ
    यसमा धेरै आदरणीय व्यक्तित्वहरूको भनाइहरू समेट्न सकिन,अर्को पटक समेत्ने प्रयास हुने नै छ । हार्दिक भावपुर्ण श्रद्धा सुमन, आदरणीय गुरू स्व. रामभक्त कोख श्रेष्ठप्रति (साभारः रामभक्त कोख श्रेष्ठ स्मृति ग्रन्थ— २०६१, रामभक्त कोख श्रेष्ठ स्मृति सिरपा प्रवन्ध समिति, बनेपा, काभ्रे । (सम्पादकः हरि मञ्जुश्री)