2026 July 01/ 12:07: 01pm

लेखक : भुपेन्द्र थापा (माधव)
भ्रष्टाचार नेपालको लागि दिर्घकालीन रोग नै हो । सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरुको विरुद्धको आचरणलाई भ्रष्ट आचरण अर्थात भ्रष्टाचार भनिन्छ । जनजीवनमा यसलाई आर्थिक अपराधहरु सित जोडिएर हेर्ने गरिन्छ । समग्र आर्थिक विकासको बाधक नै भ्रष्टाचार हो । आर्थिक विकास सम्बन्धित क्षेत्रका विभिन्न पक्षहरुमा हुने गुणात्मक परिवर्तन हो । आर्थिक विकासलाई सामाजिक, राजनीतिक, आर्थिक, प्राविधिक, पर्यावरणीय आदि विविध पक्षहरुमा हुने विभिन्न पूर्वाधारहरुको निर्माण एवं यिनीहरुमा निरन्तर सुधारको प्रयासको सामग्रताको रुपमा परिभाषित गर्न सकिन्छ । आर्थिक विकास समाजमा निरन्तर चलिरहने एउटा प्रकृया हो । आर्थिक विकासको प्रक्रिया सञ्चालन गर्दा सुरुमै कानून, नियमावली, कार्ययोजना निर्माण गर्नु अति आवश्यक पर्दछ । यदि मुलुकमा भ्रष्टाचार व्याप्त छ भने एकातिर कानून नियमावली, कार्ययोजना निर्माण गर्दा नीतिगत भ्रष्टाचार भएको हुनसक्छ ।  जसले गर्दा यथार्थमा आधारित कानून, नियमावली कार्ययोजना बन्नुपर्नेमा कसैको निहित स्वार्थमा आधारित बनिदिन्छ भने अर्कोतिर काम गर्ने सम्बन्धित निकायले आर्थिक अपचलन एवं सामाजिक तथा नैतिक मूल्यमान्यता विरुद्ध हुने कार्य गरेका पनि हुन सक्छन् । फलस्वरुप त्यस देशमा आर्थिक विकासको कार्यहरु प्रभावकारी एवं पारदर्शी तवरले सम्पादन हुन सक्दैनन् र त्यस्ता मुलुकमा आर्थिक भ्रष्टाचार, नैतिक, सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार ब्यापक रुपमा गाँजिएर गएको हुन्छ । त्यसले सिंगो मुलुक आर्थिक विकासका हिसाबले पिछडिएको देशको सुचिमा सुचिकृत हुन पुग्दछन् । त्यसैकारण भ्रष्टाचार मुलुक र समाजको लागि आर्थिक विकासको शत्रु हो । यस्तै भनाई नेपाल एकिकरण अभियानका महानायक पृथ्वीनारायण शाहले घुस लिने र घुस दिने दुवै समाज र मुलुकका प्रमुख शत्रु हुन् भन्ने भनाई नेपाली समाजमा स्थापित छ । संघीय शासक देखि प्रदेश र स्थानीय जनप्रतिनिधिसम्म भ्रष्टाचारको भाइरल रोगले सबैलाई ग्रसित बनाएको छ । “भ्रष्टाचारीको मुख हेर्दिन” यो भनाई कुनै दार्शनिकको होइन् । कुनै कवि, कलाकार, समाज सेवीको होइन, महान नेता नेल्सनमण्डेला, महात्मा गान्धी, मार्टिन लुथर किङ, पण्डित जवाहरलाल नेहरु, अटल बिहारी बाजपेयी, लालबहादुर शास्त्री, डा. मनमोहन सिंह, नेपालका पूर्वप्रधानमन्त्री बीपी कोइराला, कृष्ण प्रसाद भट्टराई वा मनमोहन अधिकारी र कमरेड मदन भण्डारीको पनि होइन । यो भनाई हा,े पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको । के आजसम्म केपी ओलीले भ्रष्टाचारको मुखै देखेका छैनन् ? उनको प्रधानमन्त्रीत्व कालमा भ्रष्टाचारीको मुख कता लुकाईएको थियो ? नेपालका प्रमुख नेतृत्वहरुले के कुरा पुष्टि गर्न खोज्दै छन् ? के नेपालमा भ्रष्टाचार नै शुन्यतामा छ भन्न खोजेको हो ? यदि त्यो होभने २०४७ सालयता भएका भ्रष्टाचार र राजश्व छलि गरी देशलाई चौतर्फी रुपमा लुटेर मुलुकको आर्थिक अवस्था धारासायी पार्नेलाई के भन्ने ? लाउडा काण्ड, वाइवडी काण्ड, सुन तस्करी काण्ड यि त प्रतिनिधिमुलक काण्ड मात्रै हुन् । वितेका ३३ वर्षमा लगभग हजारौं भ्रष्टाचार र अनियमितताका काण्डै–काण्ड छन् । त्यसलाई के भ्रष्टाचार नभन्ने ? नेपालमा राजनीतिक नेतृत्वहरुको व्यवहार र कार्यशैली मान्छेलाई झुक्याउन र प्रभावमा पार्न यो गर्छु, त्यो गर्छु भनेर वा यो गरें, त्यो गरे ंभनेर मनलाग्दी फलाक्ने मात्र भयो । बोलीमा गहकिलो भन्दा पनि कपास झै हलुका बोली बोल्ने कार्यक्षमता भएको देखिन्छ । अर्को विषय नेपाली समाजभित्र यस्तो मनोविज्ञान जर्वजस्त विकसित भएर गएको छ । हाम्रो समाजभित्र कुनै पनि व्यक्तिको मान–मर्यादा, सम्मान र सामाजिक सम्बन्ध उसको शक्ति, सम्पत्ति र सम्पन्नताको आधारमा मापन र निर्धारण गर्ने गरिन्छ । यी सबै खाले पहुँच, सम्पन्नता र शक्तिको पछाडिको स्रोत के हो ? कहाँबाट यसको सञ्चय भएको छ ? भनेर कसैले पनि चासो र निगरानी गरेको पाईदैन । त्यस्ता व्यक्तिहरुको उच्च जीवनशैली र रहन–सहनमा कसरी यति थोरै समयमा आमूल परिवर्तन भयो ? यसको खोजी गर्नुको सट्टा उल्टै चर्चा–परिचर्चा गर्ने गरिन्छ । उसको जीवन पद्दतिको प्रशंसा गर्ने जस्तै उसले पहिरिएको वस्त्र, महँगा गाडी, जोडेका जग्गा–जमिन, महल र असिमित लगानी उसको राजनीतिक नेतृत्वहरुसँगको अस्वभाविक सम्बन्ध एवं ठूला–ठूला व्यवसायिक उद्योगपति सँगको उठबस र सर–संगतको चर्चा–परिचर्चा र प्रशंसा गर्ने गरिन्छ । त्यस्तै उसका जीवनशैलीको रवाफलाई आर्दश मान्ने, देखासिकी गर्ने उसप्रति आदर र सम्मान भाव प्रकट गर्ने उसलाई उदयमान आदर्श र मालिकका रुपमा सम्मान गरी समाजमा उसको कर्मलाई स्थापित गर्न लागि पर्ने मान्यता उपर विकसित संस्कार र संस्कृति मौलाएर जान थालेको छ । 
नेपाली समाजभित्र एउटा यस्तो सामाजिक संस्कारको रुपमा जरो गाडेर बसेको छ, अनावश्यक अरुको विषयमा चासो गर्ने व्यवहार बढि नै देखिन्छ । हाम्रो समाजन चाहिँदो रवाफमा अल्झने, आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार नहुने, अरुको कुरा काट्दै चिया पसलदेखि गाउँको चौताराहरुमा समय कटाउने सोझा, इमान्दार र सामान्य पहुँच भएका एवं आर्थिक, राजनीतिक र सामाजिक आधार कमजोर भएका मानिसहरुलाई हुत्तिहाराको उपाधी दिएर बेकम्मा, काम नलाग्ने यतिसम्मको “नामर्द” समेत भन्न पछि पर्दैनन् । फलस्वरुप आफ्नो स्वाभिमान, आत्मसम्मान र प्रतिष्ठालाई जीवन्त राख्नका निम्ति कुनै पनि हालतमा, जसरी भएपनि लुटेर, ठगेर र भ्रष्टाचार गरेरै रातारात अप्रत्याशित अकुत सम्पत्ति आर्जन गर्नुपर्ने, समाजभित्र कुनै पनि व्यक्तिको रवाफ रहन–सहन र हालि–मुहाली नभएकाको मान–मर्यादा नै जोखिममा पर्ने भएको छ । यस्तो समाजभित्रको मनोवृत्तिले विस्तारै–विस्तारै मानिसहरुमा गनिन र सुनिनकै लागि भएपनि जे जस्तो समाजविरोध् िकार्य गर्न तयार हुनुपर्ने सामाजिक दवाव नेपाली समाजमा जर्वजस्त स्थापित भएर गएको छ । यस्ता सामाजिक मनोविज्ञानका कारण नेपाली समाज उत्पादनमुखि भन्दा पनि चरम उपभोक्तावादी संस्कारतर्फ उन्मूख हुँदै गएको छ । देशभित्र दुःख गरेर खाने, किसान, मजदुर र श्रमजीवि वर्गहरुप्रति यो समाज र राष्ट्र अत्यन्तै उदाशिन छ । आम श्रमजीविहरुको श्रम र पसिनाप्रति आदरभाव र प्रोत्साहित गर्ने व्यवस्था कहिल्यै सृजना हुन सकेन । 
त्यस्तो संस्कार र मनोवृत्तिबाट उत्पादित हाम्रो राजनीतिक नेतृत्व कस्तो निर्माण होला ? भ्रष्टाचार, अनियमितता र त्यसबाट सृर्जित राज्यसत्तामा भएको बेथिती कुनै एउटा पक्षमात्र जिम्मेवार अवश्य छैन । त्यसका लागि सिँगो समाज, सामाजिक चेतना, समग्र राजनीति, प्रशासनिक संयन्त्र, कर्मचारी, सामाजिक अभियान्ता, बौद्धिक व्यक्तित्व, आमसचेत नागरिक समुदाय, शिक्षित यूवावर्ग आ–आफ्नो ठाउँमा तह अनुसार दोषी छन् । तर यसको मुख्य दोषी भने राजनीति र राजनीतिक शिर्ष नेतृत्व नै हुनभने यसको सुधार गर्ने जिम्मेवारी पनि राजनीतिक तहबाटै हुनुपर्दछ । तर त्यो सम्भावना भने अहिलेको अवस्थामा त्यति सम्भव देखिंदैन । मुलतः राजनीतिले देश, समाज र जनतालाई के दिन सकिन्छ भन्ने भन्दापनि राजनीतिमार्फत देश, समाज र जनताबाट के प्राप्त गर्न सकिन्छ भन्ने नकारात्मक कुदृष्टिले नेपाली राजनीति र राजनीतिक नेतृत्वग्रसित भएको छ । विगत र वर्तमानलाई हेर्ने हो भने राजनीतिक आवरणमा प्राकृतिक श्रोत साधनमाथि खुलेआम दोहन गर्ने कार्य हुँदै आएको छ । अझै विद्युत, सडक विभिन्न सरकारी भवनहरुको निर्माण ढिलासुस्ती र स्तरहिनता त्यसै भएको छैन । कसको स्वार्थका कारण बिजुलीबाट सञ्चालित दैनिक हजारौं क्विन्टल राजधानी भिœयाउने रोपवे बन्दभयो ? विस्तार गर्दै लानुपर्ने ट्रलिबस बन्द किन गरियो । नेपाली जडीबुटी विना प्रशोधन किन सस्तो मुल्यमा निकासा गरिन्छ ? स्वास्थ्य सामाग्री तथा विभिन्न उपकरण लगायत विभिन्न मन्त्रालय सम्बद्ध सार्वजनिक खरिदमा बषौंदेखि कसरी सिमित बिचौलियाकै हालि मुहालीमा छ ? कसरी स्तरहिन औषधी एवं उपकरणहरु विक्री गरी जनस्वास्थ्यमा खेलबाड गरिदैछ ? स्थापना र सञ्चालनमा ल्याउनै नसकिने राज्यकोषबाट खरिद गरिएको करौडौं पर्ने उपकरणहरु बिना प्रयोग कमिसनको लालचमा किन कवाडीमा बेचिन्छ ?त्यस्ता उपकरणहरु कामै नलाग्ने गरी खराब बनाउने नियकाहरु को हुन? २०३५ सालमा स्थापना भएको नेपाल ओरिण्ड म्याग्नेसाइट प्रा.लि. ४ अर्ब ५८ करोड घाटा लगाएर कसले बन्द ग¥यो ?बुटवल धागो कारखाना १ अर्ब ६८ करोड घाटामा कसले बन्द गरायो ? गोरखकाली रबर उद्योग १४ अर्ब ४७ करोड घाटामा कसले बन्द गरायो ? जनकपुर चेरोट कारखाना २ अर्ब ९० करोड घाटामा कसले कमिसनको लोभमा बन्द गरायो ? बिराटनगर जुटमिल उद्योग के कारण बन्द भयो ? नेपाल औषधि लिमिटेड के कारण बन्द गर्नुप¥यो ? हिमाल सिमेन्ट कसको निर्देशनमा बन्द गरियो ? भृकुटी कागज उद्योग बन्द गर्नुपर्ने कारण के थियो ? बाँसबारी छालाजुत्ता कारखाना बन्द हुनुको कारण के हो ? लगायत विभिन्न सरकारी तथा गैर–सरकारी उद्योगहरु बन्द हुनुको पछाडी कसको स्वार्थ गाँसिएको छ ? यस्तो अनगिन्ती प्रश्नमा राज्य सत्ताको मुहानमा बस्नेहरुबाट उचित जवाफ आउँला ? शक्तिको मुहानमा बस्नेहरु कुनै रुपान्तरण अर्थात संरचनात्मक परिवर्तन र जवाफदेहीता प्रति उदाशिन हुन्छन् । समाजवाद भनेको राज्यको मुख्य नेतृत्वमा उद्योगको संचालन हो । भएका उद्योग कमिशनको लोभमा बेच्नु दलाल पुँजीवाद हो ।
त्यो मुलुकमा सुशासन, न्याय, र कानूनको खिल्ली उढाईन्छ । अबको नयाँ संसद् र नयाँ सरकारबाट हिजो देखिएको बेथितीमाथि प्रहार गर्ने सहास पैदा होला ? फेरिपनि नयाँ संसद् भित्रपनि व्यापारीक घराना, अपराधिक पृष्ठभूमि, भ्रष्टाचारी र ठेकेदारहरुको एउटा सम्मिश्रण भएको संसद बनेको छ । यस्तो मनोवृत्ति र पृष्ठभूमि भएकाहरुको समुहबाट गम्भिरतापूर्वक आफ्नो कर्तव्य पालना होला ? के अवको संसदले सहि दिशा पक्रेर अगाडी बढ्ने हिम्मत गर्ला ? अबको नयाँ सांसदले नीतिगत बहस र नीति निर्माण गर्ने कार्यमा आफूलाई डो¥याउन सक्ला? तर नेपालको नीतिगत पाटो असाध्यै कमजोर धरातलमा उभिएको छ । हामीले निर्माण गर्न खोजेको संसद कस्तो हो ? यसको लागि संसदलाई कस्तो सांसद चाहिन्छ ? यस्ता विषयमा कुनैपनि राजनीतिक दलहरुमा कहिल्यै बहस हुने गर्दैन । नयाँ संसद भित्र, अपराधि, घुसखोरी, भ्रष्टाचारी समग्र बेथितीको थुप्रो संसद छिर्न सफल भएको छ । नेपाली राजनीतिमा नीतिगत र संरचनागत परिवर्तन नभएकै कारण संसद भित्र र बाहिर परिवर्तनको अनुभूति हुनै सकेको छैन् ।
नयाँ सरकारको पनि अनुहार र व्यवहार त्यति राम्रो देखिंदैन विभिन्न अपराधमा आरोपितहरुको एउटा समूहद्वारा सत्ता सञ्चालन भएको छ । यो जनता र मुलुकको लागि त्यति सुखद मान्न सकिंदैन । भ्रष्टाचार गरेर खानु र आमाको रगत खानु एकै हो भन्ने नार्गाजुनको दुतले अर्बौं घोटालाको आरोपी ठेकेदार विक्रम पाण्डेलाई ठेकेदार मन्त्री बनाएका छन् । मुलुकमा भ्रष्टाचारीको मुटुमा घण्टी बजाउने रविले मेनपावर व्यवसायी डोरप्रसाद अर्याललाई श्रममन्त्रि भएका छन् त्यसले नेपलको संसद र सरकारको रुप, स्वरुप र असली चरित्र उदाङ्गिएको छ । यस्तो संसद र सरकारले जनताको समृद्धि र मुलुक विकासको जिम्मेवारी कसरी पुरा गर्न सक्ला? विगतका सरकार झै भ्रष्टाचारीको मुख नहेरी आफ्नो आँखामा पट्टी बाँध्ने सरकार बन्ने निश्चित भयो । सरकार स्वरुप र विगतको पृष्ठभूमिलाई नियालेर हेर्दा निराशा चौतर्फी छाएको छ । सामाजिक चेतनाका लागि “सामाजिक संघर्ष–चेतनशील अभियान अलिहेको आवश्यकता  हो ।”