2026 July 01/ 05:01: 42am

भ्रष्टाचारीहरुलाई नेता मानिरहनु पर्छ र ? भ्रष्टहरुलाई संरक्षण गर्नुपर्छ र ? भ्रष्टहरु पनि सम्मान योग्य हुन्छन र ? भ्रष्टहरुलाई पनि पार्टी सरकार वा कुनैपनि संघसंस्थाको पदाधिकारी बनाइराख्नु हुन्छ र ? भ्रष्टहरु पनि फुलमाला, अक्षताले पूज ागर्न लायकको हुन्छन् र ? भ्रष्टचारीहरुलाई कसुर अनुसारको कानुनी कारवाही गरी दण्ड सजायँ गर्ने गराउने कि मुक्ति दिलाउन जुुलुस आन्दोलन गर्ने ?
    संसारमा सायद नेपाल नै एउटा त्यस्तो देश होला जहाँ दलहरुले वा नेताहरुले भ्रष्टाचारको निर्मूल गर्ने उद्देश्य लेख्छन् वा भाषण गर्छन् ? भ्रष्टाचारमुक्त समाजको स्थापना गर्न छलफल बहस गर्छन्, निर्णय गर्छन् र विधि विधान पनि बनाउँछन् । भ्रष्टाचारीहरुलाई खोज्ने, चिन्ने र कार्वाही प्रकृया थाल्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि बनाउँछन् तर जब भ्रष्टाचारीहरुलाई पक्रने वा कानूनी दण्डा चलाउँछन् वा कार्वाही भोग्छन् तब कुनै न कुनै वाहाना वा कुतर्क झिकी कार्वाही गर्ने सम्बन्धित निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस् वा अदालत सम्मलाई पनि प्रभावित पार्ने कोसिस गर्न थाल्छन् । सडक र संसद नै बन्द गर्न उद्दत हुन्छन् । अख्तियार र अदालतको अधिकार र क्षमता प्रति प्रश्न उठाउँछन् । कानूनी शासनलाई चुनौती दिन्छन् । नेपालमा यो गजबकै बिडम्बना देखिरहन्छ । 
    भ्रष्टाचाररुपी कोरोना भाइरसले मानिसलाई मात्र होइन सिङ्गो समाज र राष्ट्रलाई नै कंगाल बनाउँछ । कोरोना भाइरसले मानिस मार्छ भने भ्रष्ट भाइरसले देश डुबाउँछ र आफू गरिब देशको धनी र शक्तिशाली मान्छे भइरहन्छ । जनताहरु उत्पीडनमा पर्छन । सरकार कमजोर र अस्थिर हुन्छ । राष्ट्र मगन्ते र ठूला र महाशक्ति राष्ट्रहरुको खेल मैदान हुनसक्छ किनकी भ्रष्टहरु नै ठूला र शक्तिशाली पदमा पुगेका हुन्छन् जो विकाउ हुन्छन् । भ्रष्टाचारीहरुलाई हात लिने र साथ दिने नेता वा समूह भयो भने उनीहरु अझ खतरनाक हुन्छ ।
    अन्याय, अत्याचार, शोषण, उत्पीडन, निरंकुशता र भ्रष्टाचारबाट मुक्त हुन नेपाली जनताले लामो कालदेखि संघर्ष र आन्दोलन नगरेको होइन तर ताउबाट उफ्रेको भुँग्रोमा परे झै भएको छ । राणा शासनकालको निरंकुश जहानीयाँ शासन लडि २००७ सालमा स्वतन्त्रता प्राप्त गरेको १० वर्ष नबित्दै श्री महाराजाधिराको पञ्चायती निरंकुशता र शोषणको जालोमा पारिए । २०४६ सालको संयुक्त जनआन्दोलन पश्चात प्राप्त गरेको बहुदलीय शासन व्यवस्थामा पनि देश र जनता शोषक, सामन्त र भ्रष्टाचारीहरुबाट मुक्ति पाउन नसकेकै हो । आम नेपाली जनताहरुले हाँस्ने, रमाउने र सुखको दिन देख्न पाएको छैन । किनकी जनताहरु आज पनि गुनासो गर्छन् ‘भ्रष्टाचार कहाँ छैन ?’ गाउँ नगरदेखि जिल्लाका विभिन्न निकायहरु मालपोत कार्यालय होस् वा नापी, प्रहरी कार्यालय होस् वा अदालत प्रायः सबै निकायमा ढिलासुस्ती देखि आर्थिक अपचलन र घुस प्रकरण भइ अख्तियारले समातेको खबर सधैजसो प्रकाशित भएकोबाट सजिलै बुझ्न सकिन्छ । भ्रष्टाचारको निर्मूल त खोइ कहिले कसले गर्ला र ? घटाउन सके बहादुरी गरे सरह हुन्थ्यो ।
    सामान्यतया भ्रष्टाचार भन्नाले घुस लिने दिने वा गैरकानूनी रुपले आर्थिक फाईदा लिएको भन्ने बुझिन्छ तर आजपनि भ्रष्टाचार आर्थिक क्षेत्रमा मात्र होइन राजनैतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, शैक्षिक, जमिन, जल, जङ्गल, जडिबुटी इत्यादि अनेक क्षेत्रमा विद्यमान नै छ । उदाहरणको लागि राजनैतिक भ्रष्टाचारको एउटा दृष्टान्त पेश गरौं । दलहरुको घोषणापत्र एवं उद्देश्य एउटा हुन्छ, गर्ने अर्कै हुन्छ । बोल्ने एउटा गर्ने अर्कै हुन्छ । एउटा वडा सदस्यमा मात्र निर्वाचनमा उम्मेदवार हुने मान्छेले लाखौं करोडौं खर्च गर्नुपर्ने अवस्था किन आयो ? त्यस्तो अवस्थामा एउटा असल र इमानदार कार्यकर्ताले कसरी खर्च गर्न सक्छ र ? त्यसैकारण आज प्रायः ठूला दलका कार्यकर्ताहरुमा ठेकेदारहरु, कमिशनखोरहरु, डनहरु, एवं भ्रष्टहरुले स्थान नपाउन भन्न सक्छ र ? कतै भ्रष्टाचार मौलाउने अवस्था र व्यवस्थातिर त हामी जाँदै छैनौं । अथवा धनीको पकेट प्रतिनिधि बन्नुपर्ने बाध्यता हुन्छ ।
    २०४६ सालपछि नै हो नेपाली काँग्रेस बहुमत सरकारको बेलामा नेपालको विकासमा टेवा पुगोस् भनेर रुस, चीनले बनाइदिएका थुप्रै उद्योग कलकारखानाहरु हजारौं मजदुरहरुको रोजीरोटी खोस्दै कौडीको मूल्यमा बेच्नुको पछाडि भ्रष्टाचार थिएन भन्न सक्छ ? उक्त कलकारखाना बेचबिखन गर्दाको सम्पूर्ण कुराहरुको खोजी आज अख्तियारले छानविन गर्ने हो भने भ्रष्टाचारको कथा पक्कै निस्किन्छ भन्ने लाग्छ । त्यस्तो त नेपाली काँग्रेसका ठूला ठूला नेताहरु खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता, गोविन्दराज जोशी जस्ता दिग्गज नेताहरु भ्रष्टाचार गरेकै कारण जेल सजायँ भोगिसकेका हुन् भने लाउडा काण्ड, धमिजा काण्ड, सुडान घोटाला काण्डमा सुजाता कोइराला र कृष्णप्रसाद सिटौलाहरुको नाम चर्चामा थियो तर कसरी किन क्लिनचिट पाए ? त्यो कुरा पन िअख्तियारले बताउने वा सरकारले खोज्नु पर्दैन ? त्यस्तैगरी शेरबहादुर देउवा र विमलेन्द्र निधिजस्ता काँग्रेस पार्टीका हस्तीहरु, वाइडबडी काण्ड र ललिता निवाससँग कानूनी रुपमा जोडिने सबै आज उदाङ्गिनु आवश्यक छ । ठूला नेताहरु मात्र होइन गाउँघरमै पनि कागजपत्र मिलाएर सिङ्गो जङ्गल अपाm्नो नाममा लालपुर्जा बनाउने खोला नदी र बगरहरु आफ्नो बनाउने, सार्वजनिक चौरहरु आफ्नो बनाउने, मठमन्दिरका जग्गाहरु आफ्नो बनाउने, जल सम्पदामाथि कब्जा जमाउनेहरु आदि भ्रष्टाचारीमा नमुछिएलान् र ? तर सजिलो छैन ।
    भनिन्छ भगवानले गल्ती गर्दैन तर गल्ती गर्ने अधिकार भगवानलाई पनि छैन । गल्ती मानिसहरुले गर्छन् । कसैले भुलवश गर्छन्, कसैले नियतबव जसको नियत नै भ्रष्ट काम हो भने त्यो कार्वाही योग्य हुन्छ । भ्रष्टाचारीलाई कार्वाही गर्नुहुदैन जसले भन्छ उ कि त अज्ञानी हो कि भ्रष्टाचारीको मतियार । आज नेपाली काँग्रेसले यहि नियति बारम्बार दोहो¥याइरहेको छ । उदाहरणमा भन्न सकिन्छ भ्रष्टाचारको सजायँ काटेर जेलबाट छुटेका खुमबहादुर खड्कालाई १०८ किलोको माला पहि¥याई जुलुसै गई स्वागत किन गर्नुप¥यो ? बेइज्जत को महसुस हुँदैन ? जिउँदै ईट्टा भट्टामा पोल्ने मोहम्मत अफताब आलमलाई पक्रँदा विरोधमा जुलुश निकाल्ने, हालै विजय गच्छदारलाई अख्तियारले भ्रष्टाचारीको आरोपमा मुद्दा लाउँदा किन हँगामा खडा गर्छ ? त्यस्तै गरी अख्तियार र अदालत सम्मलाई समेत कानुनी शासनमा बाधा पु¥याउने काम र कुतर्कले दोहो¥याउने अवस्था रहेसम्म नेपाली समाजमा परिवर्तन देखा पर्न सजिलो होला र ?