2025 April 24/ 05:58: 25am

धुलिखेल/अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धुलिखेलमा ‘द गोल्डेन हिलिङ्गसः एमपावरिङ वुमन वेलनेस’ अथार्त महिलाहरुको मानसिक स्वास्थ्यमा केन्द्रित रहेर विशेष कार्यक्रम आयोजना गरिएको छ । 
    होटल हिमालयन होराइजन, धुलिखेलमा आयोजित कार्यक्रम नेपाली युवा उद्यमी मञ्च काभ्रे, रोटरी क्लब अफ धुलिखेल, काभ्रे महिला उद्यमी संघ, रोट्रयाक्ट क्लब अफ काठमाडौँ युनिभर्सिटी मेडिकल स्कूल र नेवा मिसा दबूले संयुक्त रूपमा आयोजना गरेका हुन् । महिलाहरुको स्वर्णिम उपचार तथा महिला कल्याण सशक्तिकरण भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागिहरुले मानसिक स्वास्थ्यमा असर पर्ने विषय, त्यसका कारण, असरका लक्षणहरु, रोकथाम तथा उपचारका बारेमा जानकारी गराईएको थियो । सहभागीहरुले पछिल्ला गतिविधिहरुमा मानसिक स्वास्थ्य प्रमुख कारण बनिरहेकाले त्यसको समयमै उपचार गरिनु पर्नेमा जोड दिए । 
    कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमका बारेमा काभ्रे महिला उद्यमी संघकी अध्यक्ष ज्योत्सना सैंजुले गरेकी थिईन् । मानसिक स्वास्थ्य सम्बन्धी धुलिखेल अस्पतालमा कार्यरत क्लिनिकल मनोवैज्ञानिक रेविका माकजु श्रेष्ठ लगायतले जानकारी गराएका थिए । सोहि अवसरमा श्वासप्रश्वास व्यायाम र मानसिक स्वास्थ्य सहितका विषयमा जानकारी गराईएको थियो । करण धुँजुले मानसिक स्वास्थ्यमा आवाश्यक पर्ने आराम तथा मानसिक स्वास्थ्यमा केन्द्रित निर्देशित विषयमा जानकारी गराएका थिए । ‘गोल्डेन हिलिङ्ग’का विषयमा धुलिखेल अस्पतालमा कार्यरत डा.श्रीया श्रेष्ठले धारणा राखेकी थिईन् । उनले महिलाहरुमा हुन सक्ने मानसिक स्वास्थ्यका समस्या तथा समाधानका उपायका बारेमा जानकारी गराएकी थिईन् । स्नेहा श्रेष्ठले मानसिक स्वास्थ्यका विषयबस्तु माथी जानकारी गराएकी थिईन् । 
    आशिष हुमागाईंले सहभागीहरुलाई धन्यवाद दिदै मानसिक स्वास्थ्यका कारण उत्पन्न समस्या समाधान, समयमै उपचार र मानसिक स्वास्थ्यमा समस्या भएकाहरुलाई सहज जीवन यापनका लागि वातावरण निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।