बनेपा/भुजेल समुदायले बोल्ने भाषाबाट खोलिएको सहकारी सेवानुङ्ग(नमस्कार) बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभा तथा कार्यालय उद्घाटन गरिएको छ ।
जिल्लामा रहेका विशेषगरी भुजेलहरुको भाषा, संस्कृति सम्वद्र्धन र संरक्षण गर्न उदेश्य सहित भुजेल समुदायको हक हित र आयआर्जन बृद्धीका लागि सहकारी खोलिएको अध्यक्ष गुणराज भुजेलले बताए । कार्यालय तथा साधारण सभाको शुभारम्भ संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए । सोहि सभालाई शुभकामना दिदै मन्त्री बास्कोटाले सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माणमा सहकारीले मुख्य भूमिका खेल्ने भएकाले अझ समुदाय विशेषको हितका लागि स्थापना भएको सेवानुङ्ग सहकारीले विशेष योगदान पु¥याउनु पर्ने बताए । सहकारी मार्फत आर्थिक सम्वृद्धीको यात्रालाई सहज बनाउने भएकाले सदस्यहरुको आर्थिक हैसियत बढाउन सहकारीले आय आर्जनको क्षेत्रमा लगानी गर्नु पर्ने मन्त्री बास्कोटाले बताए ।
कार्यक्रममा अध्यक्ष गुणराम भुजेलले शेयर सदस्यहरुका हितका लागि सहकारीले ब्यवसायीक खेति तथा सिपमा ध्यान दिने बताए । सचिव डिलबहादुर भुजेलले पहिलो वर्षको अनुभवबाट सिक्दै दोश्रो वर्षको कार्ययोजना निर्माण गर्ने बताए । ४५ लाख ५१ हजार शेयर पुँजी, १ करोड ८४ लाख ३६ हजार ८ सय ७ बचत संकलन गरी २ करोड ७८ लाख २० हजार रुपैया ऋण लगानी गरेको सहकारीमा ८ सय ९० जना शेयर सदस्य रहेका छन् । शेयर बृद्धी गरी १ करोड पु¥याउने, कार्यक्षेत्रलाई अझै विस्तार गर्ने, स्थापना दिवस फागुन २ गते विशेष कार्यक्रमको आयोजना गर्ने, ऋण लगानी तथा असुलीलाई प्रभावकारी बनाउने, संस्था विकास कोषलाई मजबुत बनाउने, स्वरोजगारी बन्न चाहनेहरुका लागि विशेष कर्जा लगानी गर्ने, आर्थिक सवलीकरणका लागि अन्र्तक्रिया गर्ने, सदस्यहरुको स्वास्थ्य सुधारका लागि स्वास्थ्य तथा खाद्य सम्प्रुभताको बारेमा परामर्श सेवा दिने, नियमित तथा बार्षिक बचत गर्ने शेयर सदस्यहरुको सहजताका लागि रिजार्च सेवा, शैक्षिक शुल्क, पानी, विजुली तथा अन्य जरुरी विलहरु भूतानीका लागि इ पे सेवा उपलब्ध गराउने, सामाजिक अनुशासनको लागि रचनात्मक गोष्ठीहरु संचालन गर्ने लगायत छन् ।
कार्यक्रमममा कोषाध्यक्ष राज्यश्वरी विष्टले गत आर्थिक वर्षको बार्षिक आम्दानी खर्च तथा चालु वर्षको अनुमानित बजेट प्रस्तुत गरेकी थिईन् । ब्यवस्थापक प्रेमबहादुर भुजेलले संस्थाले एक वर्षमै झण्डै ९ लाख रुपैया मुनाफा गरेको बताए । लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य चञ्चला भुजेलले प्रस्तुत गरेकी थिईन् । सहकारीले सेवानुङ्ग कृषि फर्म बनेपाको बुडोलमा संचालन गर्दै आएको छ ।









