धुलिखेल/राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख शुशिल ज्ञवालीले पुनर्निमाणको लागत इस्टमेट पुनरावलोकन गर्न लागिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको राष्ट्रिय पुननिर्माण सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले उक्त कुरा बताएका हुन् । ‘संसदले पुननिर्माणका लागि तोकिएको समय २०७७ पुष १० गते अगावै हामी सबै क्षेत्रको पुननिर्माण सक्नेछौं’–कार्यकारी प्रमुख ज्ञवालीले भने–‘भुकम्प जाने वितिक्कै गरिएको लागत इस्टमेटको पुनरावलोकन गर्ने तयारीमा जुटेका छौं ।’ ९ सय ३८ अरब लागत इस्टमेट गरिएकोमा ४ सय १० अरब अन्तराष्ट्रिय स्तरको सहयोग प्राप्त हुने घोषणा गरिएको भए पनि ३ सय ५३ अरब सहयोग घोषणा भयो । त्यस मध्ये २ सय ६२ अरब सम्झौता भयो । सम्झौता भएको मध्ये भारत सरकारको ७५ अरब रकम अन्यत्र जोडियो । त्यसको बारेमा अहिले प्राधिकरणले पुनरावलोकलन गर्ने तयारी गरेको ज्ञवालीले बताए । पुनर्निमाणसँगै आर्थिक र सामाजिक पुनर्निमाणको अभियान शुरु गरिरहेको बताउँदै ज्ञवालीले अझण्डै ६ अरब पैसा पुर्निमाणका लागि अपुग भएको जानकारी दिए ।
पत्रकारहरुले राखेको जिज्ञासमा ज्ञवालीले पञ्चवर्षिय पुनर्निमाणको मध्य तिर आईपुगेकाले विगतको अनुभव र बाँकी अवधीको योजना सहित समिक्षा गर्ने तयारीमा प्राधिकरण रहेको बताए । पुनर्निमार्णका लागि आवश्यक भएको रकमको ब्यवस्थापन गरिरहेकाले भावी पुस्तालाई समेत नलेज हस्तान्तरण गर्न पुनर्निमाणको अभिलेख राख्ने तयारी गरिएको छ । ७ सय ५३ वटा सम्पदा पुननिर्माणको सूचीमा भएका मध्ये १ सय ८५ वटा सम्पदा निर्माण सकिएको र ३ सय ८५ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । ९७ प्रतिशत लाभग्राहिहरुले सम्झौता गरिसकेको, ६७ प्रतिशतले दोश्रो किस्ता प्राप्त गरेको र ३७ प्रतिशतले तेश्रो किस्ता लिईसकेको ज्ञवालीले बताए । ‘दुई तिहाई नीजि आवास पुनर्निमाण भईसकेको छ’–ज्ञवालीले भने–‘आवाससँगै विद्यालय र स्वास्थ्य संस्थाहरुको साथमा सम्पदाको निर्माण भईरहेको छ ।’
स्थानीय सरकारलाई पुननिर्माणको जिम्मेवारी र सहकार्यका लागि जिम्मेवार बनाउन जिल्ला समन्वय समिति र स्थानीय सरकारको प्रमुखको अध्यक्षतामा तल्लो तहसम्म समिति गठन गर्न लागिएको उनले बताए । भुकम्प पीडितलाई ३ लाखको सहुलियत ब्याजको ऋण उपलब्ध गराउन सहज बनाउने बताउँदै स्थानीय पुनर्निमाण कमिटी गठन गरी इन्जिनियरहरुलाई गाउँमै फर्काउने अभियान शुरु गरिएको ज्ञवालीले बताए । प्राधिकरणको कार्य र समयावधी सकियएपछि पनि स्थानीय स्तरमै प्राधिकरणको काम गर्ने संयन्त्र गठन गर्ने गरी तयारी भईरहेको उनले बताए ।
कार्यक्रममा प्राधिकरणका संचालक सदस्य चन्द्रबहादुर श्रेष्ठ, सह सचिव राजुमान मानन्धर, पिताम्बर घिमीरे, उप सचिव मनोहर घिमीरे, कमल घिमीरे, दिब्यमनी पोखरेल, आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्य, महासचिव भिम गौतम लगायतले पुनर्निमाणसँगै आर्थिक र सामाजिक विषयमा ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।









