2026 October 09/ 04:33: 22am

मोतीराम तिमल्सिना
धुलिखेल 

              बाल निमोनिया र झाडापखालाको दर घटेको छ । १३ वटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता गरिएको छ । स्वास्थ्य कार्यक्रमको भौतिक प्रगति ८९.७९ प्रतिशत पुग्दा संस्थागत प्रसुति ७६.९७ प्रतिशतमा सीमित भएको छ । 
             काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य सेवाको पहुँच र कार्यक्रम कार्यान्वयनमा प्रगति देखिए पनि मातृ स्वास्थ्यलगायत केही सूचकमा अझै सुधार गर्नु पर्ने चुनौती देखिएको छ । 
    जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था, सेवा प्रवाह, कार्यक्रमको प्रगति तथा प्रमुख स्वास्थ्य सूचकहरूको समीक्षा गरेको हो । २०८३ असोज १५ र १६ गते धुलिखेलमा आयोजना गरिएको समीक्षामा १३ वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लामा संचालित मेथिन्कोट अस्पताल, जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल लगायतले समग्र स्वास्थ्य क्षेत्रमा भएका गतिविधिहरु, सुचक र भएका अभ्यासका बारेमा जानकारी गराएको जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिईन् ।

बाल स्वास्थ्यमा सुधार
    पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको दर पछिल्ला तीन आर्थिक वर्षमा निरन्तर घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रतिहजार ४७ रहेको निमोनियाको दर २०८१/०८२ मा ३६ र २०८२/०८३ मा २६ मा झरेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाको दर २०८०/०८१ मा प्रतिहजार ३५७.५ रहेकोमा २०८१/०८२ मा ३११.८४ र २०८२/०८३ मा २२९.१९ मा झरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सम्भावित गम्भीर ब्याक्टेरियल संक्रमणका ८, झाडापखालाका २ हजार ६२ र निमोनियाका ६९२ केस रिपोर्ट भएका छन् । उपचारतर्फ २०८२/०८३ मा शिशुलाई दिईने पहिलो मात्रा, झाडापखालाका बालबालिकालाई दिने तथा निमोनियाका बालबालिकालाई एन्टिबायोटिक दिने सूचकमा सबै १०० प्रतिशत रहेको समीक्षामा बताईएको छ । 

पूर्ण खोपमा उपलब्धि 
    जिल्लाका सबै १३ स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको समीक्षा प्रतिवेदनले जनाएको छ । घरधुरी सर्वेक्षणमा खोप नपाएका बालबालिका र पूर्ण खोप नलिएका बालबालिकाको संख्या शून्य देखाइएको छ । एचपिभी खोप अभियानमा जिल्लामा ३ हजार २७० लक्षितमध्ये ३ हजार २४२ जनाले लिएका छन् । यसअनुसार खोपको पहुँच ९९.१४ प्रतिशत पुगेको छ । तर नियमित खोपका केही सूचकमा पछिल्ला वर्षको तुलनामा कमी देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा विसिजी खोपको उपलब्धि ७५.६२ प्रतिशत, डिपिटीको ८७ प्रतिशत, एमआरटुको ८७.७६ प्रतिशत, पूर्ण खोपको ८८.९ प्रतिशत, टिसिभीको ८७.८२ प्रतिशत र टिडिटु तथा टिडिटु+ त्मद्दं को ५४.५९ प्रतिशत रहेको छ । 

पोषणमा वृद्धि
    ०–२३ महिनाका बालबालिकाको वृद्धि अनुगमनका लागि औसत भ्रमण संख्या आर्थिक वर्ष २०८०/०८१ मा ७.६९ रहेकोमा २०८१/०८२ मा १०.६४ र २०८२/०८३ मा १२.६२ पुगेको छ । तर वृद्धि अनुगमनमा नयाँ दर्ता हुने ०–११ महिनाका बालबालिकाको प्रतिशत तीन वर्षमा १४१.५६ बाट ९६.६१ हुँदै ७७.२९ प्रतिशतमा आएको छ । १२–२३ महिनाका बालबालिकाको नयाँ दर्ता ११.३८, ३.४२ हुँदै १.०५ प्रतिशतमा रहेको छ । किशोरी पोषणतर्फ १०–१९ वर्ष उमेर समूहका अनुमानित २८ हजार ३२१ किशोरीमध्ये १३ हप्तासम्म आइरन फोलिक एसिड प्राप्त गर्नेको प्रतिशत २०८२/०८३ मा ७४.६७ र २६ हप्तासम्म प्राप्त गर्नेको प्रतिशत ६४.६८ रहेको छ ।

संस्थागत प्रसूति घट्यो
    मातृ तथा नवजात स्वास्थ्यतर्फ संस्थागत प्रसूति सेवा लिने महिलाको प्रतिशतमा पछिल्ला तीन आर्थिक वर्षमा कमी आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा १०२.११ प्रतिशत रहेको संस्थागत प्रसूतिको सूचक २०८१/०८२ मा ८०.९३ प्रतिशत र २०८२/०८३ मा ७६.९७ प्रतिशतमा झरेको छ । २०८२/०८३ मा रिपोर्ट भएका प्रसूतिको २९.२५ प्रतिशत सिजेरियनबाट भएको र २० वर्षमुनिका महिलाले संस्थागत प्रसूति गराउने प्रतिशत ५.२४ रहेको छ । 
    गर्भवती महिलाको कम्तीमा एकपटक गर्भ जाँच गराउने सूचक २०८२/०८३ मा १५७.८५ प्रतिशत, चारपटक गर्भ जाँच १०४.४५ प्रतिशत र आठपटक गर्भ जाँच ८३.११ प्रतिशत रहेको छ ।  सोही वर्ष १८० वटा आईरन चक्कि प्राप्त गर्ने सूचक ९७.९३ प्रतिशत, क्याल्सियम चक्की प्राप्त गर्ने ९८.१८ प्रतिशत र आठपटकको एनसी प्रोटोकल अनुसार सेवा लिने ८३.११ प्रतिशत रहेको छ । सुत्केरीपछि ४५ दिनको आईएफए प्राप्त गर्ने महिलाको प्रतिशत २०८२/०८३ मा ९३.६३ प्रतिशत रहेको छ भने भिटामिन ए प्राप्त गर्नेको प्रतिशत ३३.५१ रहेको छ । प्रसूति पछिको पहिलो जाँच ७९.१७ प्रतिशत, दोस्रो तथा तेस्रो जाँच ५०.८४ प्रतिशत र चौथो जाँच ५२.२६ प्रतिशत रहेको छ । 

तीन वर्षमा एक–एक मातृ मृत्यु
    समीक्षा प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा प्रत्येक वर्ष एक–एक जना मातृ मृत्यु भएको छ । २०८२/०८३ मा भएको मातृ मृत्यु स्वास्थ्य संस्थामै भएको उल्लेख छ । नवजात शिशु मृत्युतर्फ २०८०/०८१ मा ११, २०८१/०८२ मा चार र २०८२/०८३ मा पाँच जनाको मृत्यु भएको तथ्यांक छ । २०८२/०८३ मा भएको पाँचवटै नवजात मृत्यु स्वास्थ्य संस्थामा भएको उल्लेख छ ।

सुरक्षित गर्भपतन र परिवार नियोजन
    जिल्लामा १७ सुरक्षित गर्भपतन सेवा केन्द्र रहेको छ । तीमध्ये एमए सेवा १७, एमभिए तीन र दोस्रो त्रैमासिक सेवा एक स्थानमा रहेको छ । आर्थिक वर्ष २०८२/०८३ मा मेडिकल माध्यमबाट १ हजार ३२ र सर्जिकल माध्यमबाट ७९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । २० वर्षमुनिका महिलाको संख्या ३० र गर्भपतनपछिको उपचार सेवा लिनेको संख्या १०८ रहेको छ । परिवार नियोजनतर्फ सिपिआरको सूचक आर्थिक वर्ष २०८०/०८१ मा ८, २०८१÷०८२ मा ९ र २०८२/०८३ मा ६ वटा रहेको छ । प्रजनन् उमेरका महिलामध्ये आधुनिक गर्भनिरोधक साधनका नयाँ प्रयोगकर्ताको सूचक क्रमशः २४, २२ र २३ रहेको छ । 

३ सय १५ जनामा क्षयरोग 
    जिल्लामा २३ वटा क्षयरोग माइक्रोस्कोपी सेन्टर रहेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा ३१५ जना क्षयरोगका सकारात्मक केस पहिचान भएको छ । स्लाइड पोजिटिभिटी दर २०८०/२०८१ मा १ प्रतिशत, २०८१/०८२ मा ०.५ प्रतिशत र २०८२/०८३ मा ०.८ प्रतिशत रहेको छ । क्षयरोग उपचारतर्फ पिविसीका १४९, पिसिडीका ६९ र इपिका १०३ घटना दर्ता भएका छन् । उपचार सफलताको दर क्रमशः ९५.१९, ८७.४ र ९४.४३ प्रतिशत रहेको छ  ।

मानसिक स्वास्थ्यदेखि टेलिमेडिसिनसम्म 
    स्वास्थ्य कार्यालयले प्रदेश स्रोतअन्तर्गत विद्यालयस्तरमा बालबालिकाको श्रवण, दृष्टि, दन्त परीक्षण तथा रक्त समूह पहिचान र उपचार, बाथ तथा मुटु रोगको स्क्रिनिङ, मदिरापानविरुद्ध सचेतना, सूर्तिजन्य पदार्थ नियन्त्रण, विषादी न्यूनीकरण, पोषण सेवा सुदृढीकरण तथा महिलामा हुने प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको जाँच र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरेको छ । अति सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि संस्थागत सुत्केरी र पूर्ण खोपका लागि पाँच हजार रुपैयाँ उत्प्रेरणा खर्च, एकीकृत जनस्वास्थ्य तथा पोषण अभियान, विशेषज्ञ स्वास्थ्य शिविर, सडक दुर्घटना न्यूनीकरण तथा एम्बुलेन्स व्यवस्थापन, मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथामका कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि अभियान र टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरिएको छ ।
    संघीय सशर्त कार्यक्रमअन्तर्गत क्षयरोग जोखिम समूहमा एआई एक्सरे जडित सक्रिय केस खोजी शिविर, क्षयरोगसम्बन्धी तालिम, आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धति, आँखा–नाक–कान–घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचार अभिमुखीकरण र स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा तथा अनुगमन गरिएको छ । त्यस्तै महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, स्वास्थ्य तथ्यांकको प्रमाणीकरण तथा गुणस्तर सुधार, एचएमआईएस÷ईएचएमआईएस/डिएचआईएसटु सम्बन्धी अभिमुखीकरण तथा डेंगी र जापानिज इन्सेफ्लाइटिस नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य संस्थामा ६७६ स्वास्थ्यकर्मी
    स्थानीय तहभित्र रहेका निजी स्वास्थ्य संस्थामध्ये १७५ संस्था रहेको र तीमध्ये १५५ वटा दर्ता एनएचएफआरमा दर्ता भएका छन् । ती स्वास्थ्य संस्थामा कुल ६७६ स्वास्थ्यकर्मी रहेकामा ४६३ जना एनएचडब्लुएमआईएसमा दर्ता भएका छन् । स्थानीय तहअनुसार स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको संख्या फरक–फरक रहेको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको जनशक्ति पूर्ति अवस्था ८२.३२ प्रतिशत रहेको छ । कार्यालयमा केही पद रिक्त छन् । स्थानीय तहमा करार सेवाका स्वास्थ्यकर्मीको संख्या अधिक छ । 
    
७९.६५ प्रतिशत खर्च 
    आर्थिक वर्ष २०८२/०८३ मा जनस्वास्थ्य कार्यालयतर्फ कुल ६ करोड २० लाख ५२ हजार ५५० रुपैयाँ बजेट विनियोजन भएकोमा ४ करोड ९४ लाख २७ हजार ३०८ रुपैयाँ ३७ पैसा खर्च भएको छ । यसअनुसार बजेट खर्च ७९.६५ प्रतिशत र भौतिक प्रगति ८९.७९ प्रतिशत रहेको छ । संघीय सशर्त अनुदानतर्फ २ करोड ७२ लाख १८ हजार रुपैयाँमध्ये १ करोड ८१ लाख १६ हजार ८५१ रुपैयाँ खर्च भएको छ, जुन ६६.५६ प्रतिशत हो । यसको भौतिक प्रगति ९०.७४ प्रतिशत रहेको छ । प्रदेश सशर्त अनुदानतर्फ ३ करोड २८ लाख ५९ हजार ५५० रुपैयाँ विनियोजन भएकामा २ करोड ९५ लाख ८१ हजार ५४७ रुपैयाँ ३७ पैसा खर्च भएको छ । यसको खर्च प्रगति ९०.०२ प्रतिशत र भौतिक प्रगति ९६.१५ प्रतिशत रहेको छ । विशेष अनुदानतर्फ १९ लाख ७५ हजार रुपैयाँ विनियोजन भएकामा १७ लाख २८ हजार ९१० रुपैयाँ खर्च भएको छ । यसको खर्च प्रगति ८७.५४ प्रतिशत र भौतिक प्रगति ८२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा बेरुजु रकम शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांक प्रणालीमा सुधार
    स्थानीय तह तथा जिल्लाको एचएमआईएस प्रतिवेदनको पूर्णता आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा १०० प्रतिशत रहेको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रतिवेदन समयमै पठाउने दर जिल्लामा २०८०/०८१ मा ८०.७७ प्रतिशत, २०८१/०८२ मा ८४.४९ प्रतिशत र २०८२/०८३ मा ९२.४९ प्रतिशत पुगेको छ । जिल्लाको कुल जनसंख्या ३ लाख ५१ हजार ८९२ छ । अपेक्षित जीवित जन्म ५ हजार २१०, ०–११ महिनाका बालबालिका ५ हजार २०९, १२–२३ महिनाका बालबालिका ५ हजार २५३ र अपेक्षित गर्भवतीको संख्या ६ हजार १३७ रहेको छ । ६० वर्षभन्दा माथिको जनसंख्या ५० हजार १६९ रहेको छ । काभ्रेपलाञ्चोकमा ८ वटा सरकारी अस्पताल, एक मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठान, ११ वटा निजी अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ८४ स्वास्थ्य चौकी, ६ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र औषधालय, १३ शहरी स्वास्थ्य केन्द्र, २२ सामुदायिक स्वास्थ्य इकाई र ३९ आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् ।
    त्यस्तै ३९ बर्थिङ सेन्टर र पाँच विईओएनसी केन्द्र, २३ क्षयरोग माइक्रोस्कोपी सेन्टर तथा ३५ ओटिसी सेन्टर सञ्चालनमा छन । जिल्लामा २२ सुरक्षित गर्भपतन गराउने केन्दै्र, १५ निजी क्लिनिक र पोलिक्लिनिक, २३ आधारभुत ल्याब, १ सय ४३ प्राथमिक स्वास्थ्य केन्द्र, २३ किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था, ३६३ गाउँघर क्लिनिक र ३६७ खोप क्लिनिक रहेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाको संख्या ९३७ रहेको छ । जिल्लामा न्यूनतम ‘ख’ वर्गका ४३ एम्बुलेन्स सञ्चालनमा छन् भने ३५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । कुल ४६ एम्बुलेन्समध्ये ४३ वटा सञ्चालनमा रहेको र मण्डनदेउपुर, नमोबुद्ध, पनौती तथा बेथानचोकमा एक–एक गरी तीन स्थानीय तहमा केही एम्बुलेन्स सञ्चालनमा छैनन् । 

समन्वय र कमजोर सूचकमा सुधार 
    वार्षिक समीक्षाले स्वास्थ्य सेवाको पहुँच, कार्यक्रम कार्यान्वयन र केही प्रमुख स्वास्थ्य सूचकमा प्रगति देखिए पनि संस्थागत प्रसूति, नियमित खोपका केही सूचक, पोषण तथा मातृ–शिशु स्वास्थ्यका केही क्षेत्रमा थप सुधारको आवश्यकता देखेको छ । स्वास्थ्य संस्थाको सेवा विस्तारसँगै स्थानीय तह, स्वास्थ्य संस्था, जनस्वास्थ्य कार्यालय र सरोकारवाला निकायबीच थप प्रभावकारी समन्वय, तथ्यांकको गुणस्तरमा निरन्तर सुधार तथा कमजोर सूचकमा केन्द्रित कार्यक्रम कार्यान्वयन गर्नुपर्ने छ । समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको आगामी कार्यदिशा तय गर्न उपलब्धि र चुनौतीका आधारमा कार्यक्रमको पुनरावलोकन तथा सुधारमा जोड दिएको जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताईन् ।