2026 June 18/ 11:38: 52pm

    रोशी/ग्रामीण क्षेत्रमा आयआर्जनका अवसर विस्तार गर्दै स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।
    अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्यहरू १५ जना सहभागीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । अपाङ्गता भएका ब्यक्ति र उनका परिवारका सदस्यहरुलाई आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले उक्त तालिम आयोजना गरिएको हो ।
     ‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित आयोजना गरिएको उक्त तालिम जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रद्वारा आयोजना गरिएको तालिममा रोशी गाउँपालिकाको समन्वय तथा ओएनजिडी–एफएनईएलको साझेदारी रहेको थियो । तालिममा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र प्रशासन  संयोजक सुमिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । तालिममा कृषि प्राविधिक प्रशिक्षक हरिकृष्ण लागेजूले प्रशिक्षण दिएका थिए ।  
    तालिम कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका ब्यक्ति तथा परिवारका सदस्य र च्याउ खेति गर्न इच्छुक कृषकहरुलाई व्यावसायिक च्याउ खेतीसम्बन्धी ज्ञान र सीप प्रदान गरी स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीलाई च्याउ उत्पादनका लागि आवश्यक वातावरण, बीउ व्यवस्थापन, कम्पोस्ट तयार गर्ने तरिका, रोग तथा कीरा नियन्त्रण, उत्पादन व्यवस्थापन र बजारिकरणका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको छ । तालिमका प्रशिक्षकहरूले च्याउ खेती कम लगानीमा सुरु गर्न सकिने र छोटो अवधिमै राम्रो आम्दानी लिन सकिने व्यवसाय भएकाले ग्रामीण क्षेत्रका लागि अत्यन्त उपयुक्त रहेको बताएका छन् ।
    रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले कृषिमा आधारित उद्यमशीलताको विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । विशेषगरी रोजगारीको विकल्प खोजिरहेका युवा र महिलालाई लक्षित गरी सञ्चालन गरिएका सीपमूलक कार्यक्रमले आत्मनिर्भर समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए । कार्यक्रममा सहभागीहरूले च्याउ खेतीसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूका अनुसार तालिमपछि प्राप्त सीपलाई व्यवहारमा लागू गर्दै व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने योजना बनाइएको छ ।
    नेपालमा पछिल्लो समय च्याउको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा यस्ता तालिमले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषिमा आधुनिकीकरणको अभियानलाई थप बल पु¥याउने विश्वास गरिएको छ । आयोजक संस्थाले तालिमपश्चात् पनि आवश्यक प्राविधिक परामर्श तथा सहयोग उपलब्ध गराउने जनाएको छ । रोशी गाउँपालिकामा सञ्चालन भएको तीन दिने च्याउ खेती तालिमले स्थानीय समुदायमा उद्यमशीलता विकास, कृषि उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रकी प्रशासन संयोजक सुमिता श्रेष्ठले बताईन् ।