बसाइँसराइ र सम्बन्ध विच्छेदले बदलिँदो समाजको चित्र
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा व्यक्तिगत घटना दर्ताका तथ्यांकले जनसंख्याको वृद्धि, आन्तरिक बसाइँसराइ, विवाह तथा सम्बन्ध विच्छेदका बदलिँदा प्रवृत्ति उजागर गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ का उपलब्ध तथ्यांकहरूको तुलनाले जिल्लाको सामाजिक संरचना, जनसांख्यिक अवस्था र विकासका प्रभावहरूलाई देखाएको छ । जिल्लामा जन्मदर्ताको संख्या मृत्यु दर्ताभन्दा उल्लेख्य रूपमा बढी रहेकाले जनसंख्या वृद्धिदर सकारात्मक देखिन्छ । तर बसाइँसराई, सम्बन्ध विच्छेद र शहरी क्षेत्रमा जनघनत्व केन्द्रित हुने प्रवृत्तिले सामाजिक तथा आर्थिक चुनौतीहरू पनि थपिरहेका छन् । २०८१/०८२ मा तेमाल र बेथान्चोकको विवरण उपलब्ध छैन तथा भुम्लुको विवाह दर्ता समावेश छैन । तथ्यांक अनुसार जन्म र मृत्यु दुवै घटनाको संख्या घटेको देखिए पनि बसाइँसराइ उल्लेख्य रूपमा बढेको छ । यसले जिल्लाभित्र जनसंख्याको गतिशीलता बढिरहेको संकेत गर्छ ।
पनौतीमा सबैभन्दा बढी जन्म र मृत्यु
आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै १ हजार ६० जन्मदर्ता पनौती नगरपालिकामा भएको थियो । २०८१/०८२ मा पनि पनौती ९२२ जन्मदर्तासहित शीर्ष स्थानमै छ । चौरीदेउराली, रोशी, पाँचखाल र बनेपामा पनि जन्मदर्ताको संख्या उच्च छ ।
जिल्लाका अधिकांश पालिकामा जन्मदर्ता मृत्यु दर्ताभन्दा दोब्बर वा सोभन्दा बढी रहेकाले प्राकृतिक जनसंख्या वृद्धि सकारात्मक देखिन्छ । महाभारतमा ७१२ जन्म र १२४ मृत्यु, खानीखोलामा ५२३ जन्म र ८३ मृत्यु तथा चौरीदेउरालीमा ८५४ जन्म र २५४ मृत्यु दर्ताले ग्रामीण क्षेत्रमा अझै युवा जनसंख्या बलियो रहेको संकेत गर्छ । मृत्यु दर्ता सबैभन्दा बढी पनौतीमा ४५७ रहेको छ । त्यसपछि बनेपामा ३७५, पाँचखालमा ३३७ र मण्डनदेउपुरमा ३२९ मृत्यु दर्ता भएका छन् । स्वास्थ्य सेवाको पहुँच बढेसँगै मृत्यु दर्ता प्रणाली प्रभावकारी बनेको देखिन्छ ।
बनेपा बसाइँसराइमा आकर्षण
दुई वर्षका तथ्यांकको तुलना गर्दा बसाइँसराइमा उल्लेखनीय परिवर्तन देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी बसाइँसराइ बेथान्चोक (१४९), खानीखोला (१४७) र तेमाल (१३९) मा दर्ता भएको थियो । तीमध्ये अधिकांश बसाइँसराइ बाहिरिने प्रकृतिका थिए । तर २०८१/०८२ मा बनेपा नगरपालिकामा मात्रै ६४३ वटा बसाइँसराइ दर्ता भएको छ । जसमध्ये ४०० जना भित्रिएका र २४३ जना बाहिरिएका छन् । यसले बनेपा जिल्लाको प्रमुख बसोबास, व्यापार, शिक्षा र सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको पुष्टि गर्छ । पनौतीमा ४४८ तथा चौरीदेउरालीमा २२६ बसाइँसराइ दर्ता भएका छन्। यता पाँचखालमा ५९ मध्ये ५५ जना बाहिरिएका छन् भने महाभारतमा ६२ मध्ये ५५ जना बाहिरिएका छन् । मण्डनदेउपुरमा पनि आउनेभन्दा जानेको संख्या बढी छ । ग्रामीण र अर्धशहरी क्षेत्रबाट सुविधा सम्पन्न नगर क्षेत्रतर्फ बसाइँसराइको प्रवृत्ति तीव्र बन्दै गएको छ ।
विवाहसँगै सम्बन्ध विच्छेद पनि बढ्दै
आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर ४ हजार ७७७ विवाह दर्ता भएका थिए भने ४८३ सम्बन्ध विच्छेद दर्ता भएका थिए । अर्थात् करिब १० प्रतिशत विवाहको तुलनामा सम्बन्ध विच्छेद दर्ता भएको देखिन्छ । २०८१/०८२ मा उपलब्ध तथ्यांकअनुसार पनौतीमा ५१४, बनेपामा ४४६, पाँचखालमा ४२२ र चौरीदेउरालीमा ४१८ विवाह दर्ता भएका छन् । त्यसैगरी सम्बन्ध विच्छेदमा पनौती (६१), पाँचखाल (६०), रोशी (५९) र बनेपा (४७) अगाडि छन्। शहरी तथा अर्धशहरी क्षेत्रमा सम्बन्ध विच्छेदको दर ग्रामीण क्षेत्रको तुलनामा बढी देखिन्छ । सामाजिक विश्लेषकहरूका अनुसार आर्थिक स्वतन्त्रता, वैदेशिक रोजगारी, शहरी जीवनशैली, व्यक्तिगत स्वतन्त्रताको बढ्दो चेतना तथा परिवार संरचनामा आएको परिवर्तनले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको हुन सक्छ ।
विकाससँगै सामाजिक चुनौती
तथ्यांकले काभ्रेपलाञ्चोकमा विकास र शहरीकरणको प्रभाव स्पष्ट देखाएको छ । शिक्षा, स्वास्थ्य, व्यापार तथा पूर्वाधारका केन्द्र बनेका नगरपालिकाहरूले जनसंख्या आकर्षित गरिरहेका छन् । अर्कोतर्फ ग्रामीण क्षेत्रमा युवाशक्ति बाहिरिने, कृषि श्रमिक अभाव हुने र जनसंख्या वृद्धावस्थातर्फ जाने जोखिम बढ्दै गएको छ । जन्मदर्ताले जनसंख्या वृद्धि सकारात्मक देखाए पनि बसाइँसराइले जनसंख्या वितरणमा असन्तुलन सिर्जना गरिरहेको छ । विवाहको संख्या उच्च रहे पनि सम्बन्ध विच्छेद बढ्नुले पारिवारिक संरचनामा परिवर्तनको संकेत दिएको छ ।
व्यक्तिगत घटना दर्ताका यी तथ्यांक प्रशासनिक अभिलेख मात्र होइनन्, काभ्रेपलाञ्चोकको बदलिँदो सामाजिक, आर्थिक र जनसांख्यिक चित्रका महत्वपूर्ण सूचक पनि हुन् ।









