धुलिखेल/कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा कृषि कर्जा तथा वीमामा कृषकको पहुँच बढाउन बीमा गोष्ठी आयोजना गरिएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काभ्रे तथा सिन्धुपाल्चोक जिल्लामा कृषि बीमा तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहको अवस्था तथा समस्याहरुका बारेमा कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए । दवाडीले जिल्लामा बीमाको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए । कृषि बीमा, कृषि पशुपंक्षी तथा जडिबुटी वीमा तथा त्यसको कार्यान्वयनको अवस्थाका बारेमा दवाडीले जानकारी गराएका थिए । नेपालमा कृषि, पशुपन्छी तथा जडिबुटीका बीमाका लागि तोकिएका बीमा कम्पनीहरु १४ वटा छन् । काभ्रे र सिन्धुपाल्चोक जिल्लाका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा गराउने अनुमति पाएको छ । कृषि कर्जा प्रवाह गर्ने बैक तथा वित्तिय संस्थाहरु जिल्लामा बाणिज्य बंैकहरु कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् भने गरिमा विकास बंैक लगायत विभिन्न लघुवित्त र सहकारीहरुले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्दै आएका छन् । कृषि कर्जा प्रवाह, त्यसका समस्या र वीमाका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा कृषि विभागका रितेशकुमार झा, निक्षेप तथा कर्जा सुरक्षण कोषका रुमा गुरुङ, वागवानी विकास केन्द्रका विष्णु बोगटी, बाणिज्य तथा विकास बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जा सम्बन्धि नीतिगत ब्यवस्था, कर्जा प्रवाहको अवस्था, सम्भावना र चुनौतीहरुका सम्बन्धमा धारणा राखेका थिए । कृषकहरुले बीमा झन्झटिलो, असहयोगी र भुक्तानी प्रकृया पनि असहज भएको बताए । कार्यक्रममा बोल्दै समन्वय प्रमुख दिपककुमार गौतमले कृषि कर्जाका लागि बैंक र वीमा कम्पनीहरुले सहजिकरण गर्न अनुरोध गरे ।









