2026 April 23/ 06:54: 44pm

विकास तिमल्सिना/बनेपा
    काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) माथि जिल्ला स्तरीय अनुगमन समितिले कडा निगरानी थालेपछि दर्ता तथा अनुमति प्रक्रियामा आउने संस्थाको संख्या बढेको छ ।
    शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका अनुसार २०८३ वैशाख २ देखि ८ गतेसम्म सात दिनको समयसीमा दिएर कागजात बुझाउन सूचना जारी गरिएको थियो । सो अवधिमा ४७ वटा संस्थाले फाइल दर्ता गराएका छन् । प्राप्त विवरण अनुसार ८ वटा संस्था अनुमति प्रक्रियामा रहेका छन् भने दुई वटा संस्थाले बन्द भइसकेको जानकारी दिएका छन् । प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा वैद्यानिक रूपमा सञ्चालन अनुमति पाउने संस्थाको संख्या ३८ पुगेको छ ।
    जिल्लामा ८५ भन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको अनुमान गरिए पनि हालसम्म ४७ वटा मात्रै सरकारी सम्पर्कमा आएका छन्। इकाईले अनुमति नलिई सञ्चालन भइरहेका संस्थामाथि तत्काल कानुनी कारबाही गरिने चेतावनी दिएको छ । गत चैतमा बनेपामा गरिएको अनुगमनमा १३ संस्थामध्ये ६ वटा मात्रै वैधानिक रूपमा सञ्चालनमा रहेको भेटिएको थियो । दुईवटा संस्थामा तालाबन्दी गरिएको थियो भने पाँचवटा बन्द अवस्थामा भेटिएका थिए ।
     शिक्षा विकास तथा समन्वय इकाईले अनुमति लिएर पनि मापदण्ड नमान्ने संस्थामाथि समेत कारबाही गरिने जनाएको छ । विद्यार्थी ठगी र गलत परामर्श रोक्न यस्तो कडाइ आवश्यक भएको अभिभावकहरूले बताएका छन् ।