२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले तेश्रो भएको छ । यसअघि पनि दोश्रो भएको नेपाली काँग्रेस पुनः दोश्रो भएको छ । चौथो दलका रुपमा समानुपातिक मतका आधारमा राष्ट्रिय परिवर्तन पार्टीले प्राप्त गरेको छ । २४ भन्दा धेरै घटक मिलेर बनेको साविक नेकपा माओवादी र नेकपा समाजवादी पाँचौ दल बनेको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रे जिल्लाका प्रतिनिधिसभा क्षेत्र नम्वर १ र २ को समानुपातिक मत परिणामका आधारमा जिल्लाको राजनीतिक तस्वीरमा ठूलो परिवर्तन देखिएको छ । परम्परागत दलहरूलाई पछि पार्दै नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अत्यधिक मत सहित पहिलो स्थान हासिल गरेको छ ।
दलगत आधारमा जिल्लाका दुबै क्षेत्रमा प्राप्त समानुपातिक मत रास्वपाले ८८ हजार १६२ प्राप्त गरेको छ । नेपाली काँग्रेसले दुबै क्षेत्रमा २९ हजार २९६ र नेकपा एमालेले २४ हजार १६८ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले २० हजार ९७५ र नेपाली कम्युनिष्ट पार्टी १८ हजार ६ मत प्राप्त गरेका छन् ।
दुवै क्षेत्रको मत जोड्दा रास्वपाले ८८ हजारभन्दा बढी मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको मतभन्दा झण्डै तीन गुणा बढी हो । क्षेत्र नम्वर २ मा मात्रै ५५ हजारभन्दा बढी मत ल्याउँदै रास्वपाले शहरी मतदातामा बलियो प्रभाव स्थापित गरेको देखिन्छ । विशेषगरी बनेपा, पाँचखाल, धुलिखेल र पनौतीजस्ता शहरी तथा अर्धशहरी क्षेत्रमा रास्वपाको प्रभाव अत्यधिक देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जस्ता परम्परागत दलहरूको मत जोड्दा पनि ७१ हजारको हाराहारीमा सीमित छ । यो तथ्यले रास्वपा एक्लैले पुराना तीन दलभन्दा बढी मत ल्याएको संकेत गर्छ । काभ्रेमा मतदाताले परम्परागत राजनीतिप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्प रोजेको स्पष्ट देखाउँछ ।
राष्ट्रिय परिवर्तन पार्टीले पनि करिब २१ हजार मत प्राप्त गर्दै उदीयमान शक्तिका रूपमा स्थापित गरेको छ । रास्वपा र परिवर्तन पार्टीको संयुक्त मत एक लाखभन्दा माथि पुग्नुले काभ्रेमा नयाँ राजनीतिक धार मजबुत बन्दै गएको देखिन्छ । विश्लेषणले देखाउँछ कि शहरी क्षेत्रहरूमा परिवर्तनको चाहना बढी छ । क्षेत्र नं. २ अन्र्तगत बनेपा, धुलिखेल र पाँचखालजस्ता शहरी केन्द्र पर्छन्, त्यहाँ रास्वपाले अत्यधिक मत ल्याएको छ । ग्रामीण क्षेत्रमा भने अझै परम्परागत दलहरूको केही प्रभाव कायम रहेको देखिन्छ ।
काभ्रे क्षेत्र नम्वर १ मा राप्रपाले १४ सय ४८ मत प्राप्त गरेको छ । एक सय पनि नकटाउने ४३ वटा दलले एक सय पनि पाउन सकेनन् । ८ वटा दलले एक सय भन्दा धेरै मत प्राप्त गरे । श्रम संस्कृति पार्टीले ६ सय १० मत प्राप्त ग¥यो । क्षेत्र नम्वर १ मा ८८ हजार ३ सय ४ मत खसेको थियो । क्षेत्र नम्वर २ मा राप्रपाले २४ सय २६ मत प्राप्त गरेको छ । ४५ वटा दलले एक सय मत पनि पाउन सकेनन । ६ वटा दलले एक सय भन्दा धेरै मत प्राप्त गरेका छन् । सबैभन्दा कम ४ मत पाउने राजनीतिक दल पनि छन् । क्षेत्रभरी १० मत नकटाउने दलहरुको संख्या अत्याधिक छ ।
प्रत्यक्षतर्फ पनि रास्वपाको प्रभाव उत्तिकै देखिएको छ । क्षेत्र नम्वर १ मा रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईले २९ हजार ६१८ मतसहित विजयी भएका छन् । क्षेत्र नम्वर २ मा बदन भण्डारीले ५३ हजार ३४४ मत ल्याउँदै अत्यधिक मतान्तर सहित विजयतर्फ अग्रसर देखिएका छन् । दुवै क्षेत्रको प्रत्यक्ष मत जोड्दा रास्वपाले ८२ हजार ९६२ मत प्राप्त गरेको छ । यसैगरी प्रत्यक्षतर्फ नेपाली काँग्रेसका उम्मेदवारहरूले कुल ३७ हजार ३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारहरुले प्राप्त गरेको मत २७ हजार ७५४ मतसहित तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्र (नेपाली कम्युनिष्ट पार्टी) का उम्मेदवारहरूले २२ हजार २९१ मत ल्याउँदा अन्य दल तथा उम्मेदवारहरू निकै पछि परेका छन् ।
विशेषगरी बनेपा, धुलिखेल, पनौती र पाँचखालजस्ता शहरी तथा अर्धशहरी क्षेत्रमा रास्वपाको प्रभाव अत्यधिक देखिएको छ । ती क्षेत्रहरूबाट प्राप्त उच्च मतका कारण रास्वपाले दुवै क्षेत्रमा स्पष्ट अग्रता लिन सफल भएको छ । युवावर्ग, शिक्षित समुदाय र शहरी मतदाताको ठूलो हिस्सा परिवर्तनको पक्षमा उभिँदा रास्वपाले त्यसको लाभ उठाएको बताइन्छ । परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि, विकासप्रतिको अपेक्षा र नयाँ नेतृत्वप्रतिको विश्वासले काभ्रेमा राजनीतिक सन्तुलन नै फेरिएको संकेत देखिएको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काभ्रे जिल्लाका क्षेत्र नम्वर १ र २ को प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मत परिणामले जिल्लाको राजनीतिक चित्र नै बदलिएको छ । सार्वजनिक भएको मत परिणामअनुसार परम्परागत दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा काभ्रेमा सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिको रूपमा उदाएको छ ।









