2026 May 15/ 05:47: 10pm

    पनौती/पनौती नगरपालिका वडा नम्वर ५ स्थित बाँसघारीमा रहेको श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिको आयोजनामा मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा गरेको चौथो वर्षको अवसरमा आयोजित चतुर्थ ब्रम्होत्सव भब्य रुपमा सम्पन्न भएको छ । 
    २०८३ बैशाख २४ गतेदेखि २६ गतेसम्म आयोजना गरिएको श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रम्होत्सवको अवसरमा श्रीमुक्तिनाथ भगवान्, श्रीपञ्चमहालक्ष्मी माता र श्रीमुक्तिनाथ बाबाजीको मंगलानुशासनमा विभिन्न पूजापाठ र उत्सवहरू आयोजना गरिएको संरक्षण समितिले जानकारी दिएको छ । तीन दिनसम्म संचालन भएको महोत्सवको पहिलो दिन वैशाख २४ गते विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राह्मणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा र ध्वजारोहण लगायतका पूर्वाङ्ग कार्यहरू भएका थिए । दोस्रो दिन वैशाख २५ गते बिहान नित्य पूजापछि श्रीमुक्तिनाथ भगवानको बाजागाजासहित नगरपरिक्रमा अर्थात् यात्रोत्सव गरिएको थियो । मुक्तिनाथ मन्दिरदेखि पनौतीको प्रसिद्ध त्रिवेणी धामसम्म पुगेर पुनः मन्दिरमा आई समापन गरिएको थियो ।उत्सवको अन्तिम दिन वैशाख २६ गते महापूर्णाहुति गरिएको थियो । श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाअभिषेक तथा कल्याण उत्सव आयोजना गरिएको थियो ।
    २०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको उक्त मन्दिरमा स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको थियो भने मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो । मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । मुक्तिनाथ धाममा नियमित पूजाको विधि गरिएको छ । विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । समितिका अध्यक्ष कुमार थापाले हरेक वर्ष आयोजना गरिने महोत्सवले मुक्तिनाथ मन्दिरप्रतिको आस्था बढिरहेको बताए । मुक्तिनाथ मन्दिरका संस्थापक स्वर्गिय गोपालबहादुर थापा हुन् ।