धुलिखेल/धुलिखेल एमाले बैठकले जेनजीका निःस्वार्थ माग पुरा गर्न आग्रह, भव्य रुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ । नेकपा एमाले धुलिखेल नगर कमिटीले जेनजी पुस्ताले निस्वार्थ रुपमा अघि सारेका मागहरु पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो पूर्ण बैठकले जेनजी पुस्ताको माग गर्न आग्रह गरेको हो । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको ब्यवस्था मिलाउन पनि आग्रह गरेको एमाले धुलिखेलका अध्यक्ष विष्णु धितालले जानकारी दिए । आन्दोलनका नाममा भएका सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीको उचित छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि एमाले धुलिखेल नगर कमिटीले माग गरेको छ । दूषित मनसायबाट धुलिखेल नगर प्रमुखको घरमा गरिएको आगजनीप्रति घोर भत्र्सना गर्दै, सम्बन्धित दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय दिन अध्यक्ष धितालले माग गरेका छन् । आगामी दिनमा पार्टीलाई अझ सबल, सुदृढ र बलियो बनाउन अझ सशक्त ढंगले काम गर्ने प्रतिबद्धता बैठकले गरेको छ । बैठकले भोलि असोज ३ गते संविधान दिवसको दिन बिहान ११ बजे सरस्वती बजारमा बृहत कार्यकर्ता भेला गरि संविधान दिवस मनाउने निर्णय बैठकले गरेको छ ।







