बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ ले समुदाय तथा विद्यालयस्तरीय बाल क्लबहरुलाई खेलकूद सामाग्री प्रदान गरेको छ ।
वडा भित्र रहेका सामुदायीक तथा संस्थागत ६ वटा विद्यालयका बाल क्लबहरुलाई ब्याडमिन्टन २४ सेट, ब्याडमिन्टन कक ६ दर्जन, चेस २४ सेट, लुडो २४ सेट, फुटबल २४ वटा, भलिबल २४ वटा, हावा हाल्ने पम्प १२ वटा, स्किपिङ्ग(डोरी) ६० वटा, क्रिकेट ब्याट २४ वटा, क्रिकेट बल २४ वटा, टेनिस बल ६ पाकेट रिङ ६० वटा र मादल ६ वटा लगायतका सामाग्री वितरण गरेको वडा अध्यक्ष बलराम अधिकारीले बताए ।
वडा अध्यक्ष अधिकारीले समुदाय विद्यालयस्तरीय बाल क्लबहरूलाई शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले खेलकूद सामग्री वितरण गरिएको बताए । वडाले उक्त बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेको हो । अधिकारीले बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने र बाल क्लब मार्फत अनुशासन, नेतृत्व विकास, सहकार्य र आत्मविश्वास जस्ता गुणहरू विकास गर्न सकिने पनि बताए । सामग्री वितरण सँगै बाल अधिकार, बाल संरक्षण तथा सिर्जनात्मक क्रियाकलापमा विद्यार्थीको संलग्नता बढाउने तथा स्थानीय समुदाय, अभिभावक र विद्यालय प्रशासनको सहकार्यमा आगामी दिनमा बाल क्लब सम्बन्धी कार्यक्रमहरु गर्ने वडा अध्यक्ष बलराम अधिकारीले प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखा प्रमुख भगवती तामाङ, वडा कार्यापालिका सदस्य समिता थापा, वडा सदस्यहरु कृष्ण गोपाल बैद्य, सागर मानन्धर, बिमला अच्छामी तोलाङ्गे, वडा शिक्षा समिति सदस्य ईन्द्र नारायण भैल, विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।







