बनेपा/बनेपामा रहेको शिर मेमोरियल अस्पतालले उपचार सेवामा नयाँ विद्या थप गरेको छ । महिलाहरुको स्वास्थ्यमा सशक्तिकरण गर्ने उदेश्यले अस्पतालले मेमोग्राफी मेशिन संचालनमा ल्याएको छ । अस्पताललाई म्यामोग्राम मेशिन बनेपामा जन्मिएका डा. प्रकाश तौजले श्रेष्ठ र डा.शेरी तौजले श्रेष्ठले उपलब्ध गराएका हुन् ।
महिलाहरुमा हुने स्तन क्यान्सर समयमा नै रोक्ने उद्देश्यले स्क्रिनिङ्ग सेवाका लागि मेमोग्राफी मेशिन आवश्यक छ । ‘विश्वमा महिलाहरुको निधनको पहिलो कारण स्तन क्यान्सर रहेको छ’– डा.पुण्य खर्वुजाले भने– ‘क्यान्सर भई सके पछि उपचार गर्ने भन्दा क्यान्सर भए नभएको शुरुमा नै जानकारी लिई पहिलो तहमा नै उपचार शुरु गरिए ब्यक्तिको निधन हुने संख्यामा कमी गराउन सकिन्छ ।’ विश्वमा बार्षिक २३ लाख भन्दा धेरै महिलाहरुको निधन स्तन क्यान्सरका कारण हुने गरेको छ । नेपालमा पनि बार्षिक १५ हजार महिला स्तन क्यान्सरको संक्रमणमा छन् ।
शिर मेमारियल अस्पतालले केहि वर्ष अघि देखि क्यान्सर रोगको उपचार सेवा शुरु गरेको छ । सोहि क्रममा स्तन क्यान्सर रोगको उपचारका लागि म्यामोग्राम सेवा शुरु गरिएको अस्पतालका प्रशासकीय प्रमुख डा.हेक्टर गायसले बताए । सेवा शुभारम्भ कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नागरिकहरुको स्वास्थ्य सेवामा अस्पतालले पु¥याएको योगदानको चर्चा गरेका थिए । नगरपालिकाले समन्वयमा अस्पताल मार्फत थप सेवा उपलब्ध गराउन पहल भईरहेको उनले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्का, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेत, क्यान्सर विभागका डा.ध्रुर्व कँडेल, वडा अध्यक्ष बलराम अधिकारी, नेपाल क्यान्सर सोसाईटीका अध्यक्ष नेपाल सुधार भैल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम पुकार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । सोहि अवसरमा अस्पतालले मेशिन उपलब्ध गराउने डा. प्रकाश र डा.शेरीलाई सम्मान गरेको थियो । उक्त कार्यको पहल गर्ने नेपाल सुधार भैल तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तिलाई पनि अस्पतालले आभार ब्यक्त गरेको छ । कार्यक्रममा अस्पतालको विभिन्न विभागमा कार्यरत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।





