शिक्षक अभावमा महाभारतका विद्यालय
मोतीराम तिमल्सिना
सल्लेनी, बनखु, महाभारत
जनमोहन माध्यमिक विद्यालय महाभारत गाउँपालिका वडा नम्वर ६ सल्लेनी बनखुको विद्यालयको कक्षा ६ अध्ययन गर्ने विद्यार्थीहरुले अध्ययन नै नगरी परीक्षा दिनु परेको छ । शिक्षक नभएका कारण विद्यार्थीहरुले अध्ययन विना परीक्षा दिएका हुन् ।
‘बैशाख महिना देखि नै स्वास्थ्य र नैतिक विषयको पढाई भएको छैन’–विद्यार्थी अनुषा अस्तानी मगरले भन्नुभयो–‘हामीले पहिलो त्रैमासिक परीक्षा अध्ययन विना नै दियौं । कति नम्वर आयो जानकारी छैेन । शिक्षकहरुले अध्ययन विना प्रश्नपत्र दिएर परीक्षा लिएपछि विद्यार्थीहरु आफैले घरमा किताब हेरेर परीक्षामा सहभागी भएका हुन् ।’ ‘सरहरुले नै सजिलो सजिलो प्रश्न सोध्छौं, तिमीहरु पढेर आउनु भन्दै परीक्षा लिनुभयो’– विद्यार्थी इच्छा ब्लोनले बताउनु भयो । ब्लोन आफैले भने उक्त परीक्षा दिन पाउनु भएन । उहाँ विरामी भएर जान सक्नु भएन । एक पाठ पनि अध्ययन नगरी परीक्षा लिए पछि विद्यार्थीहरुले गुनासो गरे तर शिक्षक दिनेश चौधरीले बाध्यता भन्दै प्रश्नपत्र ल्याएर वितरण गरिदिनु भयो । बेचन ठाकुर शिक्षकले उक्त विषय पढाउने गर्नु भएको थियो । उहाँले छाडेपछि विद्यालयमा लामो समय देखि उक्त विषय पढाउने शिक्षक छैनन् । शिक्षक नभए पछि विद्यार्थीहरु आफैले पुस्तक हेरेर परीक्षा दिने गरेका छन् । घरबाट विहान ७ बजे खाना खाएर हिडेका विद्यार्थीहरु एकै पटक १२ घण्टा पछि ७ बजे मात्रै घर पुग्छन् र खाना खाने गरेका छन् । विकट क्षेत्रको समस्या विद्यालय मात्रै होईन भएका विद्यालयमा शिक्षकहरुको ब्यवस्थापन हुन नसक्नु पनि हो । जनमोहन माविमा कोल्टार, घ्याप्रिङ्ग, सुगौटा लगायत झण्डै तीन घण्टा टाढा देखिका बालबालिकाहरु अध्ययन गर्न आउने गरेका छन् ।
जनमोहनमा जस्तै महाभारत गाउँपालिकाको सिद्धेश्वर माध्यमिक विद्यालय साविक फोक्सिङ्गटार ७ सानोपोखराको विद्यालयमा अंग्रेजी विषयका शिक्षक छैनन् । शिक्षक विना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । कक्षा ९ र १० का विद्यार्थीहरुले असोज महिना देखि अंग्रेजी विषयको अध्ययन गर्न नपाएका हुन् । शिक्षक इन्द्रप्रसाद तिमल्सिनाको सरुवा भए सँगै नयाँ शिक्षक नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थी इन्दिरा बोलखेले बताउनु भयो । एसईईको नजिक शिक्षक नभए पछि विद्यार्थीहरु तनावमा छन् । गत वर्षको एसईई परीक्षामा उक्त विद्यालय गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याउने विद्यालयका रुपमा चिनिएको थियो । विद्यार्थीहरु अध्ययनका लागि डेरा लिएरै बसिरहेका छन् । तर शिक्षक नभएका कारण संकटमा छन् । विद्यालयका प्रधानाध्यापकले सामाजिक विषयको अध्यापन गराई रहनु भएको छ । जिल्लामा विद्यालयको कामले आउनु पर्दा उहाँको कक्षा समेत नियमित हुन सकेको छैन । विद्यार्थीहरुले शिक्षकहरुको थप ब्यवस्थापनका लागि गाउँपालिकालाई अनुरोध गरेका छन् ।
महाभारत गाउँपालिकाका यी दुई विद्यालयका प्रतिनिधिमुलक घटना मात्रै हुन् । अधिकांश विद्यालयमा शिक्षक अभावका कारण विद्यार्थीहरुले नियमित अध्ययन गर्न पाएका छैनन् । गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम मार्फत शिक्षकहरुका लागि मात्रै हरेक वर्ष १ करोड रुपैयाँ अतिरिक्त बजेट ब्यवस्थापन गर्ने गरेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । ‘शिक्षक दरवन्दी विद्यार्थी अनुपातमा छैन’–अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘शिक्षा नीतिले शिक्षक दरबन्दी स्थानीय तह आफैले तय गर्ने ब्यवस्था गरेको छ । छिट्टै त्यसको सूची संघीय सरकारमा पठाउने छौं । तत्कालका लागि अस्थायी रुपमा शिक्षकहरुको ब्यवस्थापनका लागि शैक्षिक सुधार कार्यक्रम मार्फत प्रत्येक विद्यालयलाई रकम उपलब्ध गराईएको छ ।’ महाभारत क्षेत्रका विद्यालयमा ५ हजार ७ सय विद्यार्थी छन् । १ सय ६ जना शिक्षक दरवन्दी नपुग छ । १ सय ४८ जना शिक्षक दरवन्दी छ । दरवन्दी अनुसार पनि शिक्षक पुगेका छैनन् ।
‘खाना र खाजा’ एकै पटक
कक्षा ६ मा अध्ययन गर्ने १२ बर्षीया लक्ष्मी बोम्जन विद्यालय पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ । विहान ७ बजे घरबाट निस्कँदा लक्ष्मी १० बजे विद्यालय पुग्न हम्मेहम्मे पर्छ । विद्यालय छुटेर घर पुग्दा ७ बजिसकेको हुन्छ । घरमा खाना खाएर निस्किए पछि आक्कल झुक्कल बाहेक घरमै पुगेर मात्रै खाने गरेको लक्ष्ग्मीले बताउनु भयो । ७ बजे अगावै खाएर निस्किएको खानाकै भरमा झण्डै १३ घण्टा पछि लक्ष्मीले एकै पटक घर पुगेर खाने गर्नु भएको छ ।
बालबालिकाहरुका नैसर्गिक अधिकारका बारेमा अभिभावकहरु चिन्तित नभएका पनि हैनन् । विद्यालय र स्थानीय सरकार गम्भिर नभएको पनि हैन तर भौगोलिक विकटता, पारिवारीक अवस्था र विद्यालयको भैतिक पूर्वाधार अभावका कारण महाभारत क्षेत्रका बालबालिकाहरु यस्तो समस्या भोग्न बाध्य छन् । महाभारत गाउँपालिकाका अधिकांश विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु दैनिक यस्तो समस्यासँग जुधिरहेका छन् । ‘विहान उठेर घाँस काट्ने वा अरु कुनै काममा अभिभावकलाई सहयोग गरेर मात्रै विद्यालय आउने गरेका छौं’–कक्षा ६ मा अध्ययन गर्ने भावना मोक्तानले भन्नु भयो–‘घर पुग्दा भोक र थकाईले लखतरान हुन्छांैै, एकछिन गृहकार्य गर्नै प¥यो, सुत्नु अगावै सकिएन भने विहानको जिम्मेवारी पूरा गर्नै कठिन छ ।’ कहिलेकाँहि भोकले घर पुग्नै नसक्ने गरी गाह्रो हुने गरेको विद्यार्थी निर्मला घलानले बताउनु भयो । घरबाट सधै खाजा ल्याउन सम्भव पनि नभएको र अभिभावकसँग पैसा माग्न आय श्रोत पनि नभएकाले विहान घरमा खाना खाएर निस्किए पछि एकै पटक साँझ घरमा पुगेर मात्रै खाना खानु पर्ने बाध्यता रहेको उहाँहरुले बताउनु भयो । विद्यालयमा छात्राबासको ब्यवस्था छैन । भएका केहि विद्यालयका छात्राबासमा विद्यार्थी बस्दैनन् बरु शिक्षक आफै बस्ने गरेका छन् । भुकम्पका पछि घरहरुमा बस्न सक्ने अवस्था नरहेकाले शिक्षकहरु छात्राबासमा बस्ने गरेका हुन् । गोकुल मावि, जनकल्याण मावि लगायतका विद्यालयका छात्राबासमा शिक्षकहरु बस्ने गरेका छन् । विद्यार्थीहरु भने घण्टौ हिडेर विद्यालय आउँदा जाँदा ड्रप आउटको समस्या थपिएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल सरकारले सबै बालबालिकाहरुका लागि दिवा खाजा ब्यवस्था गरिएको बताउनु भयो । जिल्ला बाल भेलालाई उद्घाटन गर्दै गर्भ देखि नै बालबालिकाहरुको संरक्षण गर्ने गरी सरकारले ल्याएका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन विद्यालय तहमा बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको बताउनु भयो ।







