2026 August 18/ 08:32: 44am

मोतीराम तिमल्सिना
गोकुले, महाभारत

    दुर्गम क्षेत्र महाभारत सुगमता र प्रविधितर्फ अगाडि बढिरहँदा सम्भावना र चुनौती दुवै थपिएका छन् । प्रविधिका कारण बालबालिकाहरु उमेर नपुग्दै विवाह गर्न थालेका छन् भने स्थानीय तहबाटै नागरिकता, राहदानी उपलब्ध हुन थालेको छ ।
    २०७६ मंसिर ११ गते विद्यालयमा हाजिर भएकी गोकुले माध्यमिक विद्यालय महाभारत गाउँपालिका वडा नम्वर १ घर भई कक्षा १० मा अध्ययन गरिरहेकी १५ बर्षिया चेलिमाया जिम्बा मोबाईल फोनमा कुरा गरेकै आधारमा विवाह गरेर रौतहट पुगिन् । अभिभावकलाई समेत जानकारी नदिई चेलिमाया रौतहट पुगेको सूचना केहि दिन पछि मात्रै प्राप्त भयो । केहि दिन विद्यालय नआए पछि शिक्षकहरुले अभिभावकहरुसँग सोधखोज गरेपछि मात्रै चेलिमाया मोबाईल फोनमा भईरहने सम्पर्क र फेसबुकमा हुने कुराकानीले विवाह गर्ने उदेश्यले जानकारी विना भागेकी रहिछन् । उनले रोजेको केटा कुन उमेरको होे ? के ब्यवसाय गर्छन् ? विवाह पछि परिवार चलाउने योजना कस्तो छ ? कुनै जानकारी छैन । जानकारी विना हराउने बालिकाहरुको संख्या दिनकै थपिन थालेकोमा अभिभावक र शिक्षकहरु चिन्तित हुन थालेका छन् । 
    ‘अघिल्लो शैक्षिकमा विद्यालयमा अध्ययन गरिरहेका झण्डै १० जना बालिकाहरु विवाह गरेर गएका छन्’–प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले भन्नुभयो–‘चालु शैक्षिक सत्रको ७ महिना अर्थात कार्तिकसम्म ८ जना बालिकाहरु भागिसकेका छन् ।’ उमेर नपुगी विवाह गर्न नहुने कानुनी प्रावधानका बारेमा सचेतना कक्षामै संचालन गरिन्छ तर पनि बालिकाहरुलाई रोक्न नसकिएको प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले बताउनु भयो । विद्यालयमा भर्ना भएका ६ सय ६३ मध्ये १ सय ५० जति विद्यार्थीहरु ७ महिनामै पलायन भईसकेका छन् । पलायन भएका विद्यार्थीहरुको अवस्था बुझ्न अभिभावकको घर घरमा शिक्षक टोली पुग्ने क्रममा अभिभावकहरुले विभिन्न समस्या सुनाउने गरेको प्रअ तिमल्सिनाले बताउनु भयो । 
    ‘बालबालिकाहरु विद्यालय आईपुग्न तीन घण्टा भन्दा धेरै समय लाग्छ’–प्रअ तिमल्सिनाले भन्नुभयो–‘विद्यालय जान आउन समय अभावका कारण बीचमै अध्ययन छाड्ने गरेका छन् । विद्यालयमा छात्राबासको ब्यवस्थापन गर्न सकियो भने त्यो समस्या केहि हदसम्म रोकिन सक्छ ।’ त्यो मात्रै समस्या समाधानको उपाय नभएको बताउँदै प्रअ तिमल्सिनाले गरिबी, अशिक्षा, चेतनाको कमी, कानुनको सचेतना नहुँदा अभिभावकहरुले सन्तानले गरेका हरेक कुरामा सहमति जनाउनुको विकल्प नभएको बताउनु भयो । कक्षा ४ देखि कक्षा १० सम्मका बालबालिकाहरुका लागि छात्रावास आवश्यक छ । कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरुले  विवाह गर्ने क्रम रोकिएको छैन । बरु हरेक वर्ष मोबाईलको उपलब्धताले थपिएको छ । 
    अघिल्लो शैक्षिक सत्रमा कक्षा ७ अध्ययन गरिरहेकी १३ बर्षिया आश्मा श्रेष्ठले अध्ययन छाडेर विवाह गरिन् । सोहि वर्ष कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षिया संचमाया योञ्जन, कक्षा १० मा अध्ययन गर्ने १४ बर्षिया चमेलिमाया मोक्तानले विवाह गरे । उनिहरु लगायत झण्डै दर्जन बालिकाहरुले त्यहि उमेरको हाराहारीमा विवाह गरी १४ वर्षमै आमा बनेका छन् । चालु शैक्षिक सत्रमा कक्षा ९ मा अध्ययन गर्ने १४ बर्षिया सुकमाया योञ्जन, कक्षा १० मा अध्ययन गर्ने १५ बर्षिया सम्झना योञ्जन लगायत ८ जनाले विवाह गरेका छन् । शिक्षक दिलबहादुर जिम्बाका अनुसार कति बालिकाहरुले विवाह गरेर विद्यालय आउँदैनन् तथ्याङ्क नै राख्न नसकिएको बताउनु हुन्छ । 

सानैमा विवाह, अनि विदेश
    जनकल्याण आधारभुत विद्यालय बनखु वडा नम्वर ७ मा कार्यरत शिक्षिका दिलमाया लो भर्खर २० वर्षको पुग्नुभयो । उहाँ निजी श्रोत अन्र्तगत ५ हजार रुपैयाँ पारिश्रमिकमा कार्यरत हुनुुहुन्छ । उहाँकै काखमा ८ महिनाको बच्चा छ । बच्चा बोकेरै उहाँ दैनिक विद्यालय आउनुहुन्छ । उहाँका श्रीमान बैदेशिक रोजगारीमा गएर फर्किए लगत्तै विवाह भएको थियो । २० वर्ष नपुग्दै विवाह गरेर बच्चा जन्माउनु सोहि क्षेत्रमा समान्य विषय बन्ने गरेको छ । 
    सानैमा विवाह गर्नेहरु तथा अध्ययन छाड्नेहरुले उमेर बढाएर नागरिकता लिने र राहदानी बनाएर विदेश जाने गरेको इलाका प्रशासन कार्यालय बनखुका अधिकृत राममणी काफ्लेले बताउनु भयो । ‘केहि दिन अघि मात्रै आएर यहाँको परिस्थिति बुझ्दा कम उमेरलाई कागजी रुपमा बढाएर नागरिकता लिने र विदेश जाने गरेको पाएँ’–उहाँले भन्नु भयो–‘यसलाई रोक्न अभिभावक सचेत हुनु प¥यो भने जनप्रतिनिधि र सरोकारवाला निकायहरु सबैले जनचेतना बढाउनु प¥यो । विद्यालय छाड्ने र रोजगारका लागि जाने अधिकांशको उमेर पुगेको छैन । विदेश जान नमिले शहरी क्षेत्रमा श्रमका लागि आउने गरेको काफ्लेको अनुभव छ । नागरिकता लिन आउने ब्यक्तिहरुको उमेर नै नपुग्ने तर कागज मिलेपछि रोक्न नसक्ने उहाँले बताउनु भयो । 

‘ड्रप आउट’ ठुलो समस्या
    गोकुले माविमा मात्रै हैन महाभारत गाउँपालिका र अन्य विकट क्षेत्रका विद्यालयहरुका लागि विद्यार्थीहरु भर्ना भएर नियमित कक्षामा नआई अध्ययन छाड्ने प्रमुख समस्याका रुपमा देखिएको छ । बाल विवाह, अध्ययन छाडेर श्रममा संलग्न हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । गोकुले माविमा बार्षिक २ सय भन्दा धेरै विद्यार्थीहरु ड्रप आउट हुने गरेका छन् भने अन्य विद्यालयहरुमा पनि त्यो समस्या छ । पैसाका लागि मजदुरी गर्न जाने बालबालिकाहरुको संख्या पनि धेरै छ । आय आर्जनका काममा संलग्न हुन नसक्दा अभिभावकहरुले बालबालिकाहरुले विद्यालय तहमा रोक्न सकेका छैनन् । भौगोलिक विकटताको चरम अवस्थाबाट गुज्रिएको महाभारत सुगमता तिर जाँदै छ । सडक, शिक्षा, स्वास्थ्यसँगै रोजगार र विद्यार्थीहरुको नियमिततामा विशेष कार्यक्रम संचालन गर्ने अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो ।