2026 September 06/ 02:57: 59pm

    सहकारीमा पैसा राख्दा आजको दिन आउँछ भनेर कहिल्यै सोचेको थिइनँ । मेरो आँखामा त्यतिबेला एउटा मात्र कुरा थियो–बुढेसकाल । जीन्दगीभर दुःख गरियो । कमाइयो । घरपरिवार चलाइयो । आफ्नो आवश्यकता थाती राखेर केही रकम जोगाइयो । बुढेसकालमा शरीरले काम गर्न छोडेपछि कसैको मुख ताक्न नपरोस् भनेर पैसा बचत गरियो । त्यही सोचले बनेपाका तीनवटा सहकारीमा मैले बचत गरेँ ।
    आज फर्केर हेर्दा लाग्छ, मैले पैसा मात्रै राखेको रहेनछु । मैले आफ्नो भविष्य राखेको रहेछु ।  मैले संकटका बेला काम लागोस् भनेर राखेको थिएँ । भोलि बिरामी परेँ भने काम लागोस् भनेर राखेको थिएँ । घरमा अप्ठ्यारो आयो भने कसैसँग हात फैलाउन नपरोस् भनेर राखेको थिएँ । सबैभन्दा ठूलो कुरा, बुढेसकालको सहारा होस् भनेर राखेको थिएँ । हो, ब्याज आउने लोभ पनि थियो । बैंकमा राखेको भन्दा केही बढी ब्याज आउँछ भन्ने कुरा कसलाई मन पर्दैन र ? तर मेरो पैसा सहकारीमा जानुको मुख्य कारण ब्याज मात्रै थिएन । विश्वास थियो । आफन्तले विश्वास दिलाएका थिए । नजिकका मानिसले विश्वास दिलाएका थिए । आफ्नै समाजका मानिसले चलाएको संस्था हो भन्ने विश्वास थियो । सहकारी भनेको आफ्नै मान्छेहरूको संस्था हो भन्ने लाग्थ्यो । त्यही विश्वासमा मैले आफ्नो भएभरको पैसा सहकारीमा राखेँ ।
    आज कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छु–मैले गल्ती कहाँ गरेँ ? ब्याजको लोभ गर्नु गल्ती थियो ? आफ्नै मान्छेलाई विश्वास गर्नु गल्ती थियो ? भविष्यका लागि बचत गर्नु गल्ती थियो ? कि सहकारीलाई विश्वास गर्न सिकाउने यो समाज र प्रणालीमै समस्या थियो ? मसँग यी प्रश्नको उत्तर छैन । मसँग अहिले एउटा मात्र प्रश्न छ–मेरो पैसा कहाँ छ ? मैले कमाएको पैसा । मैले बचाएको पैसा । मैले बुढेसकालका लागि छुट्याएको पैसा । आज त्यो पैसा कागजमा होला । खातामा होला । सहकारीको हिसाबमा होला । तर मेरो हातमा छैन । र पैसा हातमा नहुँदा त्यसको मूल्य कागजमा लेखिएको अंकले बताउँदैन । मलाई थाहा छ, सहकारीमा पैसा राख्ने म मात्रै होइन । काभ्रेपलाञ्चोकमा म जस्ता हजारौँ छन् । कसैले छोराछोरी पढाउन पैसा राखेका थिए । कसैले घर बनाउन । कसैले व्यापार गर्न । कसैले छोरीको बिहेका लागि । कसैले उपचारका लागि । र म जस्तै धेरैले बुढेसकालका लागि । तर अहिले हाम्रो बचत नै हाम्रो चिन्ताको कारण बनेको छ ।
    म बैंकको ठूलो ग्राहक थिइनँ । सहकारी मेरो नजिक थियो । त्यहाँका मानिससँग चिनजान थियो  । कुरा गर्न सकिन्थ्यो । आफ्नो समस्या भन्न सकिन्थ्यो । आफन्त र नजिकका मानिस पनि जोडिएका थिए । त्यसैले मलाई सहकारी टाढाको संस्था जस्तो लागेन । आफ्नै घरको मान्छे जस्तो लाग्यो । मैले कागजका अक्षरभन्दा मान्छेको बोलीमा विश्वास गरेँ । ‘यहाँ पैसा सुरक्षित हुन्छ ।’ ‘चिन्ता गर्नुपर्दैन ।’ ‘आफ्नै संस्था हो ।’ यस्ता कुरा सुन्दा मैले पनि विश्वास गरेँ । आज त्यही विश्वास सम्झिँदा मन भारी हुन्छ । किनकी पैसा हराउँदा केवल पैसा हराएको हुँदैन रहेछ । विश्वास पनि हराउँदो रहेछ । कसैमाथि विश्वास गर्न डर लाग्दो रहेछ । आफन्तले भनेको कुरा पनि फेरि सोच्नुपर्ने रहेछ । सहकारीमा पैसा राख्ने निर्णय गर्दा मैले भविष्यको हिसाब गरेको थिएँ । तर सहकारीले मेरो भविष्यकै हिसाब बिगारिदिन्छ भन्ने सोचेको थिइनँ । अहिले काभ्रेको अवस्था हेर्दा म एक्लो पीडित रहेनछु भन्ने थाहा हुन्छ । जिल्लामा दर्ता भएका १ हजार ४ सय ९५ सहकारीमध्ये ८ सय ४९ को अवस्था अज्ञात रहेको तथ्यांक बाहिर आएको छ । ६४ वटा सहकारीको कार्यालय र बोर्डसमेत फेला नपरेको अवस्था रहेछ । यो तथ्यांक सुन्दा म झस्किन्छु । हामीले पैसा राखेका संस्था कति छन् ? तीमध्ये कति वास्तवमै सञ्चालनमा छन् ? कति संस्था कागजमा मात्र छन् ? कति सञ्चालक सम्पर्कमा छन् ? यी प्रश्नको जवाफ हामीले पैसा राख्दा खोजेका थिएनौँ । किनकी हामीलाई त्यतिबेला यस्तो दिन आउँछ भन्ने लागेको थिएन ।
    काभ्रेपलाञ्चोकमा सहकारीविरुद्ध उजुरी पर्ने क्रम बढिरहेको प्रदेश सहकारी विभागले भनेको रहेछ । उपत्यकापछि काभ्रे सहकारी उजुरीको ‘हटस्पट’ देखिएको विभागका अधिकारीहरूले भनिसके । मलाई यो सुन्दा दुःख लाग्छ । किनकी यो ‘हटस्पट’ भन्ने शब्दभित्र मेरो जस्तै हजारौँ मानिसको पीडा छ । कसैको जीवनभरको बचत । कसैको बुढेसकाल । कसैको छोराछोरीको भविष्य । कसैको व्यवसाय । कसैको घर । काभ्रेमा १६ वटा सहकारी डुबेको वा गम्भीर संकटमा परेको तथ्यांक छ । सम्झना फाइनान्सदेखि लक्ष्मी फाइनान्ससम्म । विनायक र अखण्डदेखि पुण्यश्वर र द्रौपदासम्म । सत्कार, एशियन स्टार, स्वर्णीम, गरुड, कान्तिपुर, युएम, युनिटी, अग्नि, पशुपति हुँदै मुकुलसम्म । नाम फरक छन् । तर पीडा एउटै छ । बचतकर्ताको पैसा फिर्ता आएको छैन । सहकारीमा समस्या आउन थालेपछि मैले अरूका कुरा पनि सुन्न थालेँ । पहिले आफ्नो बचतको मात्र चिन्ता थियो । पछि थाहा भयो–मजस्तै धेरै मानिस रहेछन् । कसैको लाखौँ छ । कसैको करोडौँ छ । कसैले सबै सम्पत्ति सहकारीमा राखेका रहेछन् । त्यसपछि मैले महसुस गरेँ–यो मेरो व्यक्तिगत समस्या मात्रै होइन रहेछ ।
    काभ्रेमै सहकारी ठगीका मुद्दामा १५० भन्दा बढी सञ्चालक तथा कर्मचारीविरुद्ध अभियोग दर्ता भएको तथ्यांक रहेछ । ५० भन्दा बढी पक्राउ परिसकेका छन् । १०० भन्दा बढी फरार रहेको बताइएको छ । कसैलाई प्रहरीले पक्राउ गरेको छ । कसैलाई अदालतले धरौटीमा छाडेको छ । कसैको खोजी भइरहेको छ । तर म आफैंलाई बारम्बार एउटा प्रश्न गर्छु, यति धेरै मानिस पक्राउ परेपछि पनि बचतकर्ताको पैसा कहाँ छ ? मलाई कसैलाई जेल पठाउनु पर्दैन भन्ने होइन । ठगी भएको छ भने कानुनअनुसार कारबाही हुनुपर्छ । दोषी छ भने सजाय हुनुपर्छ । तर मेरो जस्तो बचतकर्ताको समस्या त्यतिबेला समाधान हुन्छ, जब मेरो पैसा फिर्ता आउँछ । कसैलाई पक्राउ गरेको समाचार पढ्दा मेरो मनमा अर्को प्रश्न आउँछ– ‘अब हाम्रो पैसा आउँछ त ?’ कसैलाई धरौटीमा छोडिएको खबर आउँदा अर्को डर लाग्छ–‘हाम्रो पैसा झन् टाढा त जाँदैन ?’ कसैको सम्पत्ति रोक्का भएको समाचार आउँदा आशा पलाउँछ–‘सायद अब केही हुन्छ कि ?’ फेरि दिन बित्छ । महिना बित्छ । वर्ष बित्छ । पैसा आउँदैन ।
    काभ्रेको पुण्यश्वर सहकारीको कुरा सुन्दा पनि मेरो मन दुख्छ । त्यहाँ ७ हजारभन्दा बढी सदस्यको करोडौँ रुपैयाँ फिर्ता हुन बाँकी रहेको बताइएको छ । प्रबन्धक कुमार गौतममाथि पुण्यश्वरबाट करिब ९ करोड र द्रौपदाबाट करिब ५ करोड गरी १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । परिवारकै सदस्यहरू सहकारीका विभिन्न जिम्मेवारीमा रहेको विवरण पनि बाहिर आएको छ । यस्तो सुन्दा म एउटा कुरा सोच्न बाध्य हुन्छु–हामी बचतकर्ताले के हेर्नुपर्ने रहेछ ? सहकारीको बोर्ड ? सञ्चालकको अनुहार ? आफन्तको सम्बन्ध ? कि लेखापरीक्षणको कागज ? हामी साधारण मानिस हौँ । हामीले वित्तीय अपराधको अनुसन्धान गर्न सक्दैनौँ । हामीले सहकारीको भित्री कारोबार हेर्न सक्दैनौँ । हामीले कर्जा कसलाई दिइयो भनेर थाहा पाउँदैनौँ । त्यसैले त राज्यले नियमन गरिदिनुपर्छ । हामीले विश्वास गरेको संस्थामा राज्यको निगरानी छ भन्ने विश्वास हुनुपर्छ । तर आज मलाई त्यही विश्वासमाथि प्रश्न उठेको छ । 
    सहकारीमा पैसा फसेपछि मानिसलाई केवल आर्थिक समस्या हुँदो रहेनछ । मनमा पनि बोझ हुन्छ । हरेक दिन एउटै कुरा सम्झिन्छु । ‘पैसा कहिले आउला ?’ कहिलेकाहीँ लाग्छ–आउँछ होला । फेरि अर्को दिन कुनै सहकारीको समाचार आउँछ । कसैको सञ्चालक फरार । कसैको सम्पत्ति लिलामी । कसैको मुद्दा अदालतमा । कसैको सहकारीको कार्यालय बन्द । त्यसपछि मन फेरि भारी हुन्छ । मेरो उमेरमा नयाँबाट पैसा कमाएर पुरानो बचत पूर्ति गर्न सजिलो छैन । मैले पैसा बुढेसकालका लागि राखेको थिएँ । त्यसैले समय बित्दै जाँदा चिन्ता पनि बढ्छ । युवा हुँदा पैसा हरायो भने फेरि कमाउन सकिन्छ । तर बुढेसकालमा जीवनभर जोगाएको पैसा हरायो भने त्यसको ठाउँ भर्न सजिलो हुँदैन । म यही सोचेर डराउँछु । बिरामी परेँ भने ? अचानक ठूलो खर्च आयो भने ? परिवारमा संकट आयो भने ? मसँग भएको सहारा कहाँ छ ? मैले सुरक्षित भनेर राखेको पैसा नै अहिले असुरक्षित छ । यही मेरो सबैभन्दा ठूलो पीडा हो । काभ्रेको कान्तिपुर सहकारीको कुरा आउँदा पनि यही पीडा सम्झिन्छु । तत्कालीन अध्यक्ष सीबी लामामाथि करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । पैसा घरजग्गा, रिसोर्ट र कम्पनीलगायतमा लगानी गरिएको अनुसन्धानबाट खुलेको बताइएको छ । ८ अर्ब रुपैयाँ ! म त्यो रकमको आकार सोच्न पनि सक्दिनँ । तर त्यो ८ अर्बभित्र म जस्तै कति मानिसको बचत होला ? कसैको बुढेसकाल । कसैको छोरीको बिहे । कसैको छोराको पढाइ । कसैको घर । कसैको उपचार । कसैको जीवनभरको कमाइ । मलाई लाग्छ, सहकारीको हिसाबकिताबमा रकम करोड र अर्ब हुन्छ । तर बचतकर्ताको घरमा त्यो रकम सपना हुन्छ ।
    त्यसैले हाम्रो पीडा रकमको अंकले मात्र नाप्न सकिँदैन । सरकारले अब सहकारी नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको छ । अभिलेखीकरण गर्ने कुरा भएको छ । इजाजतको व्यवस्था भएको छ । कर्जा सूचना केन्द्रसँग जोडिने प्रक्रिया अघि बढेको छ । यी कुरा सुन्दा राम्रो लाग्छ । भोलिका दिनमा अरू हेमलालले यस्तो पीडा भोग्न नपरोस् । तर मेरो मनमा एउटा प्रश्न फेरि आउँछ–भोलि बचाउने व्यवस्था भयो, आज डुबेको पैसा कसरी बचाउने ? मलाई नयाँ नियमको विरोध छैन । बरु नयाँ नियम बलियो होस् भन्ने चाहन्छु । तर पुराना बचतकर्ताको समस्या पनि समाधान होस् । मैले धेरै कुरा सुनेँ । सहकारी समस्या समाधान हुन्छ भन्ने सुनेँ । पीडितको पैसा फिर्ता हुन्छ भन्ने सुनेँ । दोषीलाई कारबाही हुन्छ भन्ने सुनेँ । सरकार फेरियो । नयाँ सरकार आयो । नयाँ प्रतिबद्धता आयो । तर मेरो मनमा प्रश्न उस्तै छ । मेरो पैसा कहिले आउँछ ? मलाई राजनीति बुझ्न आवश्यक छैन । कुन पार्टी सरकारमा छ भन्ने कुराले मेरो बचत फिर्ता हुने दिन निर्धारण हुनु हुँदैन । मलाई चुनावको भाषण चाहिएको होइन । मलाई आश्वासन मात्र पनि चाहिएको होइन । मलाई मेरो पैसा चाहिएको हो ।
    मैले कसैसँग मागेको होइन । मैले कमाएको पैसा हो । मैले बचाएको पैसा हो । मैले विश्वास गरेर सहकारीमा राखेको पैसा हो । हो, म मान्छु–मैले ब्याजको आशा गरेको थिएँ । तर मैले ठगीको जोखिम स्वीकार गरेको थिइनँ । मैले आफन्त र नजिकका मानिसलाई विश्वास गरेको थिएँ । मैले कानुनमाथि विश्वास गरेको थिएँ । मैले सहकारी सञ्चालन गर्ने प्रणालीमाथि विश्वास गरेको थिएँ । त्यसैले आज मेरो प्रश्न सरकारसँग छ । हामीजस्ता बचतकर्ताको पैसा फिर्ता गराउने ठोस योजना के हो ? कहिलेसम्म ? कुन प्रक्रियाबाट ? कसको सम्पत्तिबाट ? कसको जिम्मेवारीमा ? कुन मितिसम्म ? हामीले अब अनुमान होइन, जवाफ चाहेका छौँ । मलाई थाहा छ, सबै पैसा तुरुन्तै फिर्ता ल्याउन सजिलो छैन । कानुनी प्रक्रिया छ । सम्पत्ति खोज्नुपर्छ । मुद्दा चलिरहेको छ । दोषी ठहर हुनुपर्छ । यी सबै प्रक्रिया छन् । तर पीडितलाई प्रक्रिया मात्र सुनाएर कति वर्ष पर्खाउने ? म बुढेसकालका लागि पैसा राखेको मान्छे हुँ । मसँग अनन्त समय छैन । यही कुरा सरकारले बुझिदिए हुन्थ्यो । काभ्रेका हजारौँ बचतकर्ताको अवस्था पनि यही हो । हामीलाई अपराधीलाई कारबाही भएको हेर्न मन छ । तर त्योभन्दा बढी आफ्नो बचत फिर्ता भएको हेर्न मन छ । हामीलाई सरकारको घोषणा सुन्न मन छ । तर त्यो घोषणापछि रकम खातामा आएको हेर्न मन छ । हामीलाई सहकारी नियमन भएको हेर्न मन छ । तर पुरानो बचत पनि सुरक्षित भएको महसुस गर्न मन छ । मेरो जीवनको अहिलेको सबैभन्दा ठूलो प्रश्न यही हो ।
    मैले बुढेसकालको सहारा भनेर राखेको पैसा कहाँ छ ? मैले संकटको सारथी भनेर राखेको पैसा कहिले मेरो साथमा आउँछ ? म कहिलेकाहीँ सोच्दछु— यदि मैले त्यही पैसा घरमै राखेको भए ? यदि बैंकमा राखेको भए ? यदि अरू कुनै ठाउँमा राखेको भए ? तर अब पछुताएर के गर्नु ? मैले विश्वास गरिसकेको छु । पैसा राखिसकेको छु । समस्या आइसकेको छ । अब मेरो हातमा एउटा कुरा मात्र छ—पर्खनु । तर म सधैँ पर्खिरहन सक्दिनँ । त्यसैले सरकारसँग मेरो अनुरोध होइन, प्रश्न छ । हामी बचतकर्ताको पैसा फिर्ता गराउने वास्तविक योजना कहिले आउँछ ? कानुनले दोषीलाई सजाय देओस् । सम्पत्ति खोजियोस् । रोक्का गरियोस् । लिलाम गरियोस् । जे गर्नुपर्छ गरियोस् । तर अन्तिम परिणाम बचतकर्ताको हातमा पुग्नुपर्छ । किनकी सहकारीको संकटको अन्तिम हिसाब सञ्चालक कति पक्राउ परे भन्ने होइन । बचतकर्ताले आफ्नो पैसा कति पाए भन्ने हो । 
    मैले बनेपाका तीनवटा सहकारीमा पैसा राखेको छु । बुढेसकालको साहाराका लागि । संकटको सारथीका लागि । मेरो भएभरको पैसा । आज त्यो पैसा मेरो साथमा छैन । मेरो हातमा छैन । मेरो सुरक्षामा छैन । तर मेरो आशा अझै बाँकी छ । सायद कुनै दिन त्यो पैसा फिर्ता आउला । सायद कुनै दिन फेरि आफ्नो बचतलाई सुरक्षित महसुस गर्न सकुँला । तर त्यो दिन कहिले आउँछ ? मलाई यही थाहा छैन । र मेरो सबैभन्दा ठूलो पीडा पनि यही हो । मैले पैसा गुमाएको मात्र होइन, मैले आफ्नो भविष्य पर्खिरहेको छु । अब सरकारले त्यो भविष्य कहिले फर्काइदिन्छ ? मलाई त्यही जवाफ चाहिएको छ । चुनावको नारा होइन । भाषण होइन । आश्वासन होइन । मेरो पैसा । 

हेमलाल दाहाल
विनायक, अखण्ड लगायतका सहकारीको बचतकर्ता
बनेपा, काभ्रे