2026 September 06/ 02:51: 11pm

    धुलिखेल/रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार र उपचारका लागि धुलिखेल अस्पतालको स्वास्थ्यकर्मी टोली रसुवा पुगेको छ । विपद्का बेला घाइते तथा प्रभावित नागरिकको तत्काल उद्धार, प्राथमिक उपचार र थप उपचारका लागि अस्पतालले जनशक्ति परिचालन गरेको हो ।
    भुकम्प, कोभिड महामारी, बाढी पहिरो, आगजनी, सडक दुर्घटना जस्ता विपद्मा धुलिखेल अस्पतालले नागरिकहरुका लागि पु¥याएको सेवा प्रभावकारी रहेको विरामीहरुले अनुभुति गरेका छन् । विपद् व्यवस्थापनसँगै सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर घाइतेको संख्या न्यूनीकरण गर्ने उद्देश्यले धुलिखेल अस्पतालमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टरलाई पनि अस्पतालले आफ्नो दीर्घकालीन स्वास्थ्य सेवाको महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाएको छ ।
    नेपालमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको तथ्यांकले देखाउँछ । सन् २०२४÷०२५ मा मात्रै देशभर २४ हजार ४ सय ८८ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा करिब ६ हजार नागरिक गम्भीर घाइते भएका छन् भने २ हजार ३ सय ७६ जनाले ज्यान गुमाएका छन् । औसतमा हेर्दा नेपालमा दैनिक पाँचदेखि छ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने अवस्था देखिन्छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिसँगै आर्थिक क्षति पनि ठूलो छ । उक्त अवधिमा दुर्घटनाका कारण ५६ अर्ब ४४ करोड ६१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको तथ्यांक छ । दुर्घटनामा घाइते भएकाको उपचारमा मात्रै करिब ६८ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाउँछ ।
    बढ्दो सडक दुर्घटना, विपद्का घटना र आकस्मिक उपचारको आवश्यकतालाई मध्यनजर गर्दै धुलिखेल अस्पतालले लामो समयदेखि समुदायस्तरमा सचेतना, प्राथमिक उपचार तथा आकस्मिक उपचार सेवामा जोड दिँदै आएको छ । अस्पतालको यही निरन्तर प्रयास, समुदायमा पु¥याएको स्वास्थ्य सेवा, व्यवस्थापन क्षमता र अस्पताल नेतृत्वप्रतिको विश्वासका कारण जापान सरकारले ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माणका लागि पूर्ण अनुदान उपलब्ध गराएको अस्पतालका हाड जोर्नी विभागका प्रमुख तथा ट्रमा इमरजेन्सी सेन्टरका फोकल पर्सन डा.दिपक श्रेष्ठले बताए । 

२०२७ जुलाईमा हस्तान्तरण गर्ने
    निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गरी २०२७ जुलाईमा भवन हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । नेपाल र जापानबीचको सम्बन्धको विशेष अवसर पारेर भवन हस्तान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । भवन हस्तान्तरणपछि तत्काल सेवा सञ्चालनमा ल्याउने अस्पतालको योजना छ । बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै देशका विभिन्न जिल्लाबाट दैनिक ठूलो संख्यामा मानिस धुलिखेल आउने गर्छन् । राजधानी काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी जिल्लासँग जोड्ने महत्वपूर्ण सडक सञ्जालको संगममा रहेको धुलिखेलमा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएपछि सडक दुर्घटना तथा विपद्बाट घाइते हुने नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
      विशेषगरी काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, काठमाडौं तथा अरनिको र बीपी राजमार्ग हुँदै आवतजावत गर्ने नागरिकका लागि यो केन्द्र महत्वपूर्ण बन्नेछ । विपद् पर्दा उद्धार र उपचारमा अग्रपंक्तिमा खटिने अस्पतालका लागि निर्माण भइरहेको यो संरचना सञ्चालनमा आएपछि नेपालमा ट्रमा उपचारको एउटा महत्वपूर्ण केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ । जापान सरकारको अनुदानमा निर्माण भइरहेको यो परियोजनाले नेपाल–जापान सहकार्यलाई स्वास्थ्य पूर्वाधारसँग जोड्नुका साथै सडक दुर्घटना र विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणमा दीर्घकालीन योगदान पु¥याउने विश्वास गरिएको छ ।