2026 September 06/ 02:50: 50pm

    धुलिखेल÷२०८३ भदौ १० गते भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको बाढीपछि काभ्रेबाट कामको सिलसिला तथा भ्रमणका क्रममा रसुवा र नुवाकोट पुगेका ४५ जना सम्पर्कविहीन छन् । सम्पर्क विहिन भएकाहरु मध्ये दुई जनाको शव प्राप्त भएको छ । 
    पाँचखालका दिलबहादुर कायश्थ र रोशीका शंखबुद्ध लामाको शव प्राप्त भएको प्रशासनले जानकारी दिएको छ । पाँचखाल–६ तिनपिप्ले निवासी दिलकुमार कायस्थ मानसरोवर जाने तीर्थयात्री लिएर गएका थिए । उनिसँगै गएका तीर्थयात्रीहरु अझै सम्पर्कमा छैनन । सम्पर्कविहीन हुनेमा चालक, सहचालक, हाइड्रोपावरमा कार्यरत कर्मचारी, ट्रेकिङ गाइड, होटल व्यवसायी, व्यापारी तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरू रहेका छन् । शव प्राप्त भएका रोशी–९ मंगलटारका शंखबुद्ध तामाङ होटल व्यवसायका सिलसिलामा त्यहाँ पुगेका थिए । सम्पर्क विहिन भएका ब्यक्तिका आफन्तहरुले तत्काल खोज र उद्धारका लागि सरकारसँग अनुरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, पािलका तथा वडाहरुले पनि सम्पर्क विहिन भएकाहरुको खोजविनमा तदारुकता देखाउने निश्कर्ष निकालेका छन् । 
    भुम्लु–१ दोलालघाटका महेश पन्त मानसरोवर जाने तीर्थयात्री लिएर गएको उल्लेख छ । त्यस्तै चौरीदेउराली–५ का हेमन्त चौलागाईं काब्य बिजनेस क्यारिङको काममा, पनौती–५ का दिनेश श्रेष्ठ व्यापारका क्रममा त्यहाँ पुगेका थिए । त्यसैगरी बनेपा–९ का उद्धव सापकोटा भेन चालक, तेमाल–६ का सुमन तामाङ ट्रेकिङ गाइड तथा सोही स्थानका मिलन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ र ज्ञानबहादुर राना मगर पनि सम्पर्कविहीन सूचीमा छन् । चौरीदेउराली–७ माइती भएकी सम्झना मोक्तान पतिसँगै गएको विवरण प्रशासनमा टिपाइएको छ ।
    सूचीमा बनेपा–१० का बालकृष्ण रञ्जित डब्बा भेन चालक, सिताराम श्रेष्ठ चालक, रिकेश बस्नेत सहचालक तथा धुलिखेल–८ का महेश तामाङ पनि रहेका छन् । धुलिखेल–२ का उद्धव न्यौपाने सान्जेन हाइड्रो कम्पनीमा कार्यरत रहेको, बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन त्रिशूली बजारमा होटल व्यवसाय गर्दै आएको तथा सोही स्थानका आइते तामाङ हाइड्रोपावरमा कार्यरत रहेको विवरण छ । बनेपा–८ का एगेश श्रेष्ठ स्कर्पियो चालक, चौरीदेउराली–२ हाल कलंकी बस्ने राजेन्द्र प्रधान क्लासिकटेकको सामान लिन गएको तथा सिपाघाट ठेगाना भई हाल धुलिखेल बस्ने रामशरण तिमल्सिना घट्टेखोला आसपासबाट सम्पर्कविहीन भएको जनाइएको छ । 
    धुलिखेल–२ का संगम चौलागाईं लाङटाङ खोला हाइड्रो कम्पनीमा सब–इन्जिनियर, तेमाल–७ का विशाल तामाङ अपर हाइड्रोपावरमा स्काभेटर चालक तथा पनौती–३ का अच्युतम सापकोटा रसुवा भन्सारमा सामान क्यारी गर्ने काममा संलग्न रहेको विवरण प्रशासनमा पुगेको छ । त्यस्तै भुम्लु–१ रिठ्ठेठेका मिलन श्रेष्ठ भन्सार छुट भएको जानकारी गराउँदै अन्तिमपटक घरमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ। बनेपाका आषिष गुभाजु, तेमाल–८ का गणेश लामा, पाँचखाल–१२ का मिलन खरेल, बनेपा–१० का प्रल्हाद गिरी र भुम्लु–१ रिठ्ठेका प्रकाश श्रेष्ठ पनि सूचीमा छन् । बनेपा–८ का भोगेन्द्रकुमार खत्री मेलुङ स्थित अपर त्रिशुली हाईड्रोपावर प्राजेक्टमामा कार्यरत रहेको, धुलिखेल नगरपालिका–२ का सुकुमान तामाङ हाइड्रोपावरमा कार्यरत तथा सोही स्थानका विकास तामाङ पनि सम्पर्कविहीन सूचीमा रहेको प्रशासनले जनाएको छ ।
    धुलिखेल नगरपालिका–२ का राजु थापा कन्टेनर लिएर गएको, भुम्लु–५ जोरपिपलका राजकुमार रिजाल स्कार्पियो चालक, बनेपा–१३ साँगाकी प्रकृति डङ्गोल त्रिशूली बट्टारस्थित माइत गएको र त्यसपछि सम्पर्कमा नआएको विवरण छ । त्यसैगरी पाँचखाल–१२ का राजकुमार गौतम क्यारीको काम गर्ने, मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ कामको सिलसिलामा गएको तथा पनौती–९ का अर्जुन खत्री केसी भेन चालक रहेको प्रशासनमा टिपाइएको विवरणमा उल्लेख छ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा प्राप्त विवरणमा थपघट हुन सक्ने भएकाले प्रशासनले सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न सम्बन्धित परिवार तथा निकायसँग समन्वय गरिरहेको छ । 
    धुलिखेल नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका १८ वर्षीय मनिष भुजेल पनि सम्पर्क विहिन छन् । पासाङ ल्हामु ट्राभल्स मार्फत गोसाइँकुण्ड यात्रामा गएको र हालसम्म परिवार तथा आफन्तको सम्पर्क बिहिन भएकोले सम्पर्कका लागि आफन्तले वडा कार्यालय र प्रशासनमा जानकारी गराएको वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । त्यस्तै काठमाडौ विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत समीर पौडेल, सृष्टि बास्तोला, शिशिर गिरी इन्टनसिपमा गएका थिए । त्रिशुली थ्री बी हाईड्रोको प्रोजेक्ट साईट तथा फिल्ड अफिस पुरिएको तथा बगेको हुनाले भग्नावशेष समेत हालसम्म भेटिएको छैन । तीन विद्यार्थी सोहि प्रोजेक्टमा इन्टर्नसिपमा कार्यरत थिए । हाल बेपत्ता छन् । त्यस्तै स्कुल अफ लमा अध्ययनरत विद्यार्थी मनिल कायश्थ त्रिशुली बजारबाट सोहि दिन विहान ८.३० देखि सम्पर्क विहिन भएका छन् ।