
सरोज अधिकारी
युवा व्यवसायी
प्रोपाइटर
काभ्रे फ्लेक्स प्रिन्ट
१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
पत्रकारिताकाकै सेरोफेरोमा दिनहरु अघि बढ्दै छन् । बेथाञ्चोक साप्ताहिकको प्रकाशन सम्पादन अनि घुमघामको याम पनि छ । अलिअली घुम्नै प¥यो । आफ्नो व्यवसाय त छँदैछ ।
२) पत्रकारिता कसरी अगाडि बढ्दै छ ?
बेथाञ्चोक साप्ताहिकको प्रकाशन सम्पादनमा व्यस्त हुन्छु । रिपोर्टिङमा पनि जान्छु । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको जिल्ला कार्यसमितिमा पनि भएको कारण कार्यसमितिले गरेका विभिन्न गतिविधिमा सक्रिय सहभागी हुन्छु ।
३) पत्रकारिता र ब्यवसाय, समन्वय कसरी गर्नुहुन्छ ? समय व्यवस्थापनमा समस्या हुन्न र ?
मुलतः म पत्रकारितामै हुर्के बढेको हो । २०६८ सालदेखि नै म यो क्षेत्रमा होमिएको हुँ । रह्यो सवाल व्यवसायको । मेरो व्यवसाय पनि प्रकाशन, विज्ञापनकै एक पाटो हो । ज्यादात्तर समय पत्रकारिता र बचेको समय व्यवसायमा लागाएको हुँ । समय त अझै पनि बाँकी रहन्छ । अरु पनि काम गर्न समय छ मसँग ।
४) पछिल्लो समयमा पत्रकारहरु पत्रकारितासँग सँगै अन्य व्यवसायमा लाग्ने क्रम बढ्दो छ किन होला ?
व्यवसायिक पत्रकारिताको कुरा गरे पनि अझै यसले सोचे अनुरुपको व्यवसायिकता हाँसिल गरेको छैन । काभ्रेको बजार सानै छ । पत्रकारिता सँगै बँचेको समयमा अरु काम पनि गरेर स्वाबलम्बी हुनु निक्कै राम्रो कुरा हो झै लाग्छ मलाई किनकी पेशागत मर्यादा नि रहन्छ । अनि पत्रकारिताकै आडमा कोही कसैसँग आश गर्नु पर्दैन ।
५) तपाईको ब्यवसायको शुरुवात कसरी भयो ? तपाईंले दिने सुविधा के कस्ता हुन् ?
पत्रकारिताबाट बँचेको समय सही सदुपयोग गरौं भन्ने अभिप्रायले हामीले विशेषतः फ्लेक्स, भेनाइल, रिफ्लेक्ट, फोटो प्रिन्टको व्यवसायलाई प्राथमिकता दिएका हौँ । चाहेजस्तो गुणस्तर ग्राहकको अधिकार हो । त्यसको सम्मान गर्दै काभ्रेकै प्रविधिसम्पन्न मेशिन भित्र्याएका हौँ । हामी गुणस्तरमा सर्वोत्कृष्टता दिने जमर्कोसहित काम गरिरहेका छौं ।
६) तपाईको व्यवसायमा कत्तिको प्रतिस्पर्धा छ ? ब्यवसायको छनौट सम्भावना हेरेर कि आवश्यकता देखेर ?
व्यवसायमा प्रतिस्पर्धा भए नै ग्राहकले मुल्य र गुणस्तरमा सुविधा पाउने हुन । प्रतिस्पर्धा हुनुपर्छ । तर, हाम्रो प्रतिस्पर्धा हामीसँगै छ । क्वालिटीमा, टाइमिङमा, डिजाइनिङमा । व्यवसायको छनोट सम्भावना भन्दा पनि गुणस्तरीयताको आवश्यकता देखेरै हो ।
७) युवाहरु स्वरोजगार बन्ने क्रम बढ्दो छ, ब्यवसायी बाँच्ने अवस्था कत्तिको छ ?
अति राम्रो प्रश्न । पहिले जस्तो राजनीतिक अस्थिरता छैन । बन्द हड्ताल पनि छैन । हामीसँग स्थायी सरकार छ । लगानीको उत्साहजनक वातावरण छ । अबको युग लगानीको हो । समृद्ध र सुखी नेपालीको नारा विस्तारै सार्थक छ । युवाहरु लागि ढुक्क भएर लगानी गर्ने समय आएको छ ।
८) युवाहरु बिदेशिनुको क्रम बढ्नु देशमा रोजगारीको अवस्था कम या लगानीप्रतिको अविश्वास ?
पछिल्ला तथ्यांक हेर्दा युवा विदेशिने क्रममा केही सुस्ताएको छ । लगानीको वातावरण र विश्वास बढेको छ । सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । अब केही वर्ष पछि यो प्रश्न नै रहन्न झै लाग्छ । आशावादी रहौं ।
९) बढ्दो सामाजिक सञ्जालको प्रयोग र युवाहरुको विकृति किन बढेको होला ?
यसलाई फरक ढंगबाट बुझौं । चक्कु उत्पादक कम्पनीले चक्कु दैनिकी सहजताको लागि उत्पादन गरेको हो । न कि काटमारका लागि । यस्तै हो सामाजिक सञ्जाल पनि । तर, अब राज्यले एउटा नीति ल्याउँदै छ । आशा गरौँ । यसले तमाम विकृति किनारा लाग्दै जाला ।
१०) अन्त्यमा.....
कर्म गरौँ ।