मेरो जन्म कैलालीको टिकापुरमा भएको हो । यो मेरो मात्रै भोगाई होइन । त्यो केवल मेरो कथा होइन । म जस्तै हजारौँ बालबालिकाको कथा हो । जसले जन्मदेखि नै संघर्षलाई साथी बनाएर बाँच्न सिक्नुपरेको छ । यो कथा एउटा दलित परिवारकी छोरीको कथा हो । एउटा अपाङ्गता भएकी बालिकाको कथा हो । एउटा यस्तो बच्चाको कथा हो, जसले धेरैपटक आफूलाई समाजभन्दा पछि परेको महसुस ग¥यो, तर अन्ततः आशा हराउन चाहिँ दिएन ।
म जन्मिँदा मेरा दुवै खुट्टा बाङ्गा थिए । म संसारमा आएको दिन आमाबुबाले अरू अभिभावकले जस्तै खुसी मनाउनुभएको थियो होला । तर त्यो खुसीसँगै एउटा ठूलो चिन्ता पनि जन्मिएको थियो । छोरीको खुट्टा किन यस्तो भयो ? अब यसको भविष्य के हुन्छ ? यो हिँड्न सक्ने कि नसक्ने ? यस्ता अनेक प्रश्नले उहाँहरूको मन भरिएको रहेछ । हाम्रो परिवार धनी थिएन । बुबाआमा दैनिक जीवन चलाउनकै लागि संघर्ष गरिरहनुहुन्थ्यो । गाउँमा उपचारका बारेमा धेरै जानकारी थिएन । कसैले अस्पताल लैजानुपर्छ भन्थ्यो, कसैले भाग्यको खेल हो भन्थ्यो । कसैले यस्ती छोरी त घरमै बस्छे पनि भनेको आमाले पछि सुनाउनुभएको थियो । सायद त्यतिबेला कसैले मेरो भविष्य देखेको थिएन । सबैले मेरो खुट्टा मात्रै देखेका थिए ।
म सानैदेखि फरक थिएँ । जब म हिँड्न सिक्ने उमेरमा पुगेँ, तब घरका मानिसहरूले अरू बच्चाहरूको जस्तो मेरो यात्रा सहज नभएको महसुस गरे । एक–एक पाइला चाल्न मलाई निकै गाह्रो हुन्थ्यो । लड्थेँ, उठ्थेँ, फेरि लड्थेँ । कतिपय दिन घुँडामा घाउ हुन्थ्यो । कतिपय दिन शरीर दुखेर रातभर निद्रा लाग्दैनथ्यो । तर त्योभन्दा बढी दुख्ने कुरा शरीरको पीडा थिएन । मानिसका शब्दहरू थिए । मलाई अझै याद छ, म सानो हुँदा गाउँका केही मानिसले मलाई देखेर फुसफुसाउँथे । बिचरी । यसको जीवन त गाह्रो हुने भयो । के गर्न सकिन्छ र अब ? त्यो बेला म ती शब्दहरूको अर्थ पूर्ण रूपमा बुझ्दिनथेँ । तर ती शब्दभित्र लुकेको दया, निराशा र अस्वीकारको भाव भने महसुस गर्थेँ । जब म विद्यालय जान थालेँ, तब जीवनले अर्को पाठ पढाउन थाल्यो ।
विद्यालय मेरो लागि संसारकै सुन्दर ठाउँ थियो । मलाई पढ्न मन पथ्र्यो । नयाँ अक्षर सिक्न, कविता घोक्न, चित्र बनाउन, कथा पढ्न मलाई धेरै रमाइलो लाग्थ्यो । तर विद्यालय जाने बाटो मेरो लागि एउटा परीक्षा जस्तै थियो । अरू साथीहरू दौडिँदै विद्यालय पुग्थे । म भने बिस्तारै हिँड्थेँ । उनीहरू खेल मैदानमा रमाइरहेका हुन्थे । म कुनामा बसेर हेर्थेँ । कहिलेकाहीँ साथीहरूले नराम्रो नियतले होइन, बालसुलभ अज्ञानताले मेरो हिँडाइको नक्कल गर्थे । उनीहरू हाँस्थे । अरू पनि हाँस्थे। म पनि जबरजस्ती हाँसेजस्तो गर्थेँ । तर घर फर्केर एक्लै हुँदा रोइरहेको हुन्थेँ । म धेरैपटक सोच्थेँ–यदि मेरा खुट्टा पनि अरूजस्तै हुन्थे भने ? तर जीवनले यदिको उत्तर कहिल्यै दिँदैन । म दलित परिवारकी छोरी पनि थिएँ । त्यसैले कहिलेकाहीँ मलाई लाग्थ्यो, समाजले मलाई दुईवटा आँखाले होइन, चारवटा आँखाले हेरिरहेको छ । एउटा नजर मेरो जातमाथि थियो, अर्को मेरो अपाङ्गतामाथि ।
कतिपय ठाउँमा मानिसहरूले प्रत्यक्ष केही नभने पनि उनीहरूको व्यवहारले धेरै कुरा भनिरहेको हुन्थ्यो । गरिब परिवार, दलित समुदाय र अपाङ्गता–यी तीन शब्दले मेरो जीवनलाई अरूभन्दा बढी कठिन बनाइदिएका थिए । तर मेरी आमाले कहिल्यै हार मान्नुभएन । उहाँ सधैँ भन्नुहुन्थ्यो, छोरी, तेरो खुट्टा कमजोर होला, तर तेरो मन कमजोर हुनु हुँदैन । त्यो वाक्य मैले जीवनभर बिर्सिनँ । समय बित्दै गयो । म हुर्कँदै गएँ । मेरो समस्या पनि बढ्दै गयो । शरीर ठूलो हुँदै जाँदा हिँड्डुल झन् कठिन हुँदै गयो । पढाईमा राम्रो गर्न चाहन्थेँ, तर कहिलेकाहीँ शरीरले साथ दिँदैनथ्यो । यस्तै क्रममा हाम्रो परिवारले बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको बारेमा थाहा पायो । त्यो समाचार हाम्रो परिवारका लागि अँध्यारो कोठामा खुलेको झ्याल जस्तै थियो ।
उपचार हुन सक्छ । यो वाक्य सुन्दा आमाको आँखाबाट आँसु झरेको थियो । मेरो पनि मनमा पहिलोपटक एउटा नयाँ सपना पलायो । सायद म अझ राम्रोसँग हिँड्न सकूँला । सायद मेरो जीवन बदलिन सक्ला । कैलालीदेखि बनेपासम्मको यात्रा सजिलो थिएन । लामो बस यात्रा थियो । बाटोभरी म झ्यालबाट बाहिर हेर्दै बसेकी थिएँ । मनमा अनेक प्रश्न थिए । डाक्टरले के भन्लान् ? उपचार सफल होला ? म निको हुन्छु ? तर सबैभन्दा ठूलो चिन्ता एउटा थियो, मेरो पढाई के हुन्छ ? मलाई पढाइ छोड्नु थिएन । मलाई विद्यालय मन पथ्र्यो । मलाई सपना देख्न मन पथ्र्यो । अस्पताल पुगेपछि चिकित्सकहरूले जाँच गर्नुभयो । धेरै कुरा बुझाउनुभयो । उपचार सम्भव रहेको बताउनुभयो । त्यो सुन्दा मलाई संसार जिते जस्तो लाग्यो । तर केही क्षणपछि अर्को कुरा सुनियो, केही महिना अस्पतालमै बस्नुपर्छ । मेरो अनुहार एकाएक मलिन भयो ।
मैले तुरुन्तै पढाइ सम्झिएँ । मेरा साथीहरू सम्झिएँ । मेरो विद्यालय सम्झिएँ । मैले मनमनै सोचेँ, अब म पछाडि परेँ । त्यो रात अस्पतालको बेडमा म धेरै बेरसम्म जागा बसेँ । झ्यालबाट बाहिर हेरेँ । आफ्नो जीवनबारे सोचिरहेँ । उपचारका लागि आएको थिएँ, तर मन पढाइ छुट्ने डरले भरिएको थियो । तर भोलिपल्ट मेरो जीवनको सबैभन्दा सुन्दर दिनमध्ये एक बन्यो । कसैले मलाई अस्पतालभित्रै रहेको विद्यालय देखायो । पहिला त मैले पत्याइनँ । अस्पतालभित्र विद्यालय ? उपचार गराइरहेका बालबालिकाका लागि छुट्टै कक्षा ? जब म कक्षाकोठाभित्र छिरेँ, मेरो मन भरियो । त्यहाँ म जस्तै धेरै बालबालिका थिए । कोही व्हीलचेयरमा थिए । कोही बैसाखीको सहारामा थिए । कोही दृष्टिविहीन थिए । कोही शल्यक्रियापछि उपचार गराइरहेका थिए । तर त्यहाँ कसैको परिचय उसको अपाङ्गताले दिइएको थिएन ।
सबै विद्यार्थी थिए । सबै सपनाका यात्रु थिए । त्यो दृश्यले मलाई गहिरो रूपमा छोयो । मैले पहिलोपटक महसुस गरेँ–हामीलाई पनि कसैले बराबरीको अधिकारसहित हेर्ने रहेछ । शिक्षिका नारायणी अधिकारी म्यामसँग पहिलो भेट अझै सम्झिन्छु । उहाँले मुस्कुराउँदै भन्नुभयो, पढाइ छुट्दैन, ढुक्क हुनु । त्यो एउटा वाक्यले मेरो मनको सबैभन्दा ठूलो बोझ हल्का बनाइदियो । मलाई लाग्यो, कसैले मेरो डर बुझिदिएको छ । अस्पतालमा मेरो दिनचर्या बिल्कुलै फरक थियो । बिहान कक्षा हुन्थ्यो । त्यसपछि थेरापी । कहिले ड्रेसिङ । कहिले डाक्टरसँग परामर्श । फेरि गृहकार्य । फेरि पढाई । उपचार र शिक्षा एउटै यात्राका दुई पाटा जस्तै थिए । यहाँ आएपछि मैले एउटा कुरा बुझें–स्वास्थ्य र शिक्षा अलग कुरा होइनन् । दुवै अधिकार हुन् । यदि बच्चाको उपचार भयो तर शिक्षा छुट्यो भने उसको भविष्य अधुरो हुन्छ । यदि पढाई भयो तर स्वास्थ्य सुधार भएन भने उसको सम्भावना सीमित हुन्छ ।
यो अस्पतालले दुवै कुरा एकैसाथ सम्भव बनाएको छ । मलाई अझै आश्चर्य लाग्छ, शिक्षकहरू कति समर्पित हुनुहुन्छ । कहिलेकाहीँ केही साथीहरू उपचारका कारण कक्षामा आउन सक्दैनथे । तर शिक्षकहरू आफैं बेडसम्म पुगेर पढाउनुहुन्थ्यो । ओछ्यानमै पाठ सिकाइन्थ्यो । कापी जाँचिन्थ्यो । गृहकार्य गराइन्थ्यो । त्यो देख्दा मलाई लाग्थ्यो–शिक्षा साँच्चै अधिकार रहेछ, सुविधा मात्र होइन । यहाँ आएपछि मैले धेरै साथीहरूको कथा पनि सुनेँ । कसैको दुर्घटनामा खुट्टा बिग्रिएको थियो । कसैको जन्मजात समस्या थियो । कसैले परिवार गुमाएका थिए । कसैले गरिबीसँग लडिरहेका थिए । त्यो बेला मैले महसुस गरेँ, संसारमा मेरो पीडा मात्रै ठूलो छैन । तर हामी सबैलाई जोड्ने कुरा एउटा थियो, आशा । अस्पतालका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको माया कहिल्यै बिर्सन सक्दिनँ ।
कहिलेकाहीँ उपचार धेरै पीडादायी हुन्थ्यो । थेरापी गर्दा आँसु आउँथ्यो । शल्यक्रियाको नाम सुन्दा डर लाग्थ्यो । तर त्यही बेला कसैले ढाडस दिन्थ्यो । कसैले मुस्कुराएर हौसला दिन्थ्यो । कसैले तिमी सक्छौ भन्थ्यो । र म फेरि बलियो बन्थेँ । मलाई लाग्छ, अस्पतालले मेरो खुट्टाको मात्र उपचार गरेको छैन । उसले मेरो आत्मविश्वासको पनि उपचार गरेको छ । आज म भविष्यलाई पहिलेभन्दा फरक आँखाले हेर्छु । पहिले म आफूलाई कमजोर ठान्थेँ । आज म आफूलाई संघर्षशील ठान्छु । पहिले म आफ्ना सीमितता देख्थेँ । आज म आफ्ना सम्भावना देख्छु । मलाई लाग्छ, राज्यले यस्ता संस्थालाई अझ धेरै सहयोग गर्नुपर्छ । किनकि गाउँका कुनाकाप्चामा म जस्तै हजारौँ बालबालिका अझै छन् । उनीहरू उपचारको प्रतीक्षामा छन् । उनीहरू अवसरको प्रतीक्षामा छन् । उनीहरू सम्मानको प्रतीक्षामा छन् । गरिब, दलित, अपाङ्गता भएका बालबालिकाका लागि राज्यको उपस्थिति अझ बढी आवश्यक हुन्छ । किनकी समान अधिकार घोषणा गरेर मात्र पुग्दैन । त्यो अधिकार उनीहरूको जीवनसम्म पु¥याउनुपर्छ । आज म उपचार गराइरहेकी छु । पढाइ गरिरहेकी छु । सपना देखिरहेकी छु । र जीवनसँग हार नमान्ने बाचा गरिरहेकी छु । यदि कसैले मलाई आज सोध्यो भने, तिम्रो सबैभन्दा ठूलो उपलब्धि के हो ? म भन्छु, म अझै सपना देख्न छोडेकी छैन । किनकी मेरा खुट्टा जन्मिँदा बाङ्गा थिए । तर मेरा सपना कहिल्यै बाङ्गा थिएनन् । र आज ती सपनाले नै मलाई हरेक दिन अगाडि बढ्न सिकाइरहेका छन् ।
उर्मिला विश्वकर्मा
कैलाली टिकापुर
हालः बनेपा, काभ्रे









