2026 April 12/ 03:00: 33am

    सरकारी कागजमा सुगम भनेर चिनिएको त्यो पालिका । प्रतिवेदनहरूमा यहाँ विकास पुगेको भनिन्छ । सडक छ, बिजुली छ, विद्यालय छ, स्वास्थ्य चौकी छ । सबै सूचकहरू हरियो देखिन्छन् । तर, जीवन कागज जस्तो हुँदैन । यो कुरा मैले धेरै ढिला बुझें । पहिल्यैदेखि मलाई लाग्थ्यो सुगम शब्द कागजमा मात्र बस्छ, जीवनमा होइन । बिहानको घाम जब पहाडका टुप्पाहरूमा पर्छ, गाउँ सुनौलो देखिन्छ । हावामा हल्का चिसोपन हुन्छ । टाढा गाईबस्तुको घण्टी बजिरहेको सुनिन्छ । त्यही आँगनमा उभिएर रमेश एकटक आकाश हेर्छन् । उनको आँखा खाली छ, जस्तो आकाश खाली छ । कस्तो अचम्म, उनी मनमनै भन्छन्, यति उज्यालो छ वरिपरी, तर मेरो जीवन किन यति अन्धकार भयो ? उनको घर सानो छ माटोको भित्तो, टिनको छानो । 
    एक समय यो घर हाँसोले भरिएको थियो । आज–सुनसान छ । चुलो छ, तर आगो छैन । ओछ्यान छ, तर न्यानोपन छैन । घर छ, तर जीवन छैन । रमेशलाई थाहा छ, यो अवस्था एकैदिनमा आएको होइन । यो धेरै वर्षको सङ्घर्ष, आशा, र अन्ततः विफलताको परिणाम हो । तर कथा यहाँबाट सुरु हुँदैन । कथा सुरु हुन्छ, जहाँ सबै ठीक थियो । माया उनको श्रीमती । नाम जस्तै, उनी जीवनमा माया नै थिइन् । बिहान सबेरै उठ्ने उनको बानी थियो । घाम नउदाउँदै चुल्हो बाल्थिन् । धुवाँले भरिएको भान्सामा उनी खोक्थिन्, तर कहिल्यै गुनासो गर्दिनन् । रमेश, चिया खाऊ, उनी हरेक बिहान भन्थिन् । रमेश बाहिर आँगनमा पानी हाल्दै हुन्थे । अलि पर्ख, काम सकिन्छ, उनी जवाफ दिन्थे । त्यो संवाद वर्षौंसम्म दोहोरियो । साधारण, तर स्थिर । साना शब्दहरू, तर गहिरो सम्बन्ध । माया कहिल्यै ठूलो सपना देख्दिनथिन् । उनको सपना सानो थियो, घरमा सबै स्वस्थ होउन्, छोराहरू राम्रो पढून्, बेलुका सबैसँगै बसून् । एकदिन बेलुका रमेश खेतबाट फर्किए । थकित, पसिनाले निथ्रुक्क । माया ढोकामा उभिएकी थिइन् । आज धेरै ढिलो भयो, उनले भनिन् । काम धेरै थियो, रमेशले जुत्ता खोल्दै भने । मायाले पानी ल्याइन् । हातमुख धोऊ, म खाना तयार गर्छु । त्यो क्षण–साधारण थियो । तर आज सम्झँदा, रमेशको आँखामा आँसु आउँछ । किनकी त्यो जीवन अब छैन । 
    रमेश र मायाका दुई छोरा थिए, सन्दीप र रोशन । सन्दीप जेठो । गम्भीर अनि जिम्मेवार । रोशन कान्छो । अलि चञ्चल, तर मनले कोमल । रमेशले धेरै दुःख गरेर उनीहरूलाई पढाए । खेतमा काम गरेर, ऋण लिएर, कहिलेकाहीँ भोकै बसेर पनि । एकदिन सन्दीपले बुबालाई भने, बाबा, म विदेश जान्छु । रमेश चुप लागे । माया भान्साबाट बाहिर आइन् । किन ? उनले सोधिन् । यहाँ केही छैन, आमा, सन्दीपले भन्यो, म कमाएर तपाईंहरूलाई सुख दिन्छु । त्यो वाक्य सुन्दा रमेशको मन गर्वले भरियो, तर कतै गहिराइमा एउटा डर पनि थियो । विदेश सजिलो हुँदैन, बाबु, उनले भने । म सहन्छु, सन्दीपले दृढ स्वरमा भन्यो । रोशन पनि पछि परेन, म पनि जान्छु । मायाले दुवैलाई हेरिन् । उनको आँखामा खुशी र चिन्ता दुवै थिए । त्यो रात उनीहरू धेरै बेर सुत्न सकेनन् । हामीले ठीक ग¥यौं ? मायाले बिस्तारै सोधिन् । सपना रोकिन्न रमेशले भने, सायद यही नै बाटो हो । तर त्यो बाटो कहाँ पुग्ने थियो, उनीहरूलाई थाहा थिएन ।
    सन्दीप कतार गयो । रोशन मलेसिया । पहिलो केही महिना सबै ठीक लाग्यो । पैसा आयो । घरमा नयाँ टिनको छानो हालियो । पुरानो ओछ्यान फालेर नयाँ किनियो । माया खुसी भइन्, अब हाम्रो दिन फेरिन्छ, उनले भनिन् । रमेश पनि मुस्कुराए । तर खुशी धेरै टिकेन । एक दिन फोन आयो । बाबा...सन्दीपको आवाज थाकेको थियो । के भयो ? काम धेरै गाह्रो छ... तलब पनि ढिला आउँछ...। रमेश चुप लागे । अर्को दिन रोशनको फोन आयो । बाबा, बिरामी भएँ...। मायाले फोन समातेर सोधिन, डाक्टर देखायौ ? पैसा छैन, आमा...। त्यो सुन्दा मायाको आँखा रसायो । हामीले के ग¥यौं ? उनले रमेशलाई भनिन् । रमेशसँग जवाफ थिएन । उनीहरूले सोचेका थिए, विदेश समाधान हो । तर त्यो अर्को संघर्ष थियो । त्यो दिन अरू दिन जस्तै सुरु भएको थियो । माया भान्सामा थिइन् । चुल्होेमा भात पाकिरहेको थियो । अचानक, उनी बसिन् । के भयो ? रमेशले बाहिरबाट सोधे । टाउको दुख्यो..उनले बिस्तारै भनिन् । रमेश भित्र गए । उनको अनुहार फिक्का थियो । अलि आराम गर, उनले भने । माया ओछ्यानमा सुतिन् । त्यो सामान्य जस्तो लाग्यो । तर, त्यो सामान्य थिएन । दिनदिनै उनको अवस्था बिग्रिँदै गयो । उनी खाना खान छोडिन् । शरीर कमजोर हुँदै गयो । आँखा भित्र धसिँदै गए । रमेश, केही ठीक छैन, उनले एक दिन भनिन् । रमेशको मन काँप्यो । उनीहरूले गाउँको स्वास्थ्य चौकी गए । सामान्य ज्वरो हो, स्वास्थ्यकर्मीले भने । औषधि दिए । तर सुधार भएन । बरु—झन् बिग्रियो । एक रात माया अचानक उठिन् । सास फेर्न गाह्रो भयो...। रमेश डराए । उनले तुरुन्तै छिमेकीलाई बोलाए । त्यो रात उनीहरूले पहिलो पटक महसुस गरे, यो रोग सामान्य होइन । भोलिपल्ट, उनीहरू जिल्ला अस्पतालतिर लागे । रमेशको मन भारी थियो । मायाको हात चिसो । गाडी हल्लिँदै थियो । सडक उबडखाबड थियो । रमेशले उनको हात समातेर भने केही हुँदैन...। माया मुस्कुराउन खोजिन् । तर त्यो मुस्कान अधुरो थियो । त्यो मुस्कान आगामी अन्धकारको सुरुवात थियो । 
    गाउँको स्वास्थ्य चौकी सानो, धुलोले ढाकिएको, थकित स्वास्थ्यकर्मीले भरिएको । रमेश माया समातेर पुगे । के भयो ? स्वास्थ्यकर्मीले सोधे । रमेशले छोटकरीमा बताए । सामान्य ज्वरो हो, स्वास्थ्यकर्मीले औषधि दिइन् । तर सुधार भएन । रमेशको मन डरले भरियो । उनीहरूले जिल्ला अस्पताल जाने निर्णय गरे । सडक उबडखाबड । माया कोमल शरीर बोकेर बसेकी । रमेशले उनको हात चिमोटे । सबै ठीक हुन्छ उनले मनमनै दोहो¥याए । तर आफैंलाई थाहा थियो सत्य त्यो थिएन । जिल्ला अस्पतालमा भीड, धक्का–मुक्की, अप्ठ्यारो लाइन । डाक्टरले रिपोर्ट हेरे । काठमाडौं जानुपर्छ । किन ? रमेश डरले सोधे । गम्भीर समस्या हुन सक्छ । त्यो शब्द, गम्भीर रमेशको छातीमा ढुङ्गा जस्तै ठोकियो । उनी थाकेका थिए । तर अब उनलाई यो यात्रा रोक्न सकिँदैन । 
    काठमाडौंको अस्पताल–भीड, हल्ला, घाम नपरेको जस्तो अँध्यारो । स्ट्रेचर, भुइँमा सुतेका बिरामी, कराइरहेका परिवार । रमेश र माया लाइनमा उभिए । पालो कहिले आउँछ ? भोलि । अर्को दिन । रमेशको मनमा निराशा थियो । उनले आफ्नो सास लिन भ्याएनन् । सबै समय पर्खाइमा बित्दै गयो । मायाले कोमल स्वरमा भनिन्, रमेश, म थाकें । मलाई दुख्छ । रमेशले उनलाई समाते । सक्छु, माया । पर्ख, केही हुँदैन । तर भित्रभित्रै उनी भाँचिइसके । उनी जान्दथे यो केवल पर्खाइ हो । समाधान होइन । रमेशसँग स्वास्थ्य बीमा थियो । गाउँले सबैले भनेका थिए बीमा गरेपछि सजिलो हुन्छ । तर अस्पतालको अनुभवले उनको भरोसा तोड्यो । यो टेस्ट बीमामा पर्दैन । यो औषधि बाहिरबाट किन्नु पर्छ । सर्जरीको खर्च बढी छ । रमेश चुप लागे । बीमा छ, तर उपचार छैन । मायाले रुँदै भनिन्, रमेश, हामीले किन खर्चको हिसाब गर्यौं ? पैसा सकियो । रमेशले आँखा तल झुकाए । उनले महसुस गरे, नीति र व्यवहारबीचको खाडल गहिरो थियो । रमेशसँग भएको सबै पैसा सकियो । उनीहरूले छोराहरूलाई फोन गरे । बाबा, मसँग छैन...। मैले पनि ऋण लिएँ, तर पर्याप्त छैन...। रमेशको मनमा अँध्यारो छायो । उनी एक्लै थिए, माया, पैसा, प्रणाली–सबै अविश्वासी । रातमा उनी बेन्चमा बस्दा आँखा रसाए । माया, कसरी अघि बढ्ने ? उनले आफैंसँग सोधे ।
    मायाले कमजÞोर स्वरमा भनिन्, हामीले सक्दो ग¥यौं । अब भाग्यमा छोड्नु पर्छ । रमेशलाई थाहा थियो, भाग्यको भरोसा अब पर्याप्त थिएन । घरमा बाँकी रहेको अन्तिम सम्पत्ति–जमिन । रमेशले दलाललाई बोलाए । कति दिन्छौ ? जति दिन्छु । ठीक छ, लिनुहोस् । जमिन बेच्दा रमेशले महसुस गरे, म आफ्नो इतिहास बेच्दैछु । बाबुले दिएको माटो, सन्तानलाई सिखाएको माया, जीवनको आधार सबै छुट्दैछ । उनको आँखामा आँसु आए । तर विकल्प थिएन । माया पनि चुप लागिन् । उनीहरूले बस्नुपर्ने निर्णय गरे–जीवन बचाउन । गाउँको स्वास्थ्य चौकीदेखि राजधानीको अस्पतालसम्मको पीडा, स्वास्थ्य बीमा–नाम मात्रको आशा, पैसाको अभाव, ऋणको बोझ, जमिन बेचेर जीवन बचाउने कठिन निर्णय, रमेश अब पूर्ण रूपमा वास्तविक संसारसँग जुधिरहेको छ । अस्पतालका रातहरू–जहाँ निद्रा पनि डराउँछ । काठमाडौंको ठूलो सरकारी अस्पताल–भीड, हल्ला, ओछ्यानमा सुतेका बिरामी, कराइरहेका परिवार । रमेश र माया रातभर बेन्चमा बसेका थिए । मायाको शरीर कमजÞोर, स्वर फिक्का । रमेश... दुख्यो, उनी कराइन् । रमेशले उनको हात समातेर सम्झाए, पर्ख, माया, सक्दो गर्छु । तर त्यो ‘सक्दो’ केवल शब्दमा सीमित रह्यो । अस्पतालमा सन्देश थिए, पर्ख, लाइनमा बस, पैसा भुक्तानी गर । रमेशले आफ्नो छातीमा हात राखे । उनी भित्रभित्रै कराइरहेका थिए । उनको पीडा केवल मायाको मात्र होइन । यो पीडा सिस्टमको, राज्यको, समाजको सबैको प्रतीक थियो । रात लामो भयो । सहरको उज्यालोले पनि अस्पतालको भीड कम गरेन । रमेशले सोचें कसरी एक सामान्य परिवार जीवन जिउँदो राख्न सक्छ जब प्रणाली नै विफल छ ? 
    रमेशलाई लगातार प्रश्न उठ्यो, राज्य कहाँ छ ? के यो केवल भाषण, नारा र कागजको लागि मात्र हो ? सुगम भनिएको पालिकामा उनी बस्छन् । सडक छ, बिजुली छ, स्वास्थ्य चौकी छ । तर जब जीवन संकटमा पर्छ, राज्य गुमनाम हुन्छ । रमेशले अनुभव गरे, औषधि छैन, डाक्टर ढिला आउँछन्, लाइन लामो छ । पैसाको अभाव, उनी थाहा पाए नीति र व्यवहारबीचको खाडल गहिरो थियो । माया र उनको परिवार, सिस्टमको एउटा परीक्षण मात्र थिए । रमेशको मनमा प्रश्न, राज्यले कसरी अभिभावक बन्न सक्छ जब नागरिकलाई पर्खन मात्र भनिन्छ ? रमेशसँग पैसाको विकल्प सकियो । उनीहरूले ऋण लिए । तर ऋण—जीवनको अर्को चुनौती बन्यो । ब्याज बढ्दै गयो । रमेशले थाहा पाए, रोग मात्र होइन, ऋणले पनि जीवन बर्बाद गर्छ । के हामी सँधै संघर्षमै बाँच्न बाध्य छौं ? रमेशले आफैंसँग सोधे । मायाले बिस्तारै मुस्कुराउन खोजिन् तर त्यो मुस्कान अधुरो थियो । रमेशले महसुस गरे यो संसारमा केवल मेहनतले समाधान हुँदैन । तत्काल सहयोग, नीति, सेवा–सबै अपरिहार्य हुन्छ । 
    डाक्टर र नर्सहरू थाकेका, भीड धेरै, समय सीमित । यो टेस्ट आउँदैन । यो औषधि बाहिर किन्नु पर्छ । रमेशले आफैंलाई दोष दिए, म पर्याप्त छैन । तर समस्या केवल पैसाको मात्र होइन । यो–समग्र प्रणालीको कमजोरी थियो । रमेशले महसुस गरे सुधार आवश्यक छ । यदि राज्यले नागरिकलाई प्राथमिकता नदियो भने, साथ केबल वचन र कागजमा सीमित रहन्छ । माया–कमजÞोर स्वरमा, रमेश...म बाँच्न चाहन्छु...। रमेशले उनको हात समाते । तिमी बाँच्नेछौ, उनले भनिन् । तर भित्रभित्रै उनी डराइरहेका थिए । रमेशले महसुस गरे यो केवल आशा थियो । रातभर माया कराइरहेकी थिईन् । रमेश उनको छातीमा टाउको राखेर बसिरहेका थिए । यो क्षण जीवनको सबैभन्दा पीडादायी थियो । नियम, नीति, सेवा–सबै असफल । सिर्फ एक परिवारको कथा तर हजारौंको प्रतिबिम्ब । अर्को दिन, माया कोमल स्वरमा बसिन् । म रमेश... अलि थाकें । डाक्टर आए । हामीले सक्दो प्रयास गर्यौं रमेशले सुने । तर उनले महसुस गरे–सक्दो प्रयास कहिल्यै पर्याप्त हुँदैन । मायाले बिस्तारै आँखा बन्द गरिन् । रमेशको मुटु भत्कियो । उनले आफैंसँग भने, जीवन कहिल्यै न्यायपूर्ण हुँदैन । तर हामीले प्रयास गरेका छौं । 
    घर फर्कँदा–सबै खाली । ओछ्यान सुनसान । चुल्हो चिसो । सिर्फ सम्झना र खाली ठाउँ । रमेशले महसुस गरे, जीवन केवल जीवित रहनु मात्र होइन । संसारले तपाईंलाई सम्झन्छ वा भुल्छ त्यो निर्भर छैन । अस्पतालको अन्तिम संघर्ष, सेवाको कमजोरी, ऋण र पैसाको बोझ, मृत्युको पीडा, परिवारको एक्लोपन । माया गएपछि रमेश घर फर्किए । घर सुनसान । ओछ्यान खाली । चुलो चिसो । भित्तामा अझै मायाको लुगा झुन्डिएको । रमेशको आँखा भरियो । एक्लोपन–यो केवल भावनात्मक होइन । यो–जीवनलाई चिसो बनाउने, प्रत्येक निर्णयलाई भारी बनाउने पीडा थियो । साथीहरू गाउँका थिए । तर ती दिन उनीहरूसँग रमेशले कुरा गर्न सकेन । सबै व्यस्त थिए । रमेशलाई महसुस भयो–एक्लोपन वास्तविक, स्थायी र गहिरो हुन्छ । रातमा उनी बस्दा–सहरको दूरी, भीड, आवाज–सबैले उनलाई अझ एक्लो बनायो । के मेरो जीवनले अर्थ राख्दछ ? उनले आफैंसँग सोधे । 
    रमेशले बुझ्न थाले उनको पीडा केवल व्यक्तिगत होइन । गाउँमा अरू परिवारहरू थिए–जसको सन्तान विदेशमा छन्, स्वास्थ्य समस्या छ, पैसा छैन । सारा देशभर, सरकारी अस्पतालमा लाइन लागेका बिरामी, पर्खिरहेका, संघर्षरत । यो–व्यक्तिगत पीडाको नक्सा मात्र होइन, समाजको ऐना थियो । रमेशले महसुस गरे यदि समाजले नीति, सेवा र आधारभूत अधिकार सुनिश्चित गर्दैन भने, ‘सुगम’ केवल कागजमा मात्रै हुनेछ । रमेश अब काम खोज्न थाले । उमेर धेरै, शरीर थाकेको । काम छैन । पैसा छैन । दिनभरीको श्रमले जीवन तिर्छ, तर आवश्यकता पूर्ति हुँदैन । गाउँमा रोजगारीको स्थिति जस्तो नभएको । जमिन त सकियो, घरमा बचत छैन । रमेशले महसुस गरे गरिबी केवल रोग र मृत्युको मात्र होइन । यो–निरन्तरको संघर्ष, बेरोजगारी र असुरक्षाको घेरा हो । उनले सोचे–के यो घेरा कहिल्यै टुट्छ ? सन्तान विदेशमा । रमेशले पहिले सोचेका थिए–विदेश समाधान हो । तर विदेश पनि कठिनाई । सन्तानले पैसा पठाउँछन तर पर्याप्त छैन । ब्याज, खर्च, जीवनको महँगी सबै बढिरहेको । रमेशले महसुस गरे बच्चाहरू विदेश गए पनि समस्या हल हुँदैन । समस्या—प्रणाली, नीति र राज्यको समर्थनको अभाव हो । उनी बोल्न थाल्न चाहन्थे–तर शब्द छुट्टै चुनौती । यो कथा केवल व्यक्तिगत पीडा होइन, सगरमाथा जस्तो सामाजिक संकटको प्रतिबिम्ब हो । 
    रमेश अब चुप लाग्न सक्दैन । उनी गाउँका युवाहरूसँग भेट्न थाले । कसरी स्वास्थ्य सेवा सुधार्ने, राज्यसँग माग उठाउने, नागरिक अधिकार सुनिश्चित गर्नेबारे सोच्न थाले । साना कदम–संगठन, आन्दोलन, आवाज उठाउने । रमेशले महसुस गरे, अँध्यारो जतिसुकै गहिरो भए पनि, सानो उज्यालोले दिशा देखाउँछ । हामीले कुरा गर्नु पर्छ, उनी गाउँका अरूसँग भने । यदि हामी चुप बस्छौं भने–केही परिवर्तन हुँदैन । रमेशको कथा अब सिर्फ व्यक्तिगत पीडा होइन । यो सामाजिक चेतना, संघर्ष र भविष्य निर्माणको यात्रा बनेको छ । 

रमेशको छिमेकी 
आशिष सुनार
अनेकोट, काभ्रे