धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला वैदेशिक रोजगारीका हिसाबले बागमती प्रदेशकै प्रमुख श्रमिक आपूर्ति गर्ने जिल्लामध्ये एक हो । गाउँदेखि सहरसम्मका हजारौं युवा खाडी मुलुक, मलेसिया, जापान, कोरिया र युरोपसम्म पुगेका छन् ।
रोजगारीसँगै मृत्यु, अंगभंग, आर्थिक संकट, कानुनी झमेलादेखि पारिवारिक विघटनसम्मका समस्या पनि बढिरहेका छन् । वैदेशिक रोजगार बोर्ड, आप्रवासी स्रोत केन्द्र र स्थानीय तहका तथ्याङ्कले जिल्लाको सामाजिक–आर्थिक यथार्थलाई गम्भीर रूपमा उजागर गरेका छन् ।
१५ को मृत्यु, ११ बिरामी
आर्थिक वर्ष २०८१/०८२ मा काभ्रेपलाञ्चोक जिल्लाबाट बैदेशिक रोजगारीमा गएका १३ हजार २ सय मध्ये १५ जनाको निधन भएको छ । मृतकका परिवारले वैदेशिक रोजगार बोर्ड मार्फत १ करोड ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता पाएका छन् । सबैभन्दा धेरै मृत्यु तेमाल गाउँपालिकाका नागरिकको भएको छ । तेमालका ४, पाँचखालका ३, धुलिखेलका २ जनाको मृत्यु भएको छ । धुलिखेलका २ परिवारले १७ लाख रुपैयाँ सहायता पाएका छन् । पाँचखाल नगरपालिकाबाट ३ जनाको मृत्यु हुँदा २७ लाख रुपैयाँ सहयोग उपलब्ध भएको छ । रोशी गाउँपालिकाबाट ३ जनाको मृत्यु भएको छ भने २१ लाख रुपैयाँ सहयोग वितरण गरिएको छ । त्यस्तै, बनेपा नगरपालिकाबाट १, तेमाल गाउँपालिकाबाट ४, महाभारत गाउँपालिकाबाट १ तथा भुम्लु गाउँपालिकाबाट १ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । बनेपामा १० लाख, तेमालमा १४ लाख ५० हजार, भुम्लुमा ७ लाख, महाभारतमा ७ लाख रुपैया राहत रकम प्राप्त भएको छ ।
मृत्युजस्तै गम्भीर समस्या बिरामी र अंगभंगको पनि छ । जिल्लाभर ११ जना श्रमिक बिरामी तथा अंगभंग भएका छन् । उनीहरूलाई कुल २४ लाख ३३ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ । रोशी गाउँपालिकामा मात्रै २ जनाले ४ लाख ५५ हजार रुपैयाँ सहयोग पाएका छन् । पाँचखाल नगरपालिकामा १ जनाले ५ लाख ६० हजार रुपैयाँ तथा मण्डनदेउपुरमा १ जनाले १ लाख ७५ हजार रुपैयाँ सहायता पाएका छन् । धुलिखेल नगरपालिकामा ३ जनाले ९ लाख ८० हजार, नमोबुद्ध नगरपालिकामा १ जनाले ४९ हजार रुपैया पाएका छन् । खानीखोलाका १ जनाले ७० हजार पाएका छन् तेमाल गाउँपालिकाका १ जनाले ४९ हजार पाएका छन् ।
शव ल्याउने देखि छात्रवृत्तिसम्म
वैदेशिक रोजगार बोर्डले मृतक श्रमिकको शव निःशुल्क ढुवानीको व्यवस्था पनि गरेको छ । आर्थिक वर्षभर जिल्लाका ४ परिवारले यस्तो सुविधा पाएका छन् । ४ जनाको शव झिकाउँदा २ जनाले निशुल्क शव ढुवानीको सुविधा लिएका छन् । त्यस्तै, २२ जना बालबालिकाले छात्रवृत्ति सुविधा पाएका छन् । सबैभन्दा धेरै धुलिखेल र बनेपाबाट ८÷८ जना विद्यार्थी छात्रवृत्तिमा समेटिएका छन् । पाँचखाल र तेमालबाट २÷२ जना तथा रोशीबाट १ जना विद्यार्थी लाभान्वित भएका छन् । ५ जनाको खोज तथा उद्दार गरिएको छ । पारिवारिक स्वास्थ्य उपचार सहायता भने अत्यन्त न्यून छ । जिल्लाभर खानीखोलाका एक जनाले ५० हजार रुपैयाँ सहायता पाएका छन् ।
कुन देशमा काभ्रेका युवा ?
काभ्रेपलाञ्चोकबाट वैदेशिक रोजगारीमा जाने अधिकांश युवा अझै पनि खाडी मुलुक र मलेसियामै केन्द्रित छन् । स्थानीय तहगत तथ्याङ्क अनुसार बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिका वैदेशिक रोजगारीमा धेरै श्रमिक पठाउने क्षेत्रमा पर्छन् ।
बनेपा नगरपालिका अग्रस्थानमा छ । बनेपाबाट मात्रै १ हजार १ सय २५ जना पुरुष र ४ सय ४२ जना महिला वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ । पुरुषतर्फ सबैभन्दा धेरै साउदी अरब, मलेसिया, कतार र यूएईमा छन् । महिलाहरूको संख्या पनि उल्लेख्य छ, विशेषगरी कुवेत, कतार र ओमनमा । धुलिखेल नगरपालिकाबाट ६०६ पुरुष र २९२ महिला विदेशमा छन् । भुम्लु गाउँपालिकाबाट ६५० पुरुष र २३६ महिला वैदेशिक रोजगारीमा छन् । महाभारत गाउँपालिकामा पनि ६५२ पुरुष र २८२ महिला विदेशमा छन्। तीमध्ये धेरै खाडी मुलुक र मलेसियामा कार्यरत छन् । तथ्याङ्कले वैदेशिक रोजगारीमा पुरुषको संख्या अत्यधिक रहेको देखाउँछ । तर महिलाको सहभागिता पनि कम छैन । विशेष गरी घरेलु कामका लागि कुवेत, कतार, ओमान र साउदी अरब जाने महिलाको संख्या उल्लेखनीय छ । महिला श्रमिकहरू प्रायः असंगठित क्षेत्रमा काम गर्ने भएकाले शोषण, सम्पर्कविहीनता र कानुनी सुरक्षाको जोखिम बढी हुने स्थानीय सरोकारवालाहरू बताउँछन् ।
न्याय खोज्दै ३३ जना
आप्रवासी स्रोत केन्द्रको तथ्याङ्कले वैदेशिक रोजगारीसँग जोडिएका समस्या अझ गम्भीर रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाबाट ३३ जनाले न्यायिक वा परामर्श सेवा लिएका छन् । यी मध्ये ४ जना विदेशमै ठगीमा परेका, ९ जना नेपालमै ठगीमा परेका, एक जनाको मृत्यु, २ जना जेलमा परेको, ३ जनाको बेपत्ता वा सम्पर्कविहीन अवस्था, ५ जनाले उद्धार सहायता मागेका लगायत विभिन्न समस्यामा परेका व्यक्तिहरू रहेका छन् । धुलिखेल नगरपालिकाबाट मात्रै १२ जनाले सेवा लिएका छन् । त्यसमध्ये ६ वटा मुद्दा सामान्य समाधानमा पुगेका छन् भने ६ वटा प्रक्रिया अझै जारी छन् । महाभारत गाउँपालिकाबाट ६ र मण्डनदेउपुर नगरपालिकाबाट ७ जनाले न्यायिक सहायता खोजेका छन् ।
ठगी र असुरक्षित श्रम बजार
तथ्याङ्कले देखाउने अर्को गम्भीर पक्ष भनेको ठगी हो । वैदेशिक रोजगारीको नाममा एजेन्ट र म्यानपावर कम्पनीबाट ठगिने क्रम अझै रोकिएको छैन । कतिपयले ठूलो रकम तिरेर पनि काम नपाउने, सम्झौताअनुसार तलब नपाउने, वा विदेश पुगेपछि सम्पर्कविहीन हुने समस्या झेलिरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका परिवारहरू ऋण लिएर विदेश पठाउने भएकाले श्रमिक असफल हुँदा परिवार नै आर्थिक संकटमा फस्ने अवस्था देखिएको छ ।
स्थानीय तहहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र उत्पादनशील बनाउन अझ प्रभावकारी भूमिका खेल्नुपर्ने देखिएको छ । अधिकांश पालिकामा वैदेशिक रोजगार डेस्क वा सूचना प्रणाली कमजोर छ । सिप विकास, कानुनी परामर्श, वित्तीय साक्षरता र फर्किएका श्रमिकको पुनः एकीकरणमा लगानी नगर्दा वैदेशिक रोजगारी बाध्यता मात्र बनिरहेको विज्ञहरूको भनाइ छ । काभ्रेपलाञ्चोकको वैदेशिक रोजगारीले हजारौं परिवारको आर्थिक अवस्था धानेको छ । तर यही रोजगारीले मृत्यु, ठगी, अंगभंग र पारिवारिक विछोडको पीडा पनि बोकेको छ । राहत रकम वितरणले पीडित परिवारलाई केही सहारा दिएको देखिए पनि तथ्याङ्कले सुरक्षित वैदेशिक रोजगारीको अवस्था अझै कमजोर रहेको स्पष्ट संकेत गर्छ । रोजगारीलाई केवल रेमिट्यान्सको स्रोत नभई श्रमिकको अधिकार, सुरक्षा र सम्मानसँग जोडेर हेर्न सकिएन भने काभ्रेका धेरै गाउँ र बस्तीमा वैदेशिक रोजगारी अवसरभन्दा बढी जोखिमको यात्रा बन्ने खतरा कायमै रहनेछ ।
वैदेशिक रोजगार सम्बन्धि समग्र अद्यावधिक तथ्यांकहरु उपलब्ध नहुनु, वैदेशिक रोजगारमा जानेहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सही सूचना, तथा जानकारीको कमी, गन्तव्य मुलुकमा आफूले गर्ने कामको बारेमा उचित ज्ञान र सीप नहुनु, विना प्रमाण दलाल र मेनपावर कम्पनीलाइ पैसा दिएर वैदेशिक रोजगारमा जानु र ठगी तथा अलपत्रमा पर्दा प्रमाणको अभावमा कानुनी सहायता नपाउनु, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई आयमुलक क्षेत्रमा परिचालन गर्न नसक्नु, गन्तव्य मुलुकको हावापानी, नियम कानुन, काम गर्ने वातावरण र धर्म संस्कृतिको बारेमा ज्ञान नहुनु, उत्पत्ति तथा रोजगारी दुबै मुलुकहरुले महिला कामदारहरुलाई बेला बेलामा लगाइने कानुनी रोक, विदेशमा विरामी हुँदा राम्रो स्वास्थ्य उपचार नगर्नु र भनेको बेलामा नेपाल फर्किन पनि नदिने, दलालको लह लहैमा जाँदा गन्तब्यमुलुकमा सम्झौता अनुसारको तलब, काम र सुविधाहरु नपाउनु, बिना सीप वैदेशिक रोजगारमा जाँदा काम गर्न वाध्य हुनु लगायतका समस्या रहेका छन् ।









