धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा ३ हजार ५७० मुद्दामध्ये १ हजार ९८४ मुद्दा फछ्र्योट गर्दै ५५.५७ प्रतिशत फछ्र्योट गरेको छ । फछ्र्याैट प्रतिशत काभ्रेपलाञ्चोक जिल्ला अदालतले निर्धारण गरेको वार्षिक लक्ष्यको ७८.४१ प्रतिशत हो ।
अदालतका श्रेस्तेदार सञ्जित गौतमका अनुसार आर्थिक वर्ष २०८१/०८२ बाट १ हजार ४६२ मुद्दा जिम्मेवारी सरेका थिए भने आर्थिक वर्ष २०८२/०८३ मा २ हजार १०८ थान नयाँ मुद्दा दर्ता भएका थिए । यससँगै अदालतमा कुल ३ हजार ५७० मुद्दा थिए । २०८२ फागुन २१ गते भएको निर्वाचन, जनजीवन प्रभावित गर्ने २०८२ भदौ २३ र २४ को आन्दोलन लगायत विविध कारणले निर्धारित लक्ष्यअनुसार मुद्दा फछ्र्योट गर्न नसकिएको अदालतको भनाइ छ । आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५८६ मुद्दा फछ्र्योट हुन बाँकी रहेकाले ती मुद्दा चालु आर्थिक वर्ष २०८३/०८४ मा जिम्मेवारी सरेका छन् । अघिल्लो आर्थिक वर्षबाट सरेका १ हजार ४६२ थान मुद्दामध्ये ९९९ थान मुद्दा फछ्र्योट भएको छ भने ४६३ थान मुद्दा अझै बाँकी रहेका छन् । अदालतका अनुसार दुई वर्षभन्दा बढी पुराना ७० थान मुद्दा तथा १८ महिनाभन्दा बढी समयावधीका १०५ थान मुद्दा फछ्र्याैट हुन बाँकी छन् ।
मेलमिलाप प्रक्रियामा अघिल्लो वर्षको जिम्मेवारी सरेका ३० र चालु वर्षमा २७३ थान गरी कुल ३०३ मुद्दा समावेश गरिएका थिए । तीमध्ये ४० मुद्दामा सफल मेलमिलाप भएको छ भने २३० थान मुद्दामा मेलमिलाप हुन नसकेको अदालतले जनाएको छ । समग्रमा १३.२ प्रतिशत मुद्दा मेलमिलापमार्फत टुंगिएको अदालतको तथ्यांकले देखाएको छ । फैसला कार्यान्वयन तथा अदालतले दिने अन्य सेवा प्रवाह चुस्त, दुरुस्त र प्रविधिमैत्री रहेको श्रेस्तेदार गौतमले बताए । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा तीन वटा इजलास छन् । हरेक वर्ष मुद्दा दर्ता र जिम्मेवारी सर्ने क्रम थपिदै गएको तथ्यांकले देखाउँछ ।









