2026 July 24/ 05:06: 04am

भुपेन्द्र थापा ’माधव’
            नेपाल फेरि एकपटक इतिहासको अर्को मोडमा उभिएको छ । राजनीतिक परिवर्तनको लामो यात्रापछि पनि नागरिकको जीवनमा अपेक्षित परिवर्तन नआएको अनुभूति समाजमा गहिरिँदै गएको छ । संविधान बदलियो, व्यवस्था बदलियो, शासन प्रणाली बदलियो, सत्ता सञ्चालन गर्ने अनुहारहरू बदलिँदै गए; तर नागरिकका दैनिक चिन्ता, संघर्ष र असुरक्षाहरू भने धेरै हदसम्म उस्तै रहे। यही यथार्थले आज एउटा गम्भीर प्रश्न जन्माएको छ–परिवर्तनपछि पनि किन बदलिँदैन नागरिकको जीवन ?
          नेपालको आधुनिक राजनीतिक इतिहासलाई नियाल्दा परिवर्तनको कुनै कमी देखिँदैन । २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र र संघीयताको स्थापना–यी सबै घटनाहरू केवल राजनीतिक मोड थिएनन्, ती जनताको आशा, बलिदान र भविष्यका सपनाहरू पनि थिए । प्रत्येक आन्दोलनले नागरिकलाई एउटा नयाँ बिहानको प्रतिज्ञा गरेको थियो । तर समय बित्दै जाँदा परिवर्तनका नाराहरू सत्ताको गल्लीमा हराउँदै गए र नागरिकको अपेक्षा अधुरो रहँदै गयो ।
यसको मूल कारण व्यवस्था परिवर्तनभन्दा शासन संस्कृतिको परिवर्तन हुन नसक्नु हो । नेपालमा सत्ताको केन्द्र बदलियो, तर शक्ति सञ्चालनको शैली बदलिन सकेन । दलहरू परिवर्तनका संवाहक बनेर आए, तर समयसँगै उनीहरू स्वयं स्थापनाको प्रतीक बन्न पुगे । विचार र आदर्शको स्थान सत्ता गणितले लिन थाल्यो । राजनीतिक प्रतिस्पर्धा नीतिगत बहसमा होइन, गठबन्धन निर्माण र विघटनको अंकगणितमा सीमित हुँदै गयो ।
         आजको नेपालको राजनीतिक समीकरण पनि यही संक्रमणको उपज हो । पुराना राजनीतिक शक्तिहरूप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक शक्तिहरूप्रतिको आकर्षणले नेपाली समाजमा नयाँ मनोविज्ञान जन्माएको छ । नागरिकले अब केवल नेतृत्व परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तन खोजिरहेका छन् । उनीहरू भाषणभन्दा परिणाम, नाराभन्दा कार्यान्वयन र वाचाभन्दा उत्तरदायित्व खोजिरहेका छन् ।
          दलगत पुनर्संरचनाको बहस पनि यही पृष्ठभूमिमा जन्मिएको हो । परम्परागत दलहरूको संगठनात्मक शक्ति अझै बलियो भए पनि उनीहरूको नैतिक र वैचारिक प्रभावमा ह्रास आएको अनुभूति व्यापक छ । लामो समयसम्म राजनीतिक केन्द्रमा रहेका दलहरूलाई नागरिकले अब उपलब्धिको आधारमा मूल्याङ्कन गर्न थालेका छन् । आन्दोलनको इतिहास मात्र अब जनविश्वासको पर्याप्त आधार बन्न सक्दैन । नयाँ पुस्ताले इतिहासलाई सम्मान गर्छ, तर भविष्यको सुनिश्चितता खोज्छ ।
विशेषतः युवा पुस्ताको राजनीतिक मनोविज्ञानमा गहिरो परिवर्तन देखिएको छ । अघिल्ला पुस्ताहरू विचारधारा, संगठन र आन्दोलनबाट राजनीतिक रूपमा परिचालित हुन्थे । आजको युवा पुस्ता परिणाम, पारदर्शिता, दक्षता र अवसरबाट प्रभावित हुन्छ। ऊ कुनै दलको स्थायी समर्थकभन्दा बढी प्रदर्शनको आधारमा समर्थन वा विरोध गर्ने नागरिक बनेको छ । सामाजिक सञ्जाल र डिजिटल माध्यमले उसको राजनीतिक चेतनालाई परम्परागत संरचनाभन्दा फरक बनाएको छ ।
            यो पुस्ताले प्रश्न सोध्छ, जवाफ माग्छ र अधिकारप्रति सचेत छ । उसले व्यक्तिपूजाभन्दा संस्थागत उत्तरदायित्वलाई महत्व दिन्छ । यही कारणले नेपालमा मात्र होइन, विश्वभर पुराना राजनीतिक संरचनाहरू चुनौतीको सामना गरिरहेका छन् ।
             दक्षिण एशियाको राजनीतिक प्रवृत्तिले पनि यही संकेत गरिरहेको छ । बंगलादेशमा विद्यार्थी आन्दोलनले पुरानो राजनीतिक संरचनालाई चुनौती दियो । श्रीलंकामा आर्थिक संकटले स्थापित राजनीतिक नेतृत्वप्रतिको जनविश्वासलाई ध्वस्त बनायो। पाकिस्तान निरन्तर राजनीतिक अस्थिरताको चक्रमा फसिरहेको छ । भारतमा पनि परम्परागत दल र नयाँ राजनीतिक प्रवृत्तिबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । दक्षिण एशियाका युवाहरू अब केवल राष्ट्रवाद र विचारधाराका नाराबाट सन्तुष्ट छैनन्; उनीहरू रोजगारी, सुशासन, अवसर र सम्मानजनक भविष्य खोजिरहेका छन् ।
           नेपाल पनि यही क्षेत्रीय राजनीतिक परिवर्तनबाट अलग छैन । यहाँका युवाहरूले पनि राजनीतिक स्थायित्वभन्दा बढी आर्थिक स्थायित्व खोजिरहेका छन् । उनीहरूलाई सरकार कसले बनायो भन्नेभन्दा सरकारको निर्णयले आफ्नो जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बढी महत्वपूर्ण लाग्न थालेको छ ।
यही सन्दर्भमा आज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय प्रश्न युवा पलायन बनेको छ । गाउँहरू रित्तिँदै छन्, खेतहरू बाँझिँदै छन् र विमानस्थलहरू भरिँदै छन् । परिवारका सपनाहरू अब गाउँको चौतारोमा होइन, विदेशी विमानस्थलका आगमन कक्षमा बाँधिन थालेका छन् ।
            युवाहरू विदेश जान चाहन्छन् भन्ने निष्कर्ष अधुरो हुन्छ । यथार्थ के हो भने उनीहरू अवसरको खोजीमा विदेशिन बाध्य भएका छन् । स्वदेशमै सम्मानजनक रोजगारी, उद्यमको वातावरण र भविष्यको भरोसा भएको भए उनीहरू आफ्नो माटो, परिवार र समाज छोड्न चाहने थिएनन् ।
            रोजगारीको अभाव केवल आर्थिक समस्या होइन; यो राजनीतिक प्रश्न पनि हो । जब राज्यले आफ्ना नागरिकलाई उत्पादन र अवसरसँग जोड्न सक्दैन, तब पलायन अपरिहार्य बन्छ । बेरोजगारीले केवल आयको संकट सिर्जना गर्दैन, यसले समाजमा निराशा, असुरक्षा र व्यवस्थाप्रतिको अविश्वास पनि जन्माउँछ ।
नेपालको अर्थतन्त्र अझै पनि विप्रेषणको भरमा टिकेको छ। विप्रेषणले अर्थतन्त्रलाई सहारा दिएको छ, तर यसले स्थायी विकासको आधार निर्माण गर्न सक्दैन । कुनै पनि राष्ट्र आफ्ना युवाहरूलाई निर्यात गरेर समृद्ध बन्दैन । समृद्ध राष्ट्रहरू उत्पादन, नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलतामा आधारित हुन्छन् ।
          यसैबीच विश्व राजनीति पनि तीव्र पुनर्संरचनाको चरणमा प्रवेश गरिरहेको छ । अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा, युरोपको सुरक्षा चुनौती, मध्यपूर्वको अस्थिरता र जलवायु संकटले विश्व व्यवस्थालाई नयाँ ढाँचातर्फ धकेलिरहेको छ । कृत्रिम बुद्धिमत्ता, स्वचालन र डिजिटल अर्थतन्त्रले श्रम बजारको स्वरूप नै परिवर्तन गरिरहेका छन् ।
विश्वका राष्ट्रहरू भविष्यका उद्योग, हरित ऊर्जा र ज्ञानमा आधारित अर्थतन्त्र निर्माणतर्फ अघि बढिरहेका बेला नेपाल अझै पनि अल्पकालीन राजनीतिक समीकरणमा अल्झिनु दुर्भाग्यपूर्ण अवस्था हो । विकासको राष्ट्रिय दृष्टिकोण राजनीतिक चक्रको बन्दी बन्नु हुँदैन ।
                नेपालसँग सम्भावनाको कमी छैन । जलस्रोत छ, पर्यटन छ, कृषि छ, युवा जनशक्ति छ र भूराजनीतिक रूपमा महत्वपूर्ण स्थान छ । तर सम्भावना मात्र पर्याप्त हुँदैन; त्यसलाई अवसरमा रूपान्तरण गर्ने दृष्टि, नीति र नेतृत्व आवश्यक पर्छ । आजको आवश्यकता अर्को राजनीतिक आन्दोलन होइन, आर्थिक रूपान्तरणको राष्ट्रिय अभियान हो । अबको बहस सत्ता समीकरणको होइन, उत्पादनको हुनुपर्छ । अबको राजनीति मन्त्रालय बाँडफाँडको होइन, रोजगारी सिर्जनाको हुनुपर्छ । अबको प्रतिस्पर्धा सरकार गठनको होइन, सुशासन र परिणामको हुनुपर्छ । राजनीतिक दलहरूले पनि आन्दोलनको भाषाबाट शासनको भाषामा रूपान्तरण हुनुपर्छ । लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक हुन्छ, तर राष्ट्रिय हित र विकासलाई प्रतिस्पर्धाको विषय होइन, सहकार्यको विषय बनाइनुपर्छ । सरकारहरू आउँछन् र जान्छन्, तर राष्ट्रको भविष्य स्थायी हुन्छ ।
            आज नेपाली नागरिक अर्को क्रान्तिको प्रतीक्षामा छैनन् । उनीहरू परिणामको प्रतीक्षामा छन् । किसान आफ्नो उत्पादनको मूल्य खोजिरहेको छ । युवा अवसर खोजिरहेको छ । विद्यार्थी भविष्यको भरोसा खोजिरहेको छ । उद्यमी स्थिर नीति खोजिरहेको छ । नागरिक सम्मानजनक सेवा खोजिरहेको छ । परिवर्तनको वास्तविक अर्थ त्यतिबेला मात्र स्थापित हुन्छ, जब त्यो नागरिकको जीवनमा महसुस हुन्छ । जब युवाले आफ्नो भविष्यको खोजीमा विमानस्थल होइन, आफ्नै गाउँ र सहर रोज्छ; जब किसानले आफ्नो पसिनाको मूल्य पाउँछ; जब शिक्षा डिग्री होइन, अवसरको माध्यम बन्छ; जब राज्य नागरिकका लागि सहज र उत्तरदायी बन्छ–तब मात्र परिवर्तनले आफ्नो ऐतिहासिक औचित्य पुष्टि गर्छ ।
           नेपालको इतिहासले परिवर्तनका धेरै अध्यायहरू लेखिसकेको छ । अब इतिहासले अर्को प्रश्न सोधिरहेको छ–के हामी राजनीतिक परिवर्तनलाई नागरिकको जीवन परिवर्तनमा रूपान्तरण गर्न सक्षम हुनेछौँ? किनकि अन्ततः इतिहासले सम्झने कुरा सत्ता समीकरण होइन, नागरिकको जीवनमा आएको परिवर्तन हो । राष्ट्रको सफलताको मापन सरकारहरूको संख्याले होइन, आफ्नै भविष्यप्रति आशावादी नागरिकहरूको संख्याले हुन्छ ।