2026 August 19/ 03:01: 24pm

    स्थानीय तहको निर्वाचन भएको साँढे ४ वर्ष वितिसकेको छ । थुपै्र काम भएका छन् । असंख्य आकाँक्षाका बीच जनप्रतिनिधिहरुले गरेका केहि उदारणीय कामहरु भएका छन् । तल्लो तहमा भएका विवादहरुलाई न्यायिक समितिबाट निवारण गरेका छन् । थुप्रै घटनाहरु छन् । केहि घटनाहरुले समाज, समुदाय र परिवार सन्तुष्ट छन् । परिवारमा राम्रो भएका कारण समुदायमा हुने अनेक घटनाहरु पनि नियन्त्रणमा छन् । विना ज्ञान, विना अनुभव न्यायिक समितिका पदाधिकारीहरुले राजनीतिक चेतनाका आधारमा गरेका निर्णयहरुले पनि धेरै सहज भएको छ । पहिलो अभ्यासमा कतै कतै न्यायिक समिति चुकेका छन् । कानूनले तोकेको भन्दा धेरै अघि बढेर फैसला सुनाएका छन् । न्यायाधिश जस्तै गरी कोट लगाएर गरिएका फैसला कानून विपरीत पनि छन् । एकाध छाडेर गरिएका कयौं घटना वा विवाद निरुपणले समाजमा नागरिकहरुले राहतको महसुस गरेका छन् । प्रहरी, प्रशासन र अदालत खोज्नु पर्ने सामान्य तहका नागरिकहरुले तल्लो तहमै पाएको न्यायले सहज महसुस गरेका छन् । 
    नुवाकोट जिल्लाको दक्षिण–पश्चिम भागमा बेलकोटगढी नगरपालिकाको वडा न. ६ अन्तर्गत प्राकृतिक दृष्टिले रमणिय ‘डडुवा’ भन्ने सुन्दर गाउँ अवस्थित छ । यस गाउँमा बाहुन, क्षेत्री र तामाङ जातिका मानिसहरु बसोबास गर्छन् । यस गाउँको प्रमुख पेशा कृषि नै रहेको छ । बर्ष भरी नै खेतिपाती गरी जीवनयापन गर्ने यहाँको मानिसको दिनचर्या रहेको पाइन्छ । खेतबारीमा राम्रो उत्पादन हुने हुँदा यहाँका मानिसहरुको आर्थिक अवस्था राम्रो रहेको पाइन्छ । आफ्नो गाउँको विकास निर्माणको लागि बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा आदिको लागी एक जुट भएर लाग्ने यहाँको परम्परा रहेको पाइन्छ । प्राकृतिक दृष्टीले राम्रो भएता पनि व्यवस्थित खानेपानीको समस्याले यो गाउँलाई चिन्तित पानी ल्याउनु पर्ने र कुवा–पँधेरो पनि घरबाट टाढा भएकाले घरको एकजना सदस्यलाई खानेपानीको व्यवस्था गर्दै दिन बित्थ्यो । खानेपानीको विषयमा त्यहाँका मानिसहरुले पटक पटक स्थानीय सरकार र प्रदेश सरकारसँग आफ्नो गुनासो राखीरहेका थिए । तर पनि समाधान हुन सकेको थिएन । 
डडुवा गाउँका मानिसहरुको दुःखलाई मध्यनजर गर्दै आ.व. ०७५÷७६ को बजेटमा प्रदेश सरकारबाट बिस लाख रुपँैया खानेपानीको लागी विनियोजन गरिएको थियो । उक्त ठाउँको खानेपानी समस्यालाई दिगो रुपमा व्यवस्थापन गर्नका लागी प्रदेश सरकारबाट रकम विनियोजित भएकोमा त्यहाँका मानिसहरु खुसीले निकै उत्साहित थिए । समय बित्दै जाँदा जनताको माग बमोजिम दिगो खानेपानी विकासको लागी प्रदेशबाट रकम विनियोजित भए पनि आफ्नो ढंगबाट उपभोक्ता समिति बनाई आफ्नो टोलमा खानेपानी बिस्तार गर्ने, एउटा टोलले परापूर्व देखी भोगचलन गर्दै आएको मुहान अर्को टोलले हस्तक्षेप गर्ने कार्य गरी खानेपानीबाट बढी प्रभावित टोललाई उपेक्षा गरी योजनामा अस्वस्थ प्रतिस्पर्धा गर्ने कार्य सुरु भयो । यस सन्दर्भलाई लिएर त्यहाँका मानिसहरुमा आपसी विवाद भई योजनाको सफल कार्यान्यनमा बाधा उत्पन्न भयो । विवादले चरम रुप लिएकाले वास्तविक पीडित खानेपानीबाट वन्चित हुने भएपछि सो गाउँका मानिस न्याय माग्न बेलकोटगढी नगरपालिकाको न्यायीक समिति समक्ष उपस्थित भए । पीडितको भनाई अनुसार २०७३ सालमा दर्ता भएको डडुवा सुवेदी गोलेटोल खानेपानी समितिको लागी आएको बिस लाख रुपँैयाँ अर्को पक्षले नियम अनुसार स्थानीय उपभोक्ताको भेला नगरी आफ्नौ ढङगले धारे कृष्ण मन्दिर डडुवा खानेपानी उपभोक्ता समिति गठन गरी आफु खुसी योजना संचालन गर्ने उद्देश्य राखी प्राविधिक कार्यक्रम अगाडी बढाएका थिए । त्यसो नगर्नु भन्दा धम्की पूर्ण शब्द प्रयोग गरी आफुखुसी कार्यक्रम संचालन गर्न खोजेकोले स्थानीयले परापूर्वकाल देखी प्रयोग गरेको खानेपानीको मुहानमा समेत हस्तक्षेप गरेकोले सो कार्य स्थगित गराई, प्रभावित उपभोक्ताहरुको भेला बसाई उपभोक्ताबाटै समिति गठन गरी खानेपानी योजना संचालन गरी पाउँ भन्ने व्यहोराको निवेदन २०७६ बैशाख २७ गते इन्द्र प्रसाद सुवेदीको फिराद सविंधानको धारा २१७ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ बमोजिम गठन भएको न्यायीक समिती समक्ष पेश हुन आएको थियो । उक्त निवेदनलाई ऐनको दफा ४७ (क) बमोजिम न्यायिक समितिको अधिकार क्षेत्र भित्र परेकोले दर्ता गरी निस्सा उपलब्ध गराई पठाइएको थियो । खानेपानी जस्तो संवेदनशिल विषयमा भएको विवाद र विवाद निरुपणका लागि भएको प्रयास शुरु देखि सकारात्मक रहेको उनिहरुको बुझाई थियो । न्यायायिक समितिलाई जानकारी भए लगत्तै कानूनी प्रकृयामै गएर विवाद समाधान गरी खानेपानी खान पाउने अधिकारको सुनिश्चितता गर्नु थियो । 
न्यायिक समितिले आफ्नो काम द्रुत गतिमा अघि बढाएको थियो । निवेदनमा उल्लेख गरिएको ब्यहोराको फिराद दर्ता भएको दिन विपक्षको नाममा म्याद जारी गरीएको थियो । एकातिर खानेपानी विवादले गाउँ विभाजन नहोस् । दोश्रो प्रदेश सरकारले उपलब्ध गराएको रकम फ्रिज नभई सहि स्थानमा खर्च होस् भन्ने थियाो । २०७६ बैशाख ३० गते प्रतिवादी उपस्थीत भई प्रतिउत्तर पेश गरे पछि प्रकृया अघि बढाउन सहज भयो । वादी र प्रतिवादीहरु दुवैको चासो र चिन्ता अनि सकारात्मक सोच भएकाले मुद्दाको प्रकृया लामो समय जान पाएन । २०७५ माघ २१ गते वडा नम्वर ६ का वडा अध्यक्ष अम्बिका तामाङ र वडा सदस्य रामहरी घिमिरेको रोहवरमा उपभोक्ताहरुको भेला गराई धारे कृष्ण मन्दिर डडुवा खानेपानी उपभोक्ता समिति गठन गरी योजना सम्झौता भई अन्तिम चरणमा काम पुगेको, वडाको निर्णय अनुसार चार ठाउँमा इस्टमेट बनाएको, उक्त योजनाले फिराद परेको खानेपानी मुहानलाई कुनै असर नपारेकोे, २०३८ सालबाट नै झंकनाथ सुवेदीलाई छुट्टै एक धारो पानी छोडी योजना संचालन भएको र सोही धारो पानीलाई ट्याङकी बनाई पम्पिङ गरी १७ घर धुरीले प्रयोग गर्ने गरी इस्टमेट तयार भएकोले फिराद दावीको कुनै अर्थ नभएको भन्ने प्रतिवादीका जिकिर न्यायीक समिति समक्ष पेश हुन आएको थियो । वादी, प्रतीवादी दुबै तर्फको निवेदन अनुसार दुबै तर्फका उपभोक्ता समिती र स्थानीय भद्रभलादमी, बुद्धिजिवीलाई राखी न्यायीक समितिको इजलासमा पटक–पटक छलफल गराउँदा पनि विवादको समाधान नभएकाले फिल्ड निरिक्षण गरे पछि मात्रै मुद्धा किनारा गर्ने निर्णय २०७६ साल आषाढ १० गते गरिएको थियो । यद्यपि भोलिपल्ट बिहान नगरपालिकाबाट बर्षा र कच्ची बाटोको बाबजूद न्यायिक समितिको टिम पैदल यात्रा गर्दै हिलो चिप्लो नभनी डडुवा गाउँ पुग्यो । बर्षाको समय भएका कारण दिउँसोभरी नै पानी परी रह्यो । न्यायिक समितिको टिम त्यहाँ पुग्ने बित्तिकै २३ घर धुरीका उपभोक्ता आई उनिहरुलाई पिउने पानीबाट बन्चित गराउन लागिएको, स्वच्छ पानी पिउन पाउने नैसर्गिक अधिकार बञ्चित हुन थालेकोले न्याय दिलाई पाउँ भनि रुन कराउन थाले । उक्त रोदनलाई ध्यानमा राखी पानी भएको बिवादित मुहान देखी हरेक घरको अाँगन–आँगनमा उपस्थित भई यथार्थलाई मध्यनजर गर्दै अर्को दिन दुवै उपभोक्ता समिति र स्थानीयलाई मान्य हुने निर्णय दिलाउने बाचा गर्दै न्यायीक समितिको टिम त्यँहाबाट उकाली ओराली गर्दै हिलो र पानी हुँदै कार्यालय फर्किएको थियो । 
बादी इन्द्र प्रसाद सुवेदीले जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा २०७६ आषाढ १५ मा दिएको निवेदनमा जिल्ला प्रसाशन कार्यालयले हाम्रै न्यायिक समितिलाई लेखी पठाएको पत्र प्राप्त भएको थियो । एउटै ब्यक्तिले पटक पटक र विभिन्न स्थानमा निवेदन दिए पछि अर्काे दबाव थपिएको महसुस गरिएको थियो । २०७६ आषाढ २५ गते वादी, प्रतिवादी र स्थानिय बुद्धिजीवी, समाजसेवी र स्थानीय उपभोक्ता समेतलाई उपस्थित गराई न्यायिक समितिको इजलासमा छलफल गराउँदा, सबैजनाको विचार सुनी, स्थलगत रिपोर्टलाई समेत ध्यानमा राख्दा न्यायिक निर्णय दिन हामी तयार भयौं । डडुवा सुवेदी गोलेटोल खानेपानी उपभोक्ता समिति मार्फत पूर्व निर्णय बमोजिम संचालन हुँदै आएको खानेपानी योजना अन्र्तगत खानेपानीबाट बञ्चित २३ घर परिवारलाई पानी उपलब्ध गराउनु पर्ने, यो समिति अन्तर्गत रहेको मुलको पानी एकमुष्ठ संचालन गरी हाल रहेको ट्याङकीबाट नै वितरण गनुपर्ने ठहर ग¥यौं । वादी वा प्रतिवादी दुवैलाई न्यायिक समितिको निर्णय चित्त नबुझे ३५ दिन भित्र जिल्ला अदालतमा पुनरावेदन गर्न जानु भनी म्याद भित्र पुनरावेदन नगरे कानुन बमोजिम निर्णय कार्यान्वयन गर्नु गराउनु भनि निर्णयार्थ आदेश गरिएको थियो । उपस्थित स्थानीय २३ घरधुरी र भद्रभलाद्मी बुद्धिजिवीले न्यायीक समितिको निर्णय स्वागत गर्दै खुसी साथ धन्यवाद दिँदै बिदा भए । उक्त निर्णय उपर कोहि पनि पुनरावेदन गएनन । उक्त निर्णयले २३ घर परिवारमा खुशी छायो । तत्कालै निर्णय कार्यान्वयन भयो । खानेपानी आयोजना सम्पन्न भए सँगै खानेपानीको सहज आपुर्ति हुन थाल्यो । प्रदेश सरकारले लगानी गरेको योजनालाई स्थानीय सरकारले पुरा ग¥यो । दायित्व त स्थानीय सरकारकै थियो तर पनि हामीले विनियोजन गर्नु पर्ने बजेट प्रदेश सरकारले गरिदिएकोमा पनि हामीले धन्यवाद ब्यक्त गरेका थियौं । 
खानेपानीको चरम अभावका बाबजुत न्यायिक समितिले गरेको निर्णयले स्थानीयहरु खुशीले गदगद भएका छन् । थुप्रै काम भएका छन् । योजनाहरु पनि सम्पन्न भएका छन् । तर साना साना कुराले अड्किएका ब्यक्तिका चाहना र समस्यालाई न्यायिक समितिले ब्यवस्थापन गरेको छ । खुशी यसमै छ कि हिजो केहि गर्न सक्दैनन, एउटा पार्टीबाट जितेकाहरुले अरु पार्टीकालाई न्याय दिन सक्दैनन कि भन्ने भ्रम अन्त्य भएको छ । महिलाहरुले अवसर पाउँदा सक्षम भएर जिम्मेवारी पुरा गर्न सक्छन भन्ने प्रमाणीत न्यायिक समितिको जिम्मेवारी र दायित्वले देखाउने अवसर प्रदान गरेको छ । 

कविता ढुंगाना, संयोजक 
न्यायिक समिति
बेलकोटगढी नगरपालिका
बाघखोर, नुवाकोट