2026 August 18/ 01:26: 58pm

    न चलिरहँदा पनि हिंसाका घटना भईरहेका छन् । पहुँचवालाहरुले न्याय खरिद गरिरहेका छन् । पीडितहरुको पक्षमा बोलिदिने कोहि हुँदैनन् । सबैले बलेको आगो मात्रै ताप्ने रहेछन् । भुकम्प, कोभिड जस्ता महामारीमा पनि पीडित महिला नै छन् । महिलाहरुको पक्षमा काम गर्नेहरुले पनि दुःख दिने महिलालाई नै हो । अरुका कुरा जति गरे पनि त्यस्तै हो । आफ्नै पीडा र भोगाई अनगीन्ति छन् । मेरो पीडाले कसैलाई छुँदैन तर मन हलुङ्गो हुन्छ । भएका कुराहरु पोख्न पाउँदा आउने आनन्द भोकलाग्दा खाना पाए जस्तै हुने रहेछ । प्राप्ति भन्दा दानमा आनन्द हुँदो रहेछ । भावीले लेखेको मात्रै पाँइदो रहेछ । अरुको देखेर सगरमाथा चढ्न खोज्नु भएन भनेर दान गर्नु पनि उस्तै रहेछ । जन्मेको छैंटौ दिनमा भावीले जे लेखि दिएको छ त्यहि भोग्नुपर्ने मानव चोलामा कसलाई के भन्ने ?
    आफै दुःखसुख गरेर खाएको पनि देख्न नसक्ने यो समाजमा जसले गरिरहेको छ पाप उसको मात्रै हुने रहेछ फलिफाप ।     धर्मका नाममा जतिसुकै जोगिन खोज्यो, अरुलाई दुःख नदिन खोज्यो त्यति नै हेप्ने र पेल्ने यो समाजको रिति नै रहेछ । ओरालो लागेको बेला मृग जस्तै समाजमा अलिक केहि भएन भने सबैले हेर्ने दृष्टिकोणमा आकाश जमिन फरक पर्ने रहेछ । खै के खै के ? त्यति धेरै बुझ्ने भई दिएको भए यस्तो मर्म किन भनिरहनु पर्दथ्यो र ? जिल्लाको दुर्गम गाउँमा मेरो जन्मभयो । बुबा आमाले धेरै माया गर्ने सन्तान मध्ये पर्दथें । चार दाजुहरु र तीन दिदीहरु पछिको म । ८ सन्तान जन्माएर पनि आमा हामी भन्दा धेरै काम गर्न सक्नुहुन्थ्यो । घरभरी भैंसी र बाख्रा हुन्थे । दिनभरी भैसीहरु लिएर जंगल जाने र साँझ मात्रै फर्कने नियमित चलन नै थियो । के को विद्यालय हुनु र अध्ययन गर्नु ? सबैको नियति नै त्यहि थियो । 
    दाजुहरु अलिक ठुला भएपछि कोहि शहर गए । कोहि छिमेकी देश भारत गए । कोहि भारतमै हराए । कोहि अझै बेपत्ता छन् । कोहि घर तिरै हाम्रै शैलीमा भैंसी पालन गरेर बसे । जंगलमा के उम्रन्छ र ? कहिलेकाँहि हामी शहरमा गाउँमा हुने सिमीहरु लिएर आउने गरेका थियौं । १३ वर्षको उमेरको थिएँ होला बुबाले काठमाडौंसम्म जाने कुरा गर्नु भयो । बाटोमा बास पर्दा भोक लाग्छ भनेर हामीले घरबाटै मकै बोकेर आएका थियौं । बुबाले घिउको ठेकी बोक्नु भएको थियो । करिब १० पाथी जति घिउ बोकेर हामी काठमाडौंमा पुग्दा ५ दिन जति लागेको थियो । बाटोमा हामी त्यहि घिउ र मकै खान्थ्यौं । अलिकति नुन पनि बोकेकाले कुनै बेला नुन पनि चटनीका रुपमा प्रयोग गर्दथ्यौं । ८ वटा जति भैसी थिए । सबै भैसीले दिएको दुधबाट हामी घिउ बनाउँथ्यौं । त्यो घिउ शहरसम्म पु¥याएपछि नुन र लुगाफाटो आउँथ्यो । बुबाले १० पाथी घिउको अलावा स–साना भाँडाहरुमा राखिएको घिउ मलाई बोकाउनु हुन्थ्यो । उतिबेला जंगलकै काठले गाउँमै भाडाकुँडा बनाउने चलन थियो । ठेकी, पाथी, मानो जस्ता भाँडाकुँडाहरुले कहिल्यै अभाव भन्ने महसुस हुँदैन थियो । मैले काठमाडौ शहर देखेको थिइनँ । 
    काठमाडौमा हिड्ने लहरी पनि देखेको थिइनँ । मैले पहिलो पटक चढेको लहरी अझै सम्झन्छु । केहि दिन पछि हामी गाउँ फर्कियौं । केहि कपडाहरु र घरमा चाहिने नुन हामीले बोकेका थियौं । सायद दशै नजिकिदै थियो होला । तेलहरुका लागि हामीलाई कहिल्यै समस्या भएन । बारी मात्रै थियो । खेतको त कल्पनै नगरौं । मैले भात देखेको र खाएको १५ वर्षको उमेरमा हो । त्यो पनि दाईहरु काठमाडौमा जानु भएको थियो । एउटा साहुको घरमा काम गर्दै जाँदा उहाँलाई प्रहरीकोमा लगिएको रहेछ । त्यहाँ खाना पकाउन लैजाँदा लैजादै उहाँलाई पनि त्यताबाटै तलब दिन थालेछ । २०२८ साल तिरको कुरा होला दाईले केहि पाथी चामल बोकेर गाउँ जानु भएछ । पहिलो पटक हामीले उहाँले नै लगेको चामल भात पकाएर खाएका थियौं । त्यसपछि हामीलाई पनि चाडवाडमा भात पकाएर खाने लोभ जाग्यो । हामी बुबालाई त्यहि भन्दथ्यौं । यो घिउ सबै लगेर बेचौ र भात ल्याएर खाउँ चाडबाडमा । नत्र मकै मात्रै हुने हो । हिउँदमा अलिअलि गेडागुडी हुन्थ्यो । विस्तारै दाईहरु एक पछि अर्काे गर्दै शहर जान थाल्नु भयो । घरमा हामी केहि मात्रै भयौं । दिदीहरुको विवाह भैसकेको थियो । उतिबेला विवाह पनि सानै उमेरमा हुन्थ्यो । दिदीहरु सायद ९÷१० वर्षको हुनुहुन्थ्यो होला । दाईहरु सबै घर छाडेर हिडेको भएकाले मात्रै मेरो १२ वर्षको उमेर हुँदा समेत विवाह भएको थिएन । तर पनि बुबा आमाले त्यहि केटा तिम्रो लागि हो भनेर भनिसक्नु भएको थियो । नभन्दै त्यहि केटासँग मेरो विवाह भयो । 
    गाउँ छाडेर शहरमा नोकरी गर्ने कुरा भयो । म घर ब्यवहार सम्हाल्ने उहाँ नोकरीमा जाने । केहि वर्ष उहाँ काठमाडौ गएर काम गरे । घरमा केहि पैसा कमाएर ल्याए पनि । २०३३ सालको कुरा होला । उनि काठमाडौ गएको लामो समय घर फर्किएनन् । जहाँ नोकरी गरिरहेका थिए त्यो घरबाट उनलाई चोरीको आरोपमा जेल पठाइएको रहेछ । सायद कसले चो¥यो उनैलाई थाहा भएनछ सरकारी रकम चोरी गरेको भन्दै प्रहरीले उनलाई १० वर्ष कैद सुनाएछ । उनी सरकारी कर्मचारी पनि थिएनन् । मैले पछि मात्रै बुझें जहाँ उनि नोकरी बसेका थिए त्यहि घरको मान्छेले पैसा चोरेर मेरो श्रीमान्लाई उसको सट्टामा जेल पठाएको रहेछ । उनी काम गरेको घर खोज्दै जाँदा मात्रै त्यो रहस्य खुल्यो हामी गरिब र निमुखाहरुको पक्षमा बोलिदिने को ? रुँदै घर आएँ । माईतीमा बुबा आमालाई त्यो कुरा सुनाएँ । घरमा देवर जेठाजुहरु पनि थोरै थिए । सासु ससुरा हेर्नुपर्ने मेरो दायित्व थियो । ढिलो गरी विवाह गरेको मेरै थियो । श्रीमान् जेल परेपछि मलाई हेर्ने दृष्टिकोण पनि बदलियो । दिन बित्यो, रात बित्यो उनी कहिल्यै आएनन् । उनलाई भेट्न दुई पटक जेलमै गएँ तर उनले कहिल्यै आफुले त्यस्तो गरेको बताएनन् । 
    जेलबाट छुटेपछि त्यसको बदला लिने बताइरहे । मैले जे भयो भयो छाडिदिनु त्यहाँको सजाँय कटे पछि गाउँमै दुःखसुख बसौला भनें । तर उहाँले मान्दै मान्नु भएन । घरमा म एक्लै बस्तु भाउ हेर्नु, बुढा भएका सासु ससुराको स्याहार गर्नु मेरो कर्तव्य नै थियो । उहाँहरुको ६÷६ महिनाको अन्तरमा निधन भयो । त्यो चोटमा पनि उहाँ घर आउन पाउनु भएन । अरु भएका दाईहरुले त्यति वास्ता गर्नु भएन । विवाहको केहि समयमै भएको त्यो घटनाले मलाई विज्यो । 
    १२ वर्षको भर्खरको बालकै भनौ २५ वर्षको उमेरसम्म मेरा सपना, रहर, चाहना सबै सकिएका थिए । १३ वर्ष वित्दा समेत उहाँ फर्कनु भएन । गाउँका मान्छेहरुले खबर ल्याए उहाँको त जेलमै निधन भएछ । जेल भित्र निधन भयो वा बाहिर निस्किएर उसले सबै कुरा खोलिदिन्छ भनेर उसलाई भित्रै षड्यन्त्र गरेर मारे । विवाह गरे लगत्तै घर छाडेर हिडेका उनी कहिल्यै मेरो अंगालोमा बाँधिन पाएनन् । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा श्रीमान्को माया र ममतामा कहिल्यै बस्न पाईनँ । हेर्दा हेर्दै म विधवा बनें । गाउँलेहरुले एकाएक मेरो कपडा परिवर्तन गरिदिए । विवाहित तर श्रीमान्को न्यानो काखमा रम्न नपाएकी बुहारी र श्रीमती बनें म । केहि वर्ष अझै मैले त्यस्तै यातना पाएँ । श्रीमान्को लागि अलच्छिनी बनें । विवाह गरे लगत्तै जेल जानु र मृत्यु हुनु मेरो दोषको कारण थियो त्यहि भने गाउँलेहरुले ।
    माईतीको बुबा आमाले मलाई अर्काे विवाह गर्न सल्लाह दिनुभयो । जीवनमा कोहि न कोहि साथी अवश्य चाहिन्छ । न त्यो श्रीमान्सँग केहि सम्बन्ध भयो । न त्यसबाट घर हुने भयो । बंशको निरन्तरताको लागि भन्दा पनि उमेर ढल्दै गएपछि साहराका लागि पनि विवाह आवश्यक छ भन्ने निष्कर्षमा पुगेपछि त्यस्तै श्रीमती मरेको केटा खोजिएछ । उसको पनि विवाह गरेको केहि दिनमै श्रीमती रुखबाट लडेर मृत्यु भएको रहेछ । जस्तालाई तस्तै जोडी मिल्यो भन्दै उसको र मेरो विवाह गरिदिए । २०४५ सालमा हामी गाउँ छाडेर काठमाडौं आयौं । केहि समय मकवानपुरमा बस्यौं । त्यहाँबाट हामी दुवैजना काठमाडौमा आएर अरुको घर कुर्ने काम गर्न थाल्यौं । उनी अरुको घरमा काम गर्न जान्थे । म जसको घरमा बसिरहेको हुँ त्यहि घरमा काम गरिदिन्थें । 
    हामीलाई खान र बस्नको अलावा मासिक केहि सय पैसा पनि दिने गरिएको थियो । त्यहि लोभमा हामी केहि वर्ष बस्यौं । साँच्चै त्यो हाम्रा लागि घर नै भएको थियो । त्यहि बस्दा मैले ६ वर्षको अवधीमा दुई सन्तानलाई जन्म दिएँ । पहिलो छोरा जन्मिएपछि श्रीमान केहि समय रसुवामा काम गर्न जानुभयो । रसुवामा काम गरेर फर्किएपछि छोरी जन्मिई । छोरी जन्मिएपछि उहाँ कामको सिलसिलामा धरान जानुभयो । गाडीमा काम गर्ने भन्दै उहाँले धरानमा केहि समय विताउनु भयो । म त्यहि बसिरहें । सायद त्यो घर कर्म घरका रुपमा चिनियो । धरान गएका श्रीमान्को बानी विग्रिएछ । उहाँ चुरोट विँडीका अलावा जे जे भेटिन्छ त्यहि खान थाल्नु भएछ । भारतको सिमानाबाट लागु औषधका सामानहरु ओसारपसारमा उहाँलाई प्रयोग गर्न थालिएको रहेछ । केहि समय पछि घर आउँदा उहाँले सबै कुरा भन्नुभयो । मैले काममा जानु पर्दैन भनें तर उहाँलाई घरमै लिन आए । प्रहरीको पनि डर हुन्छ भन्दै उहाँलाई जान भनियो । मैले सोचें पहिलो श्रीमान् प्रहरीकै कारण ७ वर्ष जेल परेर वित्नु भयो ।
    महिलाहरुको कर्म र मर्म जसले भोग्छ उसले मात्रै बुझ्छ । छोराहरुले चाँहि बाबुहरुको पीडा मेटाइ देलान् भनेर रात दिन खाई नखाई अर्काको भाँडा माझेर, बचन खाएर हुर्काई बढाई आखिर त्यो बेकार रहेछ । गलत संस्कृति र संस्कार, मियो बिनाको दाई, अभिभावक विनाका सन्तान उस्तै रहेछन् । छट्पटिनु, रुनु, चिच्याउनु अनि समाजका अगाडि सेता दाँत देखाउनु बाहेक मान्छेको जीवन अरु के नै रहेछ र ? आखिर काल पर्खर्ने बाहेक अरु के नै पो भो र ? 

रामप्रिया गोले
सुर्यविनायक, काभ्रे