दिपावली सकिएको छ । विजया दशमी, नेपाल सम्वत्, छठ पर्व पनि सकिएको छ । हरेक चाडपर्वहरु हरेक ब्यक्तिका लागि खुशीको बहार ल्याउँछ तर सबैमा त्यस्तो हुँदो रहेनछ । औंसीको अँध्यारो रातलाई उज्यालो बनाउन जसरी दिप प्रज्वलन गरी लक्ष्मीपुजा गरिन्छ त्यसरी नै ब्यक्तिको मन उज्यालो बनाउन सकारात्मक सोच र कर्म गर्नुपर्छ । लाग्छ कर्म जे ग¥यो फल त्यहि प्राप्त हुन्छ । पुस्ताले छाडेका अंशहरुलाई सम्हाल्दै आफुले गर्ने कर्मलाई सकारात्मक बनाउन सक्यो भने मात्रै ब्यक्तिको जीवन सहज, सरल र आनन्ददायी हुने रहेछ । हिजो केहि थिएन वा भएन । आफ्नो बशमा पनि राख्न सकिएन । आज सबै छ तर आफै भित्र केहि छैन । एकल वा एक्लो मन । मनले खोजेका भावना र अंशहरु । कोभिड, अन्य विपत्ति वा ब्यक्तिका जीवनमा आईपर्ने तमाम समस्याहरु त्यसकै सिकाई र भोगाई हुन् । कसलाई भनांै वा कसरी ब्यक्त गरौं । आफ्ना भोगाई र अनुभवले समाजको पुस्तालाई ज्ञान मिल्यो भने जीवनमा पुन्य त्यहि रहेछ । धर्म गर्न मन्दिर मात्रै धाउनु पर्दैन । जन्म दिने बाबु आमालाई मात्रै सेवा गर्न सक्नु भयो भने त्यहि मिल्ने रहेछन् भगवान् । त्यहि रहेछ धर्म । त्यहि रहेछ सन्तुष्टी ।
मान्छे जन्मछ । जन्मे लगत्तै थाहा छ कि उ एक दिनमर्छ । कोहि जन्मे लगत्तै मर्छ । कोहि केहि दिन बाँचेर मर्छ । कोहि जुनी जुनी बाँच्छ । जुनीजुनी बाँच्ने मान्छेको कर्मले रहेछ । भौतिक शरीर नहुँदा पनि ब्यक्ति र उसका कर्म बाँच्ने कुराले वास्तवममै मान्छे भएर जन्मेको महसुस हुँदो रहेछ । हामी त्यहि अभागी सन्तान हौं जसले अभिभावकको सेवा गर्न सकेन । सुख, सयल र समृद्धिका नाममा आफ्नो ब्यक्तिगत रमाईलोमा व्यतित गर्न थाल्यौं । अभाव भन्ने नै कहिल्यै महसुस भएन । दुःख के हो ? महसुस नै भएन । नेपालमा हामी जस्ता थुप्रै सन्तान छन् । तर हामी भन्दा धेरै नागरिकहरुको संख्या एक गाँस खान पनि धौ–धौ पर्ने अवस्थाका सन्तान रहेछन् । त्यति पनि हामीलाई ख्याल थिएन । विद्यालय सम्पन्नमा अध्ययन गरियो । घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर आउँदा पनि केहि होला कि भन्ने त्रासमा अभिभावकहरु हुनुहुन्थ्यो । नेपालको नाम चलेको विद्यालय बुढानिलकण्ठमा अध्ययन गर्ने अवसर पाउनु ठुलो कुरा थियो । हामीलाई त्यतिबेला पनि लाग्थ्यो साँच्चै सबै बालबालिकाहरुले हाम्रो जस्तो अवसर पाउँछन् होला र ? तर भ्रम कति थियो भने सबै बालबालिकाहरुले यस्तै विद्यालयमा पढिरहेका होलान् । राजपरिवारका सदस्यहरुले अध्ययन गर्ने विद्यालय भएकाले पनि त्यसलाई चर्चाको विषय बनाईन्थ्यो ।
बाल्यकालका थुप्रै अनुभव छन् । रमाईला पक्षहरु धेरै थिए । शिक्षकहरुले गर्ने ब्यवहार र घरमा गरिने ब्यवहारले कहिलेकाँहि हामी अलग्गै संसारका मान्छे पो हौ कि जस्तो लाग्थ्यो । सुविधाका हिसाबले धेरै थियो । अध्ययन सकेर हामी अमेरिका गयौं । थप अध्ययनका लागि बुबाआमाले उता नै पठाउनु भयो । हामी दुई सन्तान । दुबै सन्तानको अनुभव एउटै थियो । बुबा सरकारी कर्मचारी । अवसर र अध्ययनका हिसाबले पनि उहाँहरु धेरै राम्रो हुनुहुँदो रहेछ । दरबारको पनि उहाँ निकट हुनुहुन्थ्यो । हामीलाई अमेरिका पठाएपछि उहाँहरु नेपालमै रहनु भयो । हामीसँग कहिलेकाँहि आउने जाने गर्नु हुन्थ्यो । उहाँले नेपालमा छाडेका केहि अनुभवहरु पनि थिए । जागिरको अवधीमा उहाँले शुरु गरेका धेरै अभियानहरु पनि रहेछन् । उहाँले प्रकाशन गर्नु भएका किताबहरुमा धेरै कुरा उल्लेख गरिएको छ । मुलुकको शासकीय ब्यवस्थामा आएका परिवर्तन र त्यसका असरहरुका बारेमा पनि त्यहाँ उल्लेख छ । नेपाल कसरी विदेशीहरुसँग उँचो राखेर कुरा गर्न सक्छ ? नेताहरुले नेपाललाई कसरी विदेशी सामु प्रस्तुत गराएका छन् ? उनका सन्तानहरुले कसरी फाईदा लिन्छन् ? कसरी आफु अनुकूल बनाउने प्रयास हुन्छ ? थुप्रै विषय छन् ।
हामी अमेरिकामा बस्थ्यौं । हाम्रो परिवार उतै रह्यो । नेपालमा बुबा आमा मात्रै रहनु भयो । उमेरले ७० कटेपछि उहाँहरुलाई सहाराको खाँचो भयो । हामीले अमेरिकामा नै बसांै भन्यौ उहाँहरुले मान्नु भएन । जीवनका सबै समय नेपालमा बिताएकाले मर्ने बेलामा किन विदेश ? उहाँको कुराले मन छोयो । तर हामी तत्कालै उहाँसँग आउन सम्भव थिएन । अहिले नेपालमा अधिकांश युवाहरु विदेशिने तयारीमा हुनुहुन्छ । विदेश जान पाए संसार नै आफुले जितेको हो कि ? भन्ने महसुस गर्नु हुन्छ । त्यस्तो होईन र हुँदैन पनि । तर सबैलाई भ्रम त्यहि छ । बुबाआमा अमेरिकामा बस्न नचाहने ? हामी आउन नसक्ने ? उहाँहरुलाई पनि अभाव त केहि थिएन तर अभाव एउटै थियो बुढेसकालमा आफ्ना सन्तान आफैसँग रहून् बसुन् । त्यो सम्भव नभए पछि उहाँहरुले हामीलाई नेपालमै केहि गर्ने गरी पेशा ब्यवसाय शुरु गर्ने प्रस्ताव गर्नुभयो । हामीले भन्यौं नेपालमा वातावरण नै छैन ? उद्योग खोल्यो हड्ताल हुन्छ । बन्द हुन्छ । बिजुली छैन । मजदुर छैनन् । समस्या नै समस्या छ । उद्योग चल्यो चन्दा आतंक शुरु हुन्छ । उत्पादन ग¥यो बजार छैन । बजार भयो पैसा उठ्दैन । बैंकको समस्या छ । ऋणको समस्या छ । उहाँलाई यति धेरै मनाउने कोशिस ग¥यौ उहाँ अन्तत आफै पराजय हुनु भयो र भन्न नै छाडिदिनु भयो । बुबाआमाको धेरै कर भए पछि हामी दाजुभाई मध्ये एकजना नेपालमा बस्ने निर्णय ग¥यौं । मेरो परिवारले मानिरहेको थिएन । आधा आधा समय उता यता गर्ने भनेर हामीले निर्णय ग¥यौं । जुनबेला हाम्रो निर्णय सहितको तयारी भयो त्यसबेला सिङ्गो विश्व कोभिडको आक्रान्तमा प¥यो । बुबा आमाको स्थायी बसोबास बनेपामा हो । बनेपाबाट हामी ललितपुर बस्न थालेका थियौं । बनेपा र ललितपुरमा आधा आधा बसोबास हुन थाल्यो । पछि बुबाआमा काठमाडौमा बस्नु भएको थियो । सम्पतिका हिसाबले हामी सँग पर्याप्त थियो । त्यो सम्पत्ति पनि कति छ ? के छ ? बुबालाई बाहेक हामीलाई जानकारी थिएन पनि हामीले लिने प्रयास पनि गरेका थिएनौं । किनकी हामीलाई नेपालको सम्पत्ति आवश्यक पनि भएको थिएन ।
नेपाल आउने निर्णय भएको केहि दिनमै विश्व कोभिडले आक्रान्त बन्यो । नेपाल लगायतका मुलुकहरुले लकडाउन गरे । अमेरिकामा पनि धेरै नागरिकहरुको ज्यान गयो । सुविधा सम्पन्न भनिएका मुलुकहरुले रोक्न नसकेको कोभिड महामारीको नियन्त्रण नेपालले कसरी गरोस् ? जसको देशमा कोभिड परिक्षण गर्ने मेशिन पनि थिएन । केपी ओली नेतृत्वको सरकार प्रति म आभारी छु जसले नेपालमा कोभिड परिक्षण गर्ने मेशिनहरु ल्यायो । कोभिडकै कारण गाउँ तथा दुरदराजमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका नागरिकहरुका लागि अस्पताल निर्माणको प्रकृया शुरु भयो । भलै आजको भोली नहोला तर नेपालका सबै स्थानीय तहमा शुरु भएका अस्पतालहरुले पक्कै पनि आधारभुत स्वास्थ्य सेवा दिने नै छ । हामीले प्राप्त गरेको अभाव विनाको सेवाले आम नागरिकलाई सम्बोधन गर्दैन थियो । कोभिड धेरै परिवारका लागि पीडा बनेर आयो । धेरै ब्यक्तिलाई पीडा दियो तर आम नागरिक र नीति, सोच र ब्यवस्थापनका हिसाबले अवसरका रुपमा रह्यो । हामी तत्कालै नेपाल आउन चाह्यौं । सम्भव भएन । बुबा आमालाई सामान्य ज्वरो आउन थाल्यो । उहाँहरु घर बाहिर जानै पर्दैन थियो । तर त्यसले मात्रै हुँदो रहेनछ । बुबा आमालाई बाहिरबाट ल्याउने दुध, तरकारी तथा अन्य खाद्यान्नहरुका कारण समस्या देखिन थाल्यो । जतिसुकै भने पनि विपद्मा कोहि आफ्नो नहुने रहेछ । विपद् बाजा बजाएर पनि नआउँदो रहेछ ।
लक्ष्मीपुजाको दिन थियो । निस्पट अँध्यारोलाई भगाउन हामी अमेरिकामा बुबा आमा नेपालमा लक्ष्मी पुजाको तयारी गरिरहेका थियौं । बुबालाई केहि दिन देखि भएको अस्वस्थताका कारण अस्पताल जाने कुरा हुँदै थियो । घरमै उपचार हुन्छ भने महामारीका बेला किन अस्पताल जाने ? भन्ने सल्लाह भयो । चिकित्सकहरुको नियमित परामर्श थियो । अस्पतालमा पुगेर पनि कोभिड सर्ने डर थियो । चिकित्सकहरुले पनि विरामीलाई भन्ने बाहेक तत्काल केहि गर्न सक्ने अवस्था थिएन । बुबाको अक्सिजनको लेभल कम हुँदै गयो । हामी अमेरिकाबाट भनिरहेका थियौं उहाँले त्यहि अनुसार गरिरहनु भएको थियो । तर हामी बीचको भौतिक उपस्थिति हुन सकेको थिएन । तिहारको टिकाकै दिन थियो । बुबालाई तत्कालै अस्पताल लैजानु प¥यो । कोभिडको शंका भएकाले घरमा अरु मान्छेहरु आउने कुरा पनि भएन । कतिसम्म भने बुबा विरामी भए पछि खाद्यान्न ल्याउने, दुध र तरकारी ल्याउने मान्छेहरु पनि घर भित्र आउन छाडे । उनिहरुले घरको गेटमा सामान राखेर बाहिरिन थाले । उठ्न सकेका बुबा आमालाई अस्पताल लैजाने मान्छे पनि भएन । पीडा त कति भयो कति ? हामीसँग पैसा थियो । सम्पति थियो । बुबाआमाले समाज र समुदायका लागि धेरै सेवा पनि गर्नु भएको थियो । हामी सन्तान पनि थियौं । तर जब विपद् भयो त्यो केहिले काम गरेन । न बुबालाई अस्पताल लैजाने कोहि आफन्त भए । न छिमेकी भए । न नातागोता भए । हामी अमेरिकामा रुने, बुबाआमा नेपालमा रुने । विडम्वना भयो । एकजना बाल्यकालका साथी थिए । बुढानिलकण्ठ विद्यालय अध्ययन गर्न जानु अघि भक्तपुरका ति साथीलाई अनुनय विनय गरें । उसले पनि खास सदासयता देखाएन । कारण हामी नै थियौं । हामीले पैसाका लागि काम गरेका रहेछौं । समाज र समुदायका लागि केहि गरेका रहेनछौं । त्यो घटनाले अनुभूति भयो ब्यक्ति जहाँ जन्मेको छ त्यसले आफु जन्मेको स्थान र समाजलाई कहिल्यै भुल्नु हुँदैन । उ जहाँ पुगोस् जतिसुकै सम्पन्न होस् । आखिर मान्छेलाई एकदिन मान्छे नै आवश्यक पर्ने रहेछ । बुबालाई उसकै माध्यमबाट अस्पतालबाट आएका नर्सहरुको माध्यमबाट उपचारका लागि अस्पताल पु¥याईयो । आमा एक्लै । आमा पुनः विरामी हुनु भयो । दुबैजनालाई दुई दिनको फरकमा अस्पताल पु¥यायौं । दुबैजनामा कोभिड देखियो । कोभिडले च्याप्दै लग्यो । कोभिडकै कारण बुबालाई बचाउन सकेनौं । तिहार सकिएको चौथो दिन बुबाले हामीलाई छाडेर जानुभयो । आमा अस्पतालको बेडमा छटपटाई रहनु भएको थियो । आमालाई बुबाले संसार छाडेको थाहा थिएन । हामी अमेरिकामा पीडामा थियौं । बुबाको निधन हुँदा पनि सहज रुपले आउन नसक्नु, उहाँको शरीरलाई छुन नपाउनु हाम्रो बाध्यता थियो । सरकारले कोभिडबाट मृत्यु भएका ब्यक्तिहरुको आफै अन्त्येष्टि गरिरहेको थियो । झनै पीडा महसुस भयो । बुबा वित्नु भएको ९ दिन पछि आमा पनि बित्नु भयो । कोभिड अनि हामी । हाम्रो बाध्यता अनि हाम्रो सुखसयल । सन्तान भएर पनि अभिभावकको मृत्युमा समेत उपस्थित हुन नसक्ने परिस्थितिले हामीलाई बेचैन बनायो । दुबै जनाको काजक्रिया हाम्रो परम्परा अनुसार उतै ग¥यौं । नेपाल आउन मन भए पनि सम्भव भएन । हामीलाई नेपाल र नेपालीप्रतिको अगाध माया र स्नेह हुँदा हुँदै पनि एउटा सन्तानले अभिभावकलाई दिनुपर्ने भावनात्मक सम्बन्ध दिन नसके पछि सदाका लागि अमेरिका त्याग्ने निर्णयमा हामी पुग्यौं । कोभिड अहिले पनि कम भएको छैन । खोप लगायतका सावधानीका कारण कोभिड नियन्त्रण उन्मुख छ । तर पनि सचेत हुनु जरुरी छ ।
म एक वर्ष पछि नेपाल आएँ । नेपालको पछिल्लो अवस्थाबाट झनै दिक्क बनायो । सडकमा मान्छे र उनका कारण । दैनिक हुने आत्महत्या । जर्बजस्ति करणी । नेताहरुका आफ्नै बाध्यता । कुनै अर्ति उपदेश भन्दा पनि मलाई सन्तान भएर अभिभावकलाई गर्न नसकेको माया र सद्भावले मन जलाई रह्यो । उहाँका समकक्षीहरु, उहाँले दिनु भएको योगदानका बारेमा भएको स्मरण । एउटै शब्दमा भन्न मन लाग्यो । पैसा र सम्पति भन्दा ठुला जन्म दिने बाबु आमा हुन् । बाबुआमाको सेवा नै धर्म हो । पुण्य कर्म हो । पैसाका पछि नलागौं । आफ्नो मात्रै हित चाहनेले आफु मान्छे भएर समाज र राष्ट्रलाई के दिन सके ? त्यहि विचार गरौं । अभिभावक विहिन हामी टुहुरासँग अरबौंको सम्पति भए पनि त्यसको के अर्थ । जो सँग उसलाई जन्म दिने अभिभावक नै छैन ।
अच्युत प्रधानाङ्ग
हालः अमेरिका





