2026 August 19/ 01:53: 16pm

    सरकार गरिबी निवारण शुन्यमा बनाउने अभियानमा जुटेको भाषण सुनाउँछ । नेताहरुलाई पद र कुर्सीकै चिन्ता छ । अहिले त तीन तहका सरकार र सरकारका नेताहरुको उद्देश्य नै आफु र आफ्नालाई कसरी सम्पन्न बनाउँ भन्ने छ । गरिबहरुको पीडा, ब्यथा र भोगाई कसले महसुस गर्न सक्ला र ? मान्छे भएर बाँच्नका लागि मान्छेले के गरिरहेको छैन ? के गर्न बाध्य छ ? नेपालका शासक र शासन चलाउनेहरुलाई थाहा होला र ? कानूनले त्यसलाई अपराध भन्छ । भोकै मर्नु अपराध हो कि भोक मार्न हामीले गरेको कार्यलाई अपराध भन्ने ? प्रहरी, प्रशासन हाम्रो खोजी गर्छ । हामीलाई पक्राउ गर्छ र कानुन अनुसार हिरासतमा राखेर अदालत जेल पठाउँछ । समस्या समाधान भयो त ? पक्कै भएको छैन । झण्डै तीन दशक देखि शुरु भएको यो ब्यवसाय कहिले धेरै हुन्छ । कहिले सुस्ताउँछ त कहिले कम हुन्छ । भुकम्प होस् वा कोरोना भाईरस । जति र जस्तो अवस्थामा पनि ब्यक्तिले भर्नु पर्ने पेटकै कारण ब्यक्ति जस्तोसुकै कदम उठाउन पनि विवश छ । बाध्यतामा छ । त्यहि बाध्यताले उसले गर्ने कर्महरु अपराधमा उन्मुख भएका छन् । 
    बाल्यकालको के कुरा गरम खै । दुःख दुःखैमा हुर्किएको जीवन उमेर बढ्दै जाँदा पनि दुःखमै वित्यो । अभाव, दवाब र तनाब नै रहिरह्यो । त्यहि अभावका कारण विभिन्न पेशा ब्वसायमा रमाउँदा रमाउँदै आफ्नै शरीरको अंग समेत विक्री गर्न पुगे । त्यो पनि अभाव नै थियो । आफ्नो दुःख र पीडामा कसैलाई फसाउने योजना बनाईएन । मलाई पनि त्यस्तै ललाई फकाई भारतका विभिन्न स्थानमा पु¥याईएको थियो । थोरै पैसाको प्रलोभन भनौ वा प्राप्तिको आशमा मैले पनि त्यहि काम गरें । अहिले पीडितकै उजुरीका आधारमा प्रहरीको हिरासत सकेर कारागारमा पुगेका छौं । हामी आफैले त्यो काम गरेका थिएनौं र होईनौं । हाम्रा नाममा पैसा कमाउने र त्यहि पेशा गर्नेहरु पनि छन् । भारत पुगेर शरीरको अंग विक्री गर्ने भनेका सबै गरिबहरु छन् । अझ धेरै दलित समुदायका छन् । महिला र पुरुष बराबर छन् । महिला पुरुषमा भिन्नता हुने भएकाले आवश्यकता अनुसार ब्यक्तिहरुको ओसार पसार भईरहेको छ । अझै हुन्छ होला । सायद नेपालको कानुनी पाटो र त्यसको कार्यान्वयन एकदमै फितलो छ । त्यसको फाईदा उठाउँदै केहि दलालहरुले गरेको कुकर्मले हामी फसिरहेका छौं । घरमा के खाने र के खुवाउने भन्ने चिन्ता एकातिर छ । अर्काेतिर आफु जेलमा रहँदाको पीडा कसलाई सुनाउँ ? 
    केहि दिनअघि बनेपा ५ का एक युवाले हामी विरुद्ध उजुरी दिएका रहेछन् । त्यहि उजुरीका आधारमा ६० दिन प्रहरी कार्यालय बनेपाको हिरासतमा बसेर असोज २० गतेबाट धुलिखेलको कारागारमा बसेका छौं । दशै तिहार हाम्रा लागि आकाशको फल बनेको छ । ति युवाको पीडा र हाम्रो उस्तै हो । उनि अहिले खुल्ला छन् हामी जेल भित्र । उनको परिवारका अन्य सदस्यको पनि अंग विक्री भएको छ । अब उनले विक्री गरे । उनले पनि अरुलाई विक्री गराउने अभियानमा लाग्न बेर छैन । किनकी उनको घरको अवस्था पनि त्यस्तै छ । सानो बच्चा, बच्चाको आमा झनै बच्चाकै उमेरकी छिन् । घर परिवारमा कठिन अवस्था छ । त्यहि कारण उनले पनि शरीरको कुनै भाग विक्री गरेर जीवीका चलाउने योजना बनाएका थिए । उनकै उजुरीले म लगायतका केहि साथीहरु कसरी फस्यौ ? घटना के थियो ? आम नागरिकले बुझ्नु जरुरी छ । 
    नेपालमा मैले थुप्रै मेहनत र परिश्रम गरें । त्यहि श्रम र पसिनाका कारण केहि समय सहज पनि थियो । केहि गर्न सकिन्छ कि भन्ने सोचले कहिले कुन पेशा त कहिले कुन पेशा अपनाई । केहि लागेन । परिवार पाल्नै धौ–धौ भएकाले म बैदेशिक रोजगारको सिलसिलामा २ बर्ष कतार बसी नेपाल आएँ । पछिल्लो समय काठमाडांैमा कोठा भाडामा लिई श्रीमती, छोरा र छोरीसँगै बसी ज्याला मजदुरी काम गर्दै आएको थिएँ । आजभन्दा करिब ४ बर्ष अगाडी मलाई एकिन नाम थाहा नभएको मेरो नातामा मामा पर्नेलाई मेरो सहमतीमा किड्नी दिएको थिए । त्यो सबै कागजातमा थियो सम्बन्ध र सहमति । नाता खुल्ने खालका कागजात तयार गर्ने काम नेपालकै कुनै स्थानमा हुने रहेछ । त्यसका लागि एउटा समुह नै सक्रिय रहेछ । त्यो गरे बापत निजले मलाई ५ लाख दिएका थिए । उक्त पैसाले मैले कपन भन्ने स्थानमा होटल खोलेको थिएँ । लकडाउनमा होटल नचलेको कारण भाडा तिर्न नसकेर होटल बेची डेरा कोठामा बस्दै आएको छु । शरीरको अंग विक्री गरेर राखेको होटल पनि कोरोनाले संकटमा प¥यो । बैदेशिक रोजगारमा गएर ल्याएको रकमले खान धौ–धौ थियो । अहिले न काम, न रोजगार । कोरोनाले पेशा ब्यवसाय पनि संकटमा परे पछि बेरोजगार बसिरहनुको विकल्प थिएन । 
    २०७७ फागुन १४ गते मेरो पहिला देखि नै चिनजान भएको माईला भन्ने कुमार परियारले मेरो मोबाईल नम्बर ९८४०३७६७९७ मा सुमन दाई म सँग काम गर्ने मानिस छ उसले भारतमा काम गर्छु भनि बताएका छन् भन्दै फोन गरेका थिए । त्यसपछि मैले हुन्छ लिएर आउनु भनेको थिएँ । मैले बुटवल बजारमा भेट्ने दिपक घिमिरेलाई फोन गरी एउटा काम आएको छ के गर्ने भन्दा दिपक घिमिरेले अहिले कुनै काम आएको छैन म पहिले बुझेर तिमीलाई फोन गर्छु भनेका थिए । २०७७ फागुन २० गते दिपक घिमिरेले मलाई फोन गरी काम आयो दिलिप तामाङ तिमी भएको ठाउँमा आउँछ को मान्छे हो तिमी दुई जना बसी कुरा गर्नु भने पछि मैले माईला भन्ने कुमार परियारलाई फोन गरी काम होला जस्तो छ मान्छे लिएर काठमाडौको कपनमा आउ भनेको थिएँ । २०७७ फागुन २१ गते माईला भन्ने कुमार परियारले रबिओपीका ति युवालाई काठमाडौको कपन भन्ने स्थानमा लिएर आएपछि एक छिन छलफल गरी पछि फोन गरौंला भनि उनिहरुलाई घर पठाई दिएँ । सोहि दिन बेलुका दिपक घिमिरेले मलाई फोन गरी भोलि नै जानुपर्ने भयो मान्छेलाई बोलाई राख भनेपछि मैले भोलिपल्ट माईला भन्ने कुमार परियारलाई फोन गरी जाहेरवालालाई लिएर आउनु आज नै जानुपर्ने भयो म र दिलिप तामाङ कलंकी गएर बस्छौं तिमीहरु त्यही आउ भनेपछि कलंकीमा रविओपीको भाई, माईला भन्ने कुमार परियार र कुमार भन्ने राजकुमार परियार आएका थिए । त्यसपछि माईला भन्ने कुमार परियार कलंकीबाटै घरतिर आए भने म, दिलिप तामाङ, कुमार भन्ने राज कुमार परियार र तिनै युवा बस चढी काँकडभिट्टा हुँदै भारतको कलकत्ता सम्म गएको थियौंं । ति युवालाई भारतको कलकत्ता भन्ने स्थानमा लगि प्रदिपमान बैद्य र निजको श्रीमती कल्पना श्रेष्ठ, र राज भने व्यक्तिको जिम्मा लगाई म १ हप्ता जति त्यही बसें भने दिलिप तामाङ र कुमार भन्ने राजकुमार परियार काठमाण्डौ फर्की आएका थिए । त्यसपछि मलाई मान्छे लगे बापत १ लाख दिनुपर्नेमा पछि नेपालमा नै पठाईदिन्छु भनि १० हजार रुपैयाँ दिएपछि म १ हप्ता पछि आफ्नो डेरा कोठामा आई ज्याला मजदुरी गर्दै आएको थिएँ । माईला भन्ने कुमार परियारलाई फोन गरी म भारतको कलकत्तामा होटलमा काम गर्दछु भनेको कुरा मलाई माईला भन्ने कुमार परियारले कलकत्ता गएको एक दुई दिनमै फोन गरी भनेका थिए । रविओपी एकलाई कि सम्पर्कमा ल्याउनु कि नेपालमा नै फर्काई दिनु भनि फोन गरेकोले म फोन गरेको एक हप्तापछि कलकत्ता गई रबिओपीका युवालाई भेटी तिमी नेपाल जाने की यही कलकत्तामा काम गरेर बस्ने भन्दा नेपाल फर्किन्छु भने पछि मैले कल्पना श्रेष्ठकै मान्छे दिपक घिमिरे, श्याम घिमिरे र साथी राज भन्ने व्यक्तीलाई जिम्मा लगाई काठमाण्डौ फर्की आएको थिएँ । म काठमाण्डौमा नै काम गरिरहेको थिएँ । माईला भन्ने कुमार परियारलाई र कुमार भन्ने राज कुमार परियारलाई फोन गरी म काठमाण्डौमा आएको छु मलाई लिन आउनु भनि बताएकोले निजहरुले काठमाण्डौको गौशाला तिलगंगा भन्ने स्थानमा लिन गएका थिए भन्ने कुरा सुनी थाहा पाएको हुँ । पछि ति युवाले मलाई ललाई फकाई जागिर लगाई दिन्छु भनि भारतमा लगि कोठामा बन्धक बनाई मेरो किड्नी निकाली सो बापत मलाई दुई पटक गरी पाँच लाख रुपैयाँ समेत दिएको भनेका थिए । त्यो पाँच लाखले उनले के के गरे उनैलाई थाहा होला । त्यसपछि मैले उनलाई भेट गरेको पनि थिईनँ । कुनैकुनै समयमा कलकत्ता जाने आउने गरेकै थिएँ । गरिब भएर गरिबी धान्न किड्नी विक्री गर्नुपर्ने अवस्था कसले श्रृजना ग¥यो । काभ्रेमा झण्डै एक सय ५० भन्दा धेरैले विक्री गरेको किड्नी किन सस्तो बनाईदैछ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने त्यस्तो असहज परिस्थिती कसरी सिर्जना भयो ? स्थानीय र प्रदेश सँगै संघ सरकारको दायित्व के हुन्छ ? हामी गरिबहरु यसरी नै बाच्नु पर्ने हो र ? अहिले हामी जेलमा छौं केहि छैन छुटे पछि हाम्रो अवस्था के हुन्छ ? थुप्रै प्रश्नहरुको घेरा भित्र म रुमलिरहेको छु् । हे सरकार पेट पाल्नकै लागि शरीरका कुनै पनि अंग विक्री गर्नु पर्ने अवस्था अन्त्य गराई देउ । 

सुमन दोङ
धुलिखेल काभ्रे