जन्मँदै कसले लिएर आएको हुन्छ र भाग्य ? गरिब र धनी । मान्छेको सोचको कुरा रहेछ । पैसा टन्न हुँदा धनी भन्ने कि शरीर नाङ्गो हुँदा गरिब भन्ने ? यसको परिभाषा पनि फरक फरक होला । २१ आंै शताब्दीमा हामी सूचना र प्रविधीको कुरा गरिरहेका छौं । प्रविधिको विकासले सबै कुरा विकास भयो भन्ने सोचिरहेका छौं । पूर्वाधार निर्माण मात्रै विकासको आधार हो ? गाउँमा सडक पुग्नु मात्रै विकास हो ? एक छाक नपाउने ब्यक्तिले खान पाउनु मात्रै विकास हो ? विकासका निर्माताहरुले ब्याख्या गरे अनुसार विकास हुनु मात्रै विकास हो कि ? आखिर के हो ? अझै बालबालिकाहरु उमेर नपुग्दै विवाह गरिरहेका छन् । उमेर नपुग्दै गरेको विवाह र विवाह पछि बन्ने आमाहरुको स्वास्थ्य ? दुर्गम क्षेत्रमा मात्रै होईन अहिले सुगम क्षेत्रमा पनि यो खालको समस्या देखिएको छ ।
भर्खर १६ वर्षको भएँ । मेरो उमेरका साथीहरु कक्षा १० कटिसके । मेरो त भाग्य नै त्यस्तै रहेछ । छैटौं दिन भावीले लेखिदिएको लेखान्त पनि त्यस्तै रहेछ । कसले बुझ्नु र ? गरिबको मुलमा जन्मिएपछि सबै कुरा खोजेर कसरी पाउनु ? भर्खर कक्षा ७ मा भर्ना भएको छु । रहर धेरै छन् । बीचमा छुटेको पढाई पुनः जोड्ने अवसर पाएको छु । यो अवसरको सदुपयोग जसरी भए पनि गर्नेछु । परिवारको कान्छो छोराको रुपमा जन्म भयो । जन्मँदा आमाले के सोच्नु भएको थियो होला ? नेपालीहरुको बानी कान्छो छोराले बुबाआमालाई पाल्नेछ वा बुढेसकालको साहारा भनेको त्यहि छोरा हुनेछ । त्यतिबेलासम्म आमालाई पनि थाहा थिएन होला म नै कान्छो सन्तान वा अन्तिम सन्तान हुनेछु । म भन्दा माथि जन्मिएका तीन छोरा पनि आमाको मायामा रमाइरहेका थिए । उनिहरुलाई जति गर्नु पर्ने हो मलाई पनि त्यति नै माया गर्नु भएको थियो होला । केटाकेटीहरुलाई सबै कुरा दिनुस् र बुबा आमाबाट टाढा लैजानुस् वा उहाँहरुको मायामा कमी गर्नुस् त्यसलाई उनिहरुले क्षमा दिने छैनन् । बच्चाहरु भनेका कलिला सोच भएका तर इख भएका ब्यक्ति हुँदा रहेछन् । मलाई पनि मनमा अनेक कुराहरु खेल्छन् । ब्यक्त गर्न सक्दिनँ । तामाङ बस्ति । उठ्ने वितिक्कै जाँड र रक्सी सेवन गरेन भने पाईलै अगाडि सर्दैन थियो । बरु विहान बेलुकाको चुल्हो बल्दैन थियो । बटुकामा जाँड राखेन भने त्यो घर नै होइन जस्तो हुने रहेछ । यतिखेर सुन्दैछु । अघिका सबै घटनाक्रमहरु । अझै यो कलिलो दिमागले सोच्न त के भ्याउँछ । चलन चल्तिलाई ब्यवहारीक बनाउन नसक्दा आखिर उ त मर्छन् नै बाँच्नेहरुले पनि दुःख पाउँदा रहेछन् । जुन राजनीतिक ब्यवस्था आए पनि आखिर मान्छेमा चेतना आउन सकेन भने त्यसले केहि लछारपाटो लाग्न सक्दैन । गाउँमा उत्पादन भएको अन्न सबै रक्सी पार्दैमा सकिन्छ । अनि साँझ ढल्कँदै गए पछि खानेकुरा खोज्दै दर्गुनु पर्छ । अझै धेरै स्थानमा यस्ता समस्या होलान् । म रेडियोमा कहिलेकाँहि सुन्छु यस्ता अभिभावकहरुका कारण धेरै बालबालिकाहरुले दुःख पाईरहेका छन् । अभिभावकहरु जिम्मेवार बनि दिन नसक्दा थुप्रै छोराछोरीहरुले समस्यामा बाँचिरहनु परेको छ । आमा भगवान हुन् । आफु मर्न तयार हुन्छिन् तर छोराछोरीहरुका लागि केहि दुःख देख्न सक्दिनँ थिइन् । बुबा सधै रक्सी खाएर आउँनु हुन्थ्यो । आमा घरधन्दा र खेतबारीको काममै ब्यस्त हुनुहुँदो रहेछ । धेरैले उहाँलाई दिएको सहानुभूतिले मात्रै उहाँ बाँचिरहनु भएको रहेछ । आज सुध्रला भन्यो छैन, भोलि सुध्रला भन्यो छैन । बाबुको रक्सी खाने आदतले परिवारै सकायो । भएको सम्पत्ति पनि सकियो । चार भाई छोरै छोरा । आमाका लागि त्यो खुशीको सीमा थिएन होला । सबै केटाकेटीहरुलाई पेटभरी खान दिन सकिएको रहेनछ क्यार भएको जमिनबाट उत्पादन भएको अन्नपातले लेकमा कति हुन्थ्यो र ?
अन्न ५ महिना खाँदा सबै सकिन्थ्यो । ज्याला पानी गरेर खानुपर्ने कति दिन कसकोमा गएर ज्याला गर्नु ? छोरा छोरीको मुखमा चारो हाल्न भन्दा बाबु मुखमा रक्सी पार्न आमाले धेरै दुःख गर्नु भएको रहेछ । बाबुको यातनाबाट पनि आमाले कहिल्यै छुटकरा पाउन सक्नु भएनछ । भगवान पनि साह्रै दयावान हुनुहुँदो रहेछ । हामी केटाकेटी लालाबालाको जे होस् बुबाको त्यो टोकेसोबाट मुक्ति दिन विरामी पारिदिनु भएछ । भर्खर ३÷४ वर्षको बच्चा मैले धेरै कुरा थाहा पाउनु । आमा विरामी भएपछि अस्पताल पनि पु¥याईएको रहेछ । आखिर आमाले यो संसार छाडेर जानुभयो । आमा वितेपछि पनि बाबुको मति सर्पान स्थानीयहरुले धेरै प्रयास गर्नु भएछ । घर ब्यवहार सम्हाल्ने आमा हुँदा त भनेको समयमा खान र लाउन सम्भव थिएन । अब त आमा विनाको घर र बच्चाहरु कसरी बाँच्नु ? समयले दह्रो बनाउन सक्दो रहेछ । ३÷४ वर्षको केटाकेटी छाडेर आमाले विदा लिए पछि हामीले कति संकट ब्यहोर्नु प¥यो होला । पहिला त बुबा २४ सै घण्टा रक्सी खाएर आमालाई र हामीलाई दुःख दिने । झन् आमा विनाको बाबुको स्वभाव र बानीले हामीलाई धुरुक्कै रुवायो । न बाबु भनेर अंगालोमा बस्न पाईयो । न आमा भनेर पीडा भन्न पाईयो । आमा विरामी पर्दा धेरै गाउँलेहरुले सहयोग गरेका रहेछन् । उहाँलाई अस्पताल पु¥याउने र अस्पतालमा पनि धेरै दिन आमाको उपचारका लागि साथ दिने ब्यक्तिहरु पनि पछि मैले भेटें । तर पनि आमालाई बचाउन नसक्दा उहाँहरु हाम्रो अनुहार हेरेर धेरै बेर पीडामा बस्नु भएको रहेछ । जे जे लेख्या हुन्छ त्यहि त्यहि त भोग्ने हो नि ? हामीले पनि त्यहि भोग्यौं । आमाको निधन भएपछि हामीले कहिल्यै दुई छाक खाएनौं । दाईहरु आफ्नै तालमा हुन थाल्नुभयो । बुबा त रक्सिको भट्टिमा बाहेक घरमा भेटिनै सकिदैन थियो । कोहि दाईहरु स्कुल जान्थे कोहि जाँदैन थिए । स्कुल पनि कसरी जानु ? के ले जानु ? घरमा खान त थिएन । किताब किनेर, कापी किनेर लुगा किनेर विद्यालय जान सक्ने हैसियत हाम्रो हुनु पनि प¥यो नि ? म पनि विद्यालय जान छाडें । शुरुमा क ख सिक्न विद्यालय गएको थिएँ । आमा नभएपछि कसले विद्यालय जा भन्छ र ? सबै बालबालिकाहरुका साहारा भनेको बुबा त अभिभावकको हिसाबले आफ्नै ठाउँमा महत्वपूर्ण हुन्छ नै तर आमा धेरै महत्वपूर्ण हुने रहेछ । आमा विना सन्तानको भविष्य साँच्चै अन्धकार छ । आफ्नी जन्म दिने आमा नभएपछि अरुले गर्ने ब्यवहार र भोगाई त कसरी आफ्नै जस्तो हुन सक्छ र ? ९ महिना गर्भमा रहँदा भोगेको पीडा र जन्मिएपछि उसले दिएको दुःख सँगैको चरम सुखले पनि आमा र केटाकेटीहरुको सम्बन्ध र ममता गहिरो हुँदो रहेछ । आमा वितेको ३÷४ वर्ष त्यसरी नै बित्यो । खेलेर दिनहरु बितेका थिए । भोक लागेको बेला खान पाउनु सम्भावना नै थिएन ।
बुबा पनि रक्सीकै कारण बित्नु भयो । म ७ वर्षको मात्रै थिए । केहि दिन मेरा दिनहरु त्यसै वितेछन् । भोक भनेको के हो ? न्यानो र आफ्नो भन्ने के हो ? पत्तो भएन । तीन दाजुहरु एकाएक घर छाडेर हिडेपछि कहिल्यै फर्केर आउनु भएन । आजसम्म पनि उहाँहरु मलाई भेट्न वा मेरो खबरका बारेमा जानकारी राख्न आउनु भएको छैन । करिब ६ वर्ष वितिसकेको छ । अब त फर्केर आउँदा पनि मैले पनि चिन्न सक्दिनँ कि ? उहाँहरुको मनमा पनि मेरो माया जागेन छ क्यार । खै के सोच्नु भयो । अरु दाईहरुले नसोचे पनि जेठो दाई हामी भन्दा धेरै उमेरले जेठो नै हुनुहुन्थ्यो । उहाँलाई त लाग्नु पर्ने हो पनि भाईहरुको बारेमा मैले केहि गर्नुपर्छ । कै कता कता गएर उहाँहरु आफ्नो जिवीका चलाउँदै हुनुहुन्छ म भन्न सक्दिनँ । मरे बाँचेको खबर पनि केहि छैन । यस्तो रणभुल्लमा मैले के गर्ने ? सायद म पनि त्यसरी नै मर्थे होला ? आज तपाईहरु सामु यसरी बोल्न र लेख्न पाउने अवस्था मेरो पनि हुँदैन थियो होला । दैबले मेरो साहारा सबै चुँडेर लगिसकेको थियो । जन्म दिने बाबु आमा दुवैलाई मृत्यु गराइदियो । आफु भन्दा ठुला ठानिएकाहरु पनि एकाएक छाडेर मलाई टुहुरो माथी टुहुरो गराईदिए । तर पनि भगवानले बाँच्ने आशाको त्यान्द्रो राखिदिएको हुने रहेछ । सबै मान्छे त्यस्ता मनमा दया नै नभएका हुन्छन् त ? साँच्चै नहुने रहेछन् । हुन त मेरा काकाहरु, ठुलोबाबुहरु पनि त थिए नि ? खै कसैले हेरेन मलाई । मेरो बुबाको नाममा भएको जग्गा कमाएर खाईरहेका छन् तर पनि मलाई यसको कोहि छैन भनेर घरमा लगेर राख्न सकेनन् । पढाउन सकेनन् । एक छाक खान दिन सकेनन् । एकसरो लगाउन दिन सकेनन् । आखिर म केटाकेटीले कति नै खान्छु होला र खाँए नै भने पनि ? भोलि हिसाब गरेर मागेकै भए पनि भोलिका दिनमा मैले तिर्न सकेँ भने दिन्थे पनि कि ? यस्तै कुराले कहिलेकाँहि मनमा आगो झोस्छ । धेरै पीडा चाँहि मर्ने त मरेरै गए गए बाँच्नेहरुले पनि मलाई किन यसरी दोबाटोमा छाडेर गए भन्ने लाग्छ मलाई ।
मेरो पीडा र ब्यथा देखेर छिमेकी दाजुले मलाई घरमा ल्याएर राख्नु भएछ । बुबाले रक्सी खाँदा बन्धकी राखेर बाँकी रहेको केहि जग्गा मेरै काकाहरुले कमाई गरिरहनु भएको रहेछ । उहाँ मेरो बुबा हुनुहुन्छ । जन्म दिदैमा नहुने रहेछ । कर्म दिने ब्यक्ति ठुलो रहेछ । उहाँको अनुहारमा आजसम्म मैले सिधा हेर्न सकेको छैन । उहाँले जति माया मलाई सायदै अब यो जुनीमा कि आमाले दिएर जानुभयो कि उहाँले नै हो । उहाँका पनि आफ्ना आफ्ना छोरा छोरी छन् । कोहि विदेशमा छन् । कोहि स्वदेशमै छ्न । आफ्नो आफ्नो पेशामा मेहनत गरिरहेका छन् । मलाई कुनै कुरामा कमि गर्नु भएको छैन । कुनै कुरामा भेदभाव गर्नु भएको छैन । सायद उहाँकै छोरा भएर जन्मनु पर्ने मेरो भाग्य थियो कि ? कहिलेकाँहि मलाई घरबाट निकालिदियोस् भनेर हो कि के हो मलाई खान र लगाउन दिएकोमा रिस गर्दा रहेछन् उहाँको । मलाई धेरै काममा लगायो भनेर आलोचना गरेको मैले नै सुनें । म गाउँका सबै मान्छेहरुको मुख थुन्न सक्दिन तर पनि उहाँले जति सेवा र धर्म तपाईहरुले एक इन्च पनि गर्न सक्नुहुन्नँ । ७ वर्षको उमेर देखि मलाई आफ्नै घरमा ल्याउनु भयो । खुवाउनु भयो । त्यो भन्दा ठुलो कुरा मलाई आँखा देखाउन विद्यालय पठाउनु भयो । बालबालिकाहरुले सबै कुरा प्राप्त गरे पनि शिक्षा पाउन सकेनन् भने तिनले के गर्न सक्छन् ? विद्यालय नजाने मेरो बानी विद्यालय जानेमा परिणत भयो । खेलेर खाने मान्छे नियमित अनुशासन र विद्यालय जाने हुन थाल्यो । म उहाँलाई दुख दिएर आफ्नो स्वार्थका लागि बसिरहेको छु । हामी जस्ता कोहि नभएका बालबालिकाहरुका लागि राज्यले केहि गर्नुपर्छ भन्ने लाग्छ । भविष्यमा म ठुलो मान्छे त के बनांैला र असल मान्छे बनेर यस्ता बालबालिकाहरुका लागि केहि गर्ने सोचाई बनाएको छु । सबैले भन्छन् नै त्यहि तर म भन्छु चेतना ठुलो हो । मेरो बुबालाई रक्सीको चेतना थियो भने मेरी आमालाई स्वास्थ्यको चेतना थियो भने दुवै जना बाँचिरहनु हुन्थ्यो । हामी अभिभावक विहिन हुनुपर्ने अवस्था आउँदैन थियो । मनका कुरा कति भनुँ ? भोगाई र अनुभूति कति हो कति ? मेरो जस्तो दुःख सायद पृथ्वीमा जन्मेका कोहि बालबालिकाहरुलाई नहोस् । भगवानसँग यहि प्रार्थना गर्दछु ।
सन्तबहादुर तामाङ
नमोबुद्ध नगरपालिका, काभ्रे









