2026 March 13/ 07:31: 54pm

काभ्रेली आमाबुबा, दिदीबहिनी, दाजुभाइ एवं पेसा, व्यवसायमा संलग्न प्रबुध्दवर्ग !
             सुशासनको सुनिश्चितता, भ्रष्टाचारको अन्त्य र योग्यता प्रणालीको थप सुनिश्चितता र सामाजिक सञ्जाल खुला जस्ता आम सरोकारको विषयसँग सम्बन्धित मागकासाथ वि.सं. २०८२ भाद्र २३ मा शुरु भएको आन्दोलन भाद्र २४ सम्म पुग्दा अनपेक्षितरुपले हिंसात्मक, अनियन्त्रित र भयावह बन्न पुग्यो । यही भयावहस्थितिको परिणामस्वरुप उत्पन्न विशेष परिस्थितिको कारणले अनेक प्रतिकूलताको बाबजुद पनि देश प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । यो निर्वाचन कुनै संवैधानिक वा कानुनी व्यवस्था अनुरुपको नियमित निर्वाचन नभएर तत्कालीन आवश्यकताले सिर्जना गरेको असामान्य अवस्थाको जनताको मतबाट निरुपण गर्नुपर्ने अति विशेष महत्वको क्षण हो ।
             मिति २०८२ फागुन २१ मा हुन गैरहेको निर्वाचनलाई सामान्य निर्वाचनकोरुपमा मात्र नबुझेर संघीय लोकतान्त्रिक गणतन्त्रको समयसापेक्ष संस्थागत विकास, नेपाली स्वाभिमान र राष्ट्रियताको सुदृढीकरण, पुनरुत्थानवादी शक्तिहरुको अवाञ्छित फुरफुरको जनमतको बलमा वैधानिक व्यवस्थापन, पुराना राजनीतिक दलहरुले बिराउँदै गएको गएको बाटो, भुल्दै गएको गन्तव्य र खैरो बनाउँदै लान आँटेको मूल्य÷मान्यताहरुको खरो स्मरण र शान्तिपूर्ण लोकतान्त्रिक मार्गबाटै समृध्दि हासिल गर्न सकिने मान्यता स्थापित गर्ने अभूतपूर्व अवसरको रुपमा ग्रहण गरिनु पर्दछ । 
             देशका अन्य ७६ जिल्लाहरुमा झै काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनको माहोल दिनानुदिन उत्कर्षतर्फ लाग्दैछ । यसै माहोलमा जिम्मेवार नागरिकको हैसियतले दानमा पनि महादान मानिने मतदानमा जुट्नुहुन सम्पूर्ण वालिग काभ्रेली जनमा यो परिषद् हार्दिक अपिल गर्दछ । यहाँहरुको निर्वाचनप्रतिको चासो, चिन्ता, जागरुकता, सक्रिय सहभागिता र विवेकपूर्ण मतदानले नेपाली जनताले तिरस्कार गरिसकेको निरङ्कुशसत्ताको पक्षपोषण गर्ने पुनरुत्थानवादीको छातीमा ढ्याङ्ग्रो ठोक्नेछ । लोकतन्त्र स्थापनाको लागि जीवन आहुती दिने शहीदहरु र जीवनमरणको लडाइ लड्ने सपूतको आत्मालाई शान्ति मिल्नेछ । जनबलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले दीर्घजीवन प्राप्त गर्नेछ । मतदानमार्फत तपाईंले व्यक्त गर्नु भएको देश र जनताप्रति गहन चासो र चिन्तालाई भविष्यमा लेखिने इतिहासको पानाले स्वर्णिम अक्षरमा अङ्कित गर्नेछ । तपाईं–हाम्रा भावीपुस्ताले देशमा नै गरिखान पाउने अवसर सिर्जना गर्न योगदान पुग्नेछ । अतः कस्तै अवस्थामा पनि एक जिम्मेवार नागरिकको राष्ट्रप्रतिको कर्तव्य सम्झेर अत्यन्त सुझबुझकासाथ मतदानमा सहभागी हुन सादर अनुरोध छ।
जहाँनिया निरङ्कुश राणाशासन, बर्बर एकदलीय निरङ्कुश पञ्चायती कालरात्री र पछिल्लो दशवर्षे कहालीलाग्दो सशस्त्र विद्रोह र छिमेकीहरुको अनेकानेक पटकको छिर्के छिचोल्दै नेपाली जनता सार्वभौम हुने संघीय लोकतान्त्रिक व्यवस्था कम कष्टले स्थापित भएको होइन । सरकार सञ्चालन अझ विशेष गरेर गठबन्धन सरकार सञ्चालनको क्रममा जनताप्रतिको जवाफदेहितामा दलहरुबाट केही कमजोरी भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभन्दा उत्कृष्ट व्यवस्था अर्को हुन सक्दैन । र, यो व्यवस्था लोकतन्त्रवादी दलहरु र व्यक्तिहरुले ज्यानको बाजी लगाएर लडेर ल्याएकोले उनीहरुलाई जति अरुलाई यसको माया नलाग्ने तथ्य सरासर बुझिने विषय हो ।
              व्यक्ति जतिसुकै योग्य, भव्य र सक्षम भनिए पनि उसका अनेकन मानवजन्य सीमा हुने भएकोले  बलियो जनाधार तथा प्रभावकारी सङ्गठनबिना उसलेवहुदलीय शासनप्रणालीमा अपेक्षित योगदान गर्न संभव हुँदैन । दल÷प्रणालीलाई वेवास्ता गरेर व्यक्तिलाई अनावश्यकतवरले देवत्करण गर्दै अनुचित तवरले प्रधानता दिदै जाँदा कालान्तरमा व्यक्तिवादिता र निरङ्कुशताको पुनरावृत्ति हुने खतरा रहन्छ । लोकतन्त्रले दिएको सुुविधा उपभोग गर्दै सस्तो लोकप्रियताको गैरजिम्मेवार कुरा गर्ने, मौका परेर देशमा डडेलो लगाउन पनि पछि नपर्ने तत्व र शक्तिबाट दीर्घकालसम्म लोकतन्त्र र सर्वसाधरणप्रति न्याय हुन प्रायः असंभव हुने तथ्यलाई ख्याल गर्दै उनीहरुका गुलिया देखिने फोस्रानारामा भुलेर अमूल्य मत खेर फ्याल्ने गल्ती गर्नुहुन । जनाधार नभएको दल र व्यक्ति जरा नभएको वृक्ष जस्तै हो भन्ने तथ्य मतदातालाई बोध हुनुुपर्दछ । 
            वि.संं २००६ सालमा संस्थापित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलाल, जननिर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् बृध्दभत्ता लगायतका सामाजिक सुरक्षा कार्यक्रमका सुत्राधार क. मनमोहन अधिकारी, माक्र्सवादी– लेलिनवादी, मान्यता र सिध्दान्तमा किञ्चित सम्झौता नगरी कम्युनिष्ट आन्दोलनलाई आवधिकरुपमा ञजनभट्टीमा खारेर यसलाई स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिकीकरणको माध्यमबाट अब्बल तुल्याउने नवदृष्टिकोण बहुदलीय जनवादका प्रणेता जननेता क. मदन भण्डारीको विरासत र तीसको दशकदेखि नै कम्युनिष्ट एकताको मूलप्रवाह बन्दै सूर्यध्वजावाहक ने. क. पा. एमाले धेरै पहिलेदेखि नै आमकाभ्रेलीहरुले रोजाइको पहिलो पार्टी हो । समृद्ध नेपाल, सुखी नेपालीको सपनासाँच्दै  कस्तै आँधीवेहरीमा पनि अविचलितरुपले पार्टीलाई कुशल नेतृत्व प्रदान गर्ने क. के. प. ओलीको अध्यक्षतामा सुसञ्चालित जनताको प्यारो पार्टी नेकपा (एमाले) र यस पार्टीबाट निर्वाचित सबैतह ( स्थानीय, प्रदेश र संघीय ) का जनप्रतिनिधिहरुले काभ्रे र काभ्रेबासीप्रति न्याय गर्ने अधिकतम प्रयास गरेको तथ्य काभ्रेबासी सबैलाई अवगत नै छ । 
              विगतको राम्रो परम्परालाई अझ उत्कृष्टताकासाथ निरन्तरता प्रदान गर्न यस पटकको निर्वाचनमा पनि नेकपा ( एमाले ) ले यहाँहरुको अमूल्य मत प्राप्त हुने र “सधैंको लालकिल्ला ; काभ्रेपलाञ्चोक जिल्ला” भन्ने विरासत अक्षुण्ण रहने विश्वासकासाथ देश, जनता र पार्टीप्रति इमान्दार र काभ्रेपलाञ्चोक जिल्लाको समृध्दि र गौरव अभिवृध्दिमा हरेक दृष्टिकोणले अधिकतम योगदान पु¥याउनसक्ने केन्द्रीय तहका नेताद्वय (क. अशोक व्याञ्जू क्षेत्र नं. २ र क. अमित लामा क्षेत्र नं.१ ) लाई पार्टीको प्रतिनिधिको रुपमा उमेदवार बनाएको छ । राजनीतिलाई जनसेवा र समृद्धिको वाहक बाहेक अन्य नठान्ने र आफूलाई नेकपा ( एमाले) को इमान्दार सिपाही मान्ने उहाँहरु काभ्रेबासीकाबीच सुपरिचित र उमेदवारमध्येका उत्कृष्ट उमेद्वार हुनुहुन्छ । “ निर्णायक राष्ट्रिय शक्ति निर्माण; हाम्रो सङ्कल्प, समृध्द नेपाल, सुखी नेपाली ; राष्ट्रिय गन्तव्य” भन्ने ध्येयकासाथ नेकपा ( एमाले) अहोरात्र जनसेवामा जुटिरहेको छ । यो सत्य काभ्रे सम्बध्द युवा, महिला, पेसाकर्मी, बुध्दिजीवी सबैले मनन गर्दै उमेदवार खासखास कालखण्डका पार्टीका वारेस हुन् र सबैभन्दा महत्वपूर्ण कुरा पार्टी हो भन्ने तथ्यलाई ख्याल गर्दै निर्धक्ककासाथ सूर्य चिन्हमा मतदान गर्न अपिल गर्दछौं । 
               संघीय लोकतन्त्रान्तिक व्यवस्थाको सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । यही आवधिक निर्वाचनमार्फत गुण–दोषको आधारमा सर्वसाधरणले निडरतापूर्वक सम्बन्धित दलको पक्ष, विपक्षमा मतदान गर्छन । दलहरुले पनि अभिव्यक्त जनधारणा तथा प्राप्त जनमतको आधारमा आफूलाई सुधार्छन् । यसैले लोकतन्त्रमा सर्वसाधरण (नागरिक) को स्थान र महत्व सर्वोच्च हुने गरेको हो । यही सर्वोच्चताको सार्थकताको लागि आम निर्वाचन जस्ता यस्ता विशेष अवसरमा सर्वसाधरणले पनि देश, समाज र आफू स्वयम्प्रति न्याय हुने गरी सोचिविचारी ठीक चिन्हमा मतदान गर्नुपर्छ । नेपालको सार्वभौमिकताको जगेर्ना, नेपाली विशेषताको समाजवादको स्थापना, योग्यता प्रणालीको बढोत्तरी, समृध्दिको तिव्र गति, संविधानमा समयोचित र तर्कसंगत समयसापेक्ष संशोधन, सुशासन र सदाचारको सुनिश्चितता, महँगो निर्वाचन प्रणालीमाथि गम्भीर चिन्तन, मनन, नेपाली राष्ट्रियताको जगेर्ना, युवाहरुको आकांक्षाको यथोचित संबोधन, समाजका जेष्ठनागरिक एवं प्रबुद्धवर्गको सम्मान र नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा नेकपा ( एमाले) को पहिचानका लागि समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमासूर्यचिन्हमा निर्धक्कताकासाथ मतदान गर्नुहुन फेरि पनि हार्दिक अनुरोध छ ।
             सुशासन, विकास, समृध्दि, समानता, साँचो अर्थको समावेशिता हासिल गरिने वाचासहित “राज्यको समृध्दिको लागि नागरिक र नागरिकको सुखको लागि राज्य” भन्ने सुस्पष्ट प्रतिबद्धतासहित निर्वाचनमा अभियानमा सरिक नेकपा एमाले यहाँहरुको मतका लागि घरदैलो अभियानमा जुटेको छ । कस्तै मूल्यमा पनि राष्ट्रिय स्वाधीनता र स्वाभिमानको जगेर्ना नेकपा ( एमाले) को उच्च प्राथमिकताको विषय हो । हाम्रो प्यारो नेपाललाई देशी विदेशी शक्तिको खेलमैदान हुनबाट जोगाउँदै राजनीतिक स्थायित्वको सम्बर्धन गर्दै समन्यायिक आर्थिक विकासको राजमार्ग पहिल्याउनु यसको अविचलित निष्ठा हो । यही कारणले गर्दा नै के युवा, के जेष्ठ नागरिक, के महिला, के प्रबुध्दवर्ग सबैको मनमष्तिस्कमा ने.क.पा. (एमाले) र सूर्य चिन्ह छाएको छ । अघिल्ला निर्वाचनहरुमा यहाँहरुको अमूल्य मतले निर्वाचित नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा विजय हासिल गरेका काभ्रेली जनप्रतिनिधिहरुले समग्र जिल्ला, क्षेत्रको विकासको पक्षमा प्रारम्भ गरेका दीर्घकालीन महत्वका कार्यहरु र समसामयिक राष्ट्रिय, अन्तर्राष्ट्रिय सवालमा सदन घन्काएको आवाज हामी सबैको मानसपटलमा ताजै छन् । जन्मभूमि र मतदाताप्रति जवाफदेही हुने असल जनप्रतिनिधिमा इच्छाशक्ति भएमा धेरैथोक गर्न सक्दो रहेछ भन्ने दृष्टान्त थिए, त कामहरु ।
             यिनै पृष्ठभूमिमा प्रारम्भ भैसकेका र शुरुहुन बाँकी दीर्घकालीन महत्वका विकासात्मक कार्यहरुको अविच्छिन्न सुसञ्चालन, बदलिँदो समयलाई सम्बोधन गर्ने अधिक प्रतिफलदायी नवपरियोजनाहरु  पहिचान र कार्यान्वय, समग्र जिल्लाको सन्तुलित विकास अभियानको निरन्तरता, केन्द्र एवं प्रदेशस्तरीय राजनीतिमा काभ्रेको सशक्त उपस्थिति, जनप्रतिनिधि चयन गर्न काभ्रेका जनता पनि उम्दा छन् भनी देशदेशावरमा सुसन्देश प्रवाह, संघीय राजधानी काठमाडौ उपत्यकाको वैकल्पिकस्थानको रुपमा काभ्रेलाई उभ्याएर यसको गरिमाको अभिवृद्धि, काभ्रेलाई औद्योगिक, व्यावसायिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, स्वास्थोपचार, आधुनिक कृषि, जस्ता ख्यातिप्राप्त केन्द्रको रुपमा विकसित गर्न, स्थानीय तह, प्रदेश र संघबीच समुचित समन्वय, सहकार्य,र अन्तक्र्रियमार्फत अधिकाधिक समृध्दिसम्बध्द परियोजनाहरुको पहिचान र हाम्रोले हैन राम्रोले गर्नको लागि मैदान पाउनु पर्छ भन्ने मान्यता स्थापित गर्नका साथै देशमा स्थापित अन्यौताको संवैधानिक बैठानको लागि यो पटक पनि अघिल्ला आमनिर्वाचनमा झै समृद्ध र गौरवशाली काभ्रेको पक्षमा रहेका आम काभ्रेलीहरुले प्रत्यक्ष एवं समानुपातिक दुवैतर्फ ने.क.पा. (एमाले) का उम्मेदवारहरुको विजय सुनिश्चित गर्न सूर्य चिन्हमा मतदान गर्न हार्दिक आव्हान गर्दछौं ।
काभ्रेली आमाबुबा, दिदीबहिनी, दाजुभाइ एवं पेसा, व्यवसायमा संलग्न प्रबुध्द वर्ग !
             ने. क.पा. (एमाले) र यसका काभ्रेली उमेद्वारहरुप्रति कुनै गुनासा र असंतुष्टि भए त्यसतर्फ पनि मज्जाले खबरदारी गर्दै, जनताको विश्वासमा किञ्चित तलमाथि नगर्न र कस्तै अवस्थामा पनि काभ्रे जिल्ला र काभ्रेबासीप्रति अन्याय नगर्ने प्रण गराउँदै तपाईं सबै परमादरणीय वालिग काभ्रेलीहरुलाई यहाँको अमूल्य मत लामो समयदेखि इमान्दारिताकासाथ पार्टी र स्थानीय तहमार्फत जनसेवामा अटुट सेवारत अनुभवी स्थानीय शासनविज्ञ क. अशोक व्याञ्जू – प्रतिनिधि सभा क्षेत्र नं. २ र पार्टीप्रतिको अटुट निष्ठा र अथक लगन र मिहिनेतले सबै तह र तप्काका जनताबीच अति लोकप्रिय देश, समाजको लागि केही गरौं भन्ने हुटहुटी बोकेका जुझारु युवा क. अमिता लामा – प्रतिनिधि सभा क्षेत्र नं. १ रलामो समयदेखि  निष्ठाकासाथ अटुटरुपले पार्टी जीवनमा आबद्ध भै निष्ठाकासाथ पार्टी काममा समर्पितताको कारण  समानुपातिकतर्फ नाम सिफारिस भएका कमरेडहरु  सुमित्रा भोछिभोया र भक्तकुमारी लामाको विजय सुनिश्चिताको लागि सूर्यचिन्हमा मतदानको निमित्त हार्दिक अपिल गर्दछौं ।