– रुकमणी सिग्देल
माटोसँग हामी सबैको जीवन जोडिएको हुन्छ, गर्भवती हुँदा महिलालाई माटोको बास्ना आउँछ । माटो खान मन लाग्छ । जन्मेपछि बच्चाले बढिजस्तो माटो र पानीसँग खेल्न मन पराउँछ । आज माटो सम्झेर बाल्यकालको सम्झनाले निकै रोमाञ्चित बनाएको छ । कयौंपटक मेरो जीवनमा त्यो रातमाटो र कमेरोको रंगले अनि मिठो गन्धले ल्याएको खुशी सम्झेर आज त्यहि बाल्यकालमा फर्केको महसुस भएको छ । असारमा हिलो माटोमा धान रोप्दा पानीमा भिजेको त्यो माटोको बास्ना फेरी नाकले सहसुुस गरेजस्तो भएको छ । असोज, कार्तिकतिर मकैबारी पन्छेर बारीका काल्ला तासी तोरी जौ गहुँ छर्दा होस् या आलु खनेर बारी खाली बनाउँदा होस्, चैत बैशाखमा सुख्खा धुलो उड्दा र सुख्खा खेतबारी खन्दा जे गर्दा नि आखिर माटोबाट बास्ना नै आउँथ्यो त्यसलाई मीठो गन्ध वा बास्ना जे भन्दापनि हुन्छ ।
बाल्यकालमा माटोको बास्ना आएको प्रति किन आयो भनि त्यति खोजी लागेन । तर त्यहि माटासँग हुर्केकी म माटो किन बास्ना आउँछ भन्ने खाजी गर्न सक्ने भएकी छु । माटो हुँदो नै यस्तो रहेछ जो गन्धरुपी मल पचाएर हामीलाई बास्ना दिनेरहेछ । फोहरहरु लुँड्याएर माटै बनाईदिने रहेछ । र त खोलामा हामीले मिसाएको फोहरलाई पनि माटै बनाएर खोलालाई भएको सास्ती पनि यसैले दुर गरेको छ ।
हिजो मलाई माटोले बनाएको घरहरु धुलो बढार्नुृ पर्दा र फोहर भईरहेको देख्दा अनि आमाहरुले लिपेको पोतेको र त्यस्को कारण अरु काम बिथोलिएको अनि जति सफा गरेपनि सफा नभएको देख्ने म आज महलमा बसेर माटोले बनाएको घरमा बस्नु नपर्दा, धुलो बढार्नु नपदार्, र प्रायः माटो छुनै नपर्दा खुसी खुसी हुनपर्ने हो तर माटोसँग भिज्दा, माटो सम्झिँदा र माटोमा गमलाको फूल मात्र वा एकबोट खुर्सानी धनियाँ वा गोलभेंडा पनि त नरोपी बस्न सकेको छैन ।
मैले आमालाई “यो माटोमा लट्पटिएर हाम्रो जीवनको उन्नति कहिले हुदैन ̎ भन्दाखेरी आमाले भन्नु हुन्थ्यो–“नानी ! माटोमा लटपटिन त हामी मरेर खरानी भएपछि पनि पर्छ हामी माटोमै आउने र माटोमै जाने हो माटोसँग कहिल्यै अलग्गिन सकिन्नँ” । हुन पनि हो रहेछ म आज कतै माटोले पोत्न नपर्ने घरमा बसेपनि तरकारी पखाल्दा मेरो पक्की घरको सिंढिहरु बढार्दा धुलो आउन छोडेको छैन । म आज माटोले पोत्नु नपर्ने एक सुकिलो पक्की घरमा बसेर पनि कुचो लाउँदा त्यो कुचोमा माटो नै आउँछ । तरकारी पखाल्दा माटो नै हुन्छ भाँडोको पिंधमा । पूजाको भाँडा पखाल्दा समेत त्यसमा माटो भेटिन्छ । मैले लगाएको लुगा धुँदा माटो ........। कहाँ छैन र माटो ?
विदेश गएका नागरिकहरुले आफ्नो देश सम्झिनेहरुले सम्झनामा यहि देशको माटो धेरै सम्झन्छन् रे । मलाई यतिसम्म याद छ कि, विरामी हँुदा झारफूक गर्ने झाँक्रीले अरु केहि नपाए बुढी औँला र चोरी औँलामा माटो दलेर मन्त्र भन्दै कयौँ पटक मेरो बिमारी ठीक पार्नुभएको थियो । माटो माटो नै हो, माटोमा अन्न फल्छ, खाने सम्पूर्ण चिज उम्रन्छ र फल्छ । खानाले हाम्रो जीवन धान्छ । सम्पूर्ण प्राणीहरु यहि माटोको अन्न र धेरै उपज खाएर बाँच्दछन् । पानी समेत यहि माटोमै उम्रन्छ । त्यसैले माटो जीवन हो ।
आज यति धेरै कुरा माटोको बारे भनिरहँदा मैले दिमागमा त्यहि बाल्यकालमा म जन्मेको घर पोत्ने रातो माटो र कमेरोलाई सम्झेर लेख्दैछु । जुन दशैँ आउनुपूर्व नै मेरो केटाकेटी दिमागमा दशैंको रंग बोकेर तस्वीर दिन्थ्यो । त्यो रातोमाटो र कमेरो.....।
रातमाटो र कमेरो लिन जाने एउटा सिजन र मेला नै हुन्थ्यो गाउँमा । भोलि रातो माटो वा कमेरो लिन जाने भनेपछि करिब ५ घण्टा लामो बाटोको लागि आउँदा जाँदा भोक लाग्छ भनेर आमा खाजा बनाई लिएर जानुहुन्थ्यो । लगभग मध्य पुष देखि चैत सम्ममा एकदिन कमेरो र रातोमाटो लिन जाने यस्तो मेला हुन्थ्यो गाउँमा । त्यो माटोहरु अरु कुनै बेलाको लागि नभएर अर्को दशैं अघि घर पोत्नको लागि मात्र हुन्थ्यो ।
जब सोह्रश्राद्ध शुरु हुन्थ्यो तब घर पोत्न पनि शुरु गरिन्थ्यो । घर अरु केहिले नभई रात्माटो र कमेराले पोतिन्थ्यो । त्यो पोताईमा एक किसिमको बास्ना आउँथ्यो, त्यो बास्ना अरु केहिको नभएर दशैंको बास्ना जस्तो लाग्थ्यो मलाई । त्यो दिन घरका लुगा पनि धोइन्थे । भूइँमा गाईको गोबर र रात्माटो मिसेर आमा अर्को बास्ना फिंजाउनुुन्थ्यो घरमा भोलिपल्ट । अनि घरको नयाँपनको ठाँट नै अर्कै । दशैंलाई आउन कर नै लाग्थ्यो । रात्माटो र कमेराले पोतेर चिटिक्क पारेको घरमा । चुलोको साथमा अगेनु हुन्थ्यो अँगेनामा रातो पोत्नु पर्ने, त्यसको भुइँमा गोबरले, अनि गाह््रोको आधा भाग कमेरोले र आधा रात्माटोले । दियो घरको बत्ती बाल्ने ठाँउमा पनि सेतो रातो मिक्स । यसरी रंग लगाउने पनि आ–आफ्नो फर्मूला होईन विशेष फमूला नै हुन्थ्यो । त्यो फर्मूला प्रयोग गरेको घर नै सुन्दर र ताजा देखिन्थ्यो । भर्खर बनाएको जस्तो । अँगेनाको छेउमै बसेर म अब एक महिनामा दशैं आउँछ डबल खुशी लिएर भन्दै म भित्र भित्रै मुसारिन्थें लंगुर बुर्जा, चंगा जस्ता खेलहरु खेल्न । तर एउटा कुरामा साह्रै मन दुख्थ्यो दशैंलाई भनेर सिलाएको नयाँ लुगा, फलैंचामा बसेर भित्तामा अडेस लाग्दा सबै कमेरो दलिएर मेरो लुगा रंग्याईदिन्थ्यो त्यो घरजस्तै । किनभने कमेरोमा चेपारे मान्छे जस्तै जेमा पनि टाँसिने गुण हुन्छ ।
वरिपरि फूल्नै आँटेका मनमोहक सयपत्री गोदावरी फूलहरुले अर्को सुगन्ध छर्थे । अनि म छक्क पर्थेँ मख्ख पर्थें र दशैंको पर्खाईमा हुन्थें । आजभोलि त यी फूलहरु जुनै मौसममा फूलेकोे देख्छु । म त्यतिबेला सोच्न सक्दैनथें त्यहि माटोमा फूलेको यी सबै फूलको रंग र सुगन्ध कसरी र किन फरक भयो होला ? आखिर माटो माटो नै हो यसमा नै संसारको विविधताको श्रृष्टि छ । जो आज मेरो मनले मलाई भनेको छ ।
माटोसँग यसरी बनेको सम्बन्धलाई मैले बिर्सिन लागेको पो रहेछु । एउटा सिरियल हेरेपछि त्यो रात्माटो र कमेरोले चिटिक्क पारेर पोतेको घर देशेपछि निकै भावुक भएँ, म मेरो प्यारो रात्माटे र कमेरे जन्मघर सम्झेर । जो आजकाल भग्नावशेष र अवशेष बनिसकेको छ ।
त्यस समयमा जब म अति सानो थिएँ मलाई पनि हेक्का छ । हुनेखानेले घरमा कमेरोको सट्टा चुना लगाउथे । जुन मेरो नयाँ लुगामा टाँसिने कमेरोजस्तो हुन्नथियो । कसैको लुगामा टासिन्नथ्यो । हुनेखानेका घरमा बार्दली र टायलको छाना पनि हुन्थ्यो । मेरो बुबाले पनि म जान्नु अघि नै घरमा चाईना टायल र अलि पछि बार्दली खडा गर्नुभयो । तर बुवा हुनेखाने झैँ काम नगरि कहिल्यै बसेको देखिनँ । बस् बुवा कसरी हुन्छ घरमा हाम्रो लागि जीन्दगी अनि दशैं दुबै रमाईलो गराउने र त्यो घरमा चुना लिउन लाउने त्यहि सोच्नुुहुन्थ्यो होला भन्ने अनुमान म अहिले अहिले लगाउँछु ।
जीवनमा पुग्न चाहेर पनि नपुगेको ठाउँ रात्माटो खानी र कमेरो खानी हो । जुन भक्तपुर र साँगामा थियो भन्नुहुन्थ्यो आमा । म आमाकी कान्छी छोरी, पछि लागेर धेरै ठाउँमा जान्थें तर खै किन गईन वा पुरिन्छे कि भन्ने डरले लगिएन केहि थाहा भएन । आमा भन्नुहुन्थ्यो ‘‘खानी भित्र जान सकिन्न र जान पनि हुन्न । खनेर ल्याईदिने मान्छे हुन्छन् र पैसा लिन्छन् । केटाकेटीको काम हुन्न”‘ भनेर । तर जे भएपनि म गइनँ ।
त्यहि रात्माटो र कमेरोको कारण केहिले रोजगारी पाएका थिए केहिले ट्याक्टरमा राखेर बेची पैसा कमाउथे । तर आज कमेरोको प्रयोग त लगभग लोप भईसक्यो । रात्माटो चाहिं लक्ष्मी पूजाको दिन मात्रै अलि अलि प्रयोग गरिन्छ । शहरमा मात्रै होइन गाउँका पनि पक्कि घरमा यस्तै छ अहिले । किनकी हामी मख्ख छौं कपडामा नटासिने रंग घरमा लगाउन पाएकोमा ।
जतिपनि कुराहरुमा मान्छे मख्ख पर्छ, त्यसमा केहि खती बेहोरी सकेको हुन्छ । अरुले फाईदा लिईरहेको वा लिईसकेको हुन्छ । मानिसले फाईदा पाउने ठाउँ भनेको त मख्ख परेर लोभिनु नपर्ने ठाउँमा हो धेरैजस्तो । आज नटाँसिने कलर, कमेरो र रात्माटोको सट्टामा प्रयोग भईसकेको छ । कारण, हामीले नटाँसिने कलर मा मख्ख पर्यौं । त्यसैमार्फत हाम्रा पैसा अरबौं रुपैंयाप्रति महिना बाहिरी देश गईरहेको छ । र हामीलाई खती भईरहेको छ । त्यो सम्झिंदा र हिसाब गर्दा त्यो रात्माटो र कमेरोको मूल्य कति रहेछ अहिले सोच्दैछु म । सायद रात्माटो र कमेरोमा अझै केहि प्रविधि थप्न पाए ब्यँुतिन्थे की खानी । बन्थ्यो कि यो मेरो देश धनि ? मेरो जीवनको शुरु, बाल्यकाल, अनि जीवनको अन्त्य र जीवनको अत्यन्तै रमाईलो पल दशैं सँग र मेरो देशको आयश्रोतसँग र भविष्यसँग जोडिएको रंगको माटो कमेरो र रात्माटो ।





