बनेपा/बेलर इन्टरनेशनल एकेडेमीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८२ उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन गरेको छ ।
शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल बेलर एकेडेमीले विद्यार्थीलाई खादा माला र मायाको चिनोसहित सम्मान गरेको हो । यस्तै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती मार्फत उनीहरुलाई अभिनन्दन गरेका छन् । गत वर्ष एसईई परिक्षामा १ सय १४ जना विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीलाई सम्मान गर्दै प्रिन्सिपल इन्दु थापाले बेलरमा सिकेको ज्ञान, सीप र संस्कार कहिल्यै नभुल्न अनुरोध गर्दै उज्वल भविष्यको कामना गरेकी छन् । गत वर्षको एसईईलाई सिकाईको वर्षका रुपमा समेत लिइएको उनको भनाई छ । नयाँ सिकाइ, अनुभव आदानप्रदान र सहकार्यका लागि बेलर एकेडेमी सबैको लागि, सधैं खुल्ला रहेको उनले बताइन् ।
उक्त अभिनन्दन कार्यक्रममा विधागत रुपमा विद्यार्थीलाई सम्मान गरिएको थियो । उत्कृष्ट जीपीए ३.९१ प्राप्त गर्ने सुरज यादव, नियमित उपस्थित विद्यार्थी उमेश थापा, बहुप्रतिभाशाली विद्यार्थीका रुपमा आदित्यराज आचार्य र सशी सुवेदी, उत्कृष्ट लिडरसीपमा पिया थापा, फ्रेन्डसिपमा निशान तामाङ, काइण्ड तर्फ सम्पदा सन्जेल, कन्फिडेन्समा अप्रिना श्रेष्ठ र खेलकुद तर्फको उत्कृष्ट विद्यार्थी रुपक लामालाई सम्मान गरिएको छ ।
कार्यक्रममा बेलर एकेडेमीका विभिन्न तहका इन्चार्ज, अतिरिक्त क्रियाकलाप इन्चार्ज लगायत शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । उनीहरुले अझ मेहनत, लगनशिल र अनुशासित भई आगामी यात्रा अघि बढाउन अनुरोध गरेका छन् । आफ्नो अध्ययन, क्षमता र प्रतिभालाई अझै अब्बल बनाउन उनीहरुको सुझाव छ ।









