बनेपा/नागरिकलाई आँखाको उपचारमा सहज पहुँच पुयाउने उद्देश्यले जिल्ला सहकारी संघ लि. र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बीच सम्झौता भएको छ ।
आँखा अस्पतालको तर्फबाट महासचिव हिरामणी शर्मा र सहकारी संघको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी मोतिविन्दु भएका बिरामीको पहिचान गरिनेछ । शिविरबाट पहिचान भएका बिरामीलाई आवश्यक उपचार तथा शल्यक्रियाका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका नागरिकलाई समेत आँखाको उपचार सेवामा पहुँच र्पुयाउने लक्ष्यसहित गरिएको यस सहकार्यले मोतिविन्दुका कारण दृष्टिसम्बन्धी समस्या भोगिरहेका नागरिकलाई समयमै उपचारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
जिल्लाका विभिन्न समुदायसम्म स्वास्थ्य सेवा विस्तार गर्ने र सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले गरिएको यो सहकार्यले काभ्रेमा आँखा उपचार सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।









