धुलिखेल/लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेल क्याम्पसमा सचेतनामूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, प्रशासकीय अधिकृत सुनिता थापा, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, क्याम्पसमा आबद्ध शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले लागुऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्दै युवापुस्तालाई यसबाट टाढा रहन आग्रह गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले लागुऔषधको सेवन र ओसारपसार समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउदै यसको नियन्त्रणका लागि सरकारी निकाय, शैक्षिक संस्था, अभिभावक तथा समुदायबीचको सहकार्य आवश्यक रहेको बताए ।
प्रशासकीय अधिकृत सुनिता थापाले युवावर्गमा बढ्दो लागुऔषध प्रयोगको जोखिमबारे जानकारी दिँदै सचेतना, परामर्श तथा सकारात्मक जीवनशैली अपनाउनुपर्नेमा जोड दिइन् । थापाले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति जिम्मेवार बन्न र कुनै पनि प्रकारको कुलतबाट टाढा रहन आग्रह गरिन् ।
क्याम्पस प्रमुख सागर तिवारीले शैक्षिक संस्थाहरू केवल पठनपाठनका केन्द्र मात्र नभई सामाजिक चेतना अभिवृद्धि गर्ने थलोसमेत भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न मद्दत पुग्ने बताए । अन्तरक्रियामा विद्यार्थीहरूले लागुऔषध दुव्र्यसनका कारण, प्रभाव, रोकथामका उपाय तथा कानुनी व्यवस्थाबारे जिज्ञासा राखेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा लागुऔषध दुरुपयोगको जोखिमबारे सचेतना बढाउनुका साथै स्वस्थ, सुरक्षित र जिम्मेवार नागरिक निर्माणतर्फ प्रेरित गरेको तिवारीले बताए ।









