2026 June 18/ 11:37: 19pm

बनेपा/नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रेको २२औँ जिल्ला परिषद् बैठक तथा सम्मान कार्यक्रम बनेपामा सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष भिमसेन हुमागाईको अध्यक्षतामा आयोजित कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष हर्षबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा प्रमुख अतिथि शाहीले सरकारले पछिल्लो समय ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने प्रयास गरेको भन्दै असहमति व्यक्त गरे । उनले पञ्चायतकालमा शिक्षकहरूले लोकतन्त्र र नागरिक अधिकार स्थापनाका लागि खेलेको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै शिक्षकहरू आज पनि गुणस्तरीय शिक्षाको माध्यमबाट समाज निर्माणमा समर्पित रहेको बताए । उनले शिक्षकहरू राजनीति गर्न नभई नागरिकलाई सचेत, सक्षम र जिम्मेवार बनाउन विद्यालयमा अहोरात्र खटिरहेको उल्लेख गरे । गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि राज्यले विद्यालयहरूमा आवश्यक पूर्वाधार, स्रोत–साधन तथा बजेटको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।
    कार्यक्रममा शिक्षक संगठनका पूर्व केन्द्रीय अध्यक्ष माधव अधिकारी, पेशागत महासंघका केन्द्रीय सचिव श्यामप्रसाद पाण्डेय, शिक्षक संगठनका केन्द्रीय सदस्य रामचन्द्र थापा, बागमती प्रदेश कार्यवाहक अध्यक्ष विष्णु पौड्याल, पूर्व केन्द्रीय सदस्य सुभद्रा अधिकारी लगायतले शिक्षकहरूको हकहित, पेशागत अधिकार र सरकारको पछिल्लो नीतिप्रति आफ्ना धारणा व्यक्त गरेका थिए । त्यसैगरी प्रदेश कमिटी सदस्य लक्ष्मी अधिकारी, हरिहर दाहाल, देशबहादुर वाइवा, पेशागत महासंघका अध्यक्ष केशव काफ्ले, शिक्षक महासंघ काभ्रेका सचिव बासु थापा तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले पनि शिक्षक समुदायका चुनौती र अवसरबारे विचार राखेका थिए ।
    कार्यक्रममा दीर्घसेवी शिक्षक, सेवा निवृत्त शिक्षक, नवप्रवेशी शिक्षक तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । संगठनले वर्षभरि सञ्चालन गरेका गतिविधि र कार्यक्रमसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफलपछि पारित गरिएको थियो । जिल्ला अध्यक्ष हुमागाईले संगठनका भावी योजना तथा आगामी कार्यदिशाबारे जानकारी गराएका थिए भने उपाध्यक्ष चित्रप्रसाद गौतम र सचिव योगेन्द्र बडालले संगठनको भूमिकाबारे धारणा राखेका थिए । यस अवसरमा एसईई २०८२ मा जिल्लाभर उत्कृष्ट नतिजा हासिल गर्ने चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय लाई सम्मान गरिएको थियो । सोही विद्यालयबाट ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी एन्जल तामाङ र रोहन गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
    त्यस्तै, एसईई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने काभ्रेका १३ वटै स्थानीय तहका सामुदायिक विद्यालय तथा उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षकको सम्मान, पेशागत सुरक्षा, गुणस्तरीय शिक्षाको विकास तथा विद्यालय सुधारका लागि राज्यले थप जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।