पनौतीका केही जात्रापर्वहरुको दोस्रो संस्करण लोकार्पण
पनौती/साहित्यकार एवं संस्कृतिकर्मी सुर्यप्रसाद लाकोजूद्धारा लिखित पनौतीका केही जात्रापर्वहरुको दोस्रो संस्करण लोकार्पण गरिएको छ ।
संस्कृतिकर्मी तथा इतिहासकार प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, निवर्तमान नगर प्रमुख भीम न्यौपाने, उप–प्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरु लगायतको उपस्थितीमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा पनौती नगरपालिकाभित्र प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वहरुको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्राहरु, पनौतीका केही उल्लेखनीय पर्वहरु, पनौतीका प्रचलित केही उल्लेखनीय नाचहरु र हाल प्रचलनमा नरहेका केहि जात्रापर्वहरु गरि पाँच खण्डमा विभाजन गरिएको छ । पुस्तकमा धेरै विषय सेमेट्ने प्रयास गरिएको बताउनुहुँदै लेखक लाकोजूले समावेश गर्न नसकिएका जात्रा पर्वहरु भए सबैको साथ, सहयोग, सल्लाह सुझाव लिएर अर्को संस्करण प्रकाशन गर्न सकिने बताउनुभयो । जात्रापर्वहरुले हाम्रो पारस्परिक जीवनपद्धती झल्काउने उहाँको भनाई छ । चाडपर्वहरुसँग हाम्रो मौलिक चिनारी रहेको लेखक लाकोजूले बताउनुभयो । जात्रापर्वहरुलाई अक्षरवद्ध गर्न सके भाविपुस्ताका लागि समेत उपयोगी हुने विश्वासका साथ पुस्तक तयार पारिएको उहाँको भनाई छ ।
संस्कृतिकर्मी तथा इतिहासकार प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठले पनौती सास्कृतिक सम्पदाको सबै भन्दा धनि शहर रहेको बताउनुभयो । सास्कृतिक सम्पदालाई जीवन्त दिनका लागि पुस्तक महत्वपुर्ण हुने उहाँको विश्वास छ । यस्तै पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले जात्रापर्व व्यवस्थापन समिति नै गठन गरेर सम्पदा संरक्षणसँगसँगै जात्रापर्व सञ्चालन भइरहेको बताउनुभयो । पनौतीलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्ने कार्यमा आफुहरु निरन्तर लागेको भन्दै नगर प्रमुख भण्डारीले यसले पनौतीको सास्कृतिक महत्व अझै झल्काउने बताउनुभएको छ । सोहि कार्यक्रममा पुर्वनगर प्रमुख भीम न्यौपानेले पनौतीका चिनारी सास्कृतिक सम्पदा तथा जात्रापर्वको संरक्षणमा जोड दिनुभयो । हराएका जात्रापर्वको खोजी र संञ्चालनमा रहेका जात्रापर्वको संरक्षण आवश्यक रहेको उहाँको भनाई थियो । पनौतीलाई चिनाउन लेखक लाकोजूको महत्वपुर्ण देन रहेको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, संस्कृतिकर्मी एवं साहित्यकार तुयुकाजी ताम्राकार, पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, पनौती जात्रापर्व व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा पुस्तक लेखनका क्रममा सुचना उपलब्ध गराउनेहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।





