पनौती/सिद्धार्थ बनस्थली इन्ष्टिच्युट पनौतीले एसईई उत्तिर्ण र तथा कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागतका साथ कक्षा प्लेग्रुप देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै समन्वय प्रमुख दिपककुमार गौतमले विद्यार्थीहरुलाई असल संस्कार र सहज वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सिद्धार्थ बनस्थलीको उत्तरोत्तर प्रगतिको कामना गर्दै उत्कृष्ट विद्यार्थी तथा विदाई हुने विद्यार्थीहरुलाई बाँकी शैक्षिक गन्तब्यलाई जीवनपयोगी बनाउन सुझाव दिए । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराले नगर भित्रका सबै विद्यालयहरुको गुणस्तर सुधार गर्न नगरपालिकाले एकिकृत योजना कार्यान्वयन गरिरहेको बताईन् । २०४४ सालमा पनौतीमा स्थापना भएको सिद्धार्थ बनस्थली इन्ष्टिच्युटले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बञ्जाराले बताईन् । तेजगंगा बहुमुखी क्याम्पसकी संस्थापक क्याम्पस प्रमुख अम्बुभवानी कार्की लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले सिद्धार्थ बनस्थलीले पनौती क्षेत्रमा मात्रै नभएर जिल्लाकै नमुना शिक्षा प्रदान गरिरहेको बताएका थिए । उक्त विद्यालयबाट एसईई उर्तिण भएका २६ जना, कक्षा १२ उर्तिण १२ जनालाई विदाई गरिएको थियो भने कक्षा ११ का २६ जनालाई स्वागत गरिएको थियो ।
त्यस्तै अतिरिक्त कृयाकलापमा सहभागी भई उत्कृष्ट हुने अन्तर सदनका २८ वटा विद्याका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् भने ४२ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक रेश्मा थापाले बताईन् । उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्र्तगत संचालित छ । उक्त गुठीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा छन् । विद्यालयलाई शैक्षिक हबका रुपमा विकास गरी आवश्यक पुर्वाधार र गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति ब्यवस्थापन गरी जीवनपयोगी शिक्षा उपलब्ध गराउने थापाले बताए ।





