2026 May 20/ 09:46: 57am

    धुलिखेल/धुलिखेल नगरपालिकाले महिला जनप्रतिनिधि, महिला सहकारी तथा संस्थाका प्रतिनिधि र महिला समुहका प्रतिनिधिहरुलाई एक दिने क्षमता अभिबृद्धी कार्यक्रम आयोजना गरेको छ । महिला परिषद्का अध्यक्ष गिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले महिलाहरुलाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउन महिला परिषद्को गठन गरी सिप तथा क्षमता अभिबृद्धी गरिएको बताउनु भयो । अवसर र क्षमता बृद्धीका लागि नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा उपप्रमुख निराजन जंगमले महिलाहरुको शशक्तिकरणका लागि गरिएका कृयाकलापमा हरेक नागरिकको सहभागिता रहनु पर्ने बताउनु भयो । सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्यले हरेक वडामा महिलाहरुको सिप तथा क्षमता विकासका लागि महत्वपूर्ण कार्यहरु गरिरहेको बताउनु भयो । महिलाहरु सक्षम हुँदा मात्रै समुदायको विकास सम्भव हुने उहाँले बताउनु भयो । कार्यक्रममा संवैधानिक कानूनी अधिकार, नगरपालिकाका प्रयास र गतिविधि, सहकारी तथा संघ संस्थाबाट शशक्तिकरणका लागि भएका अभ्यास तथा कार्य र महिलाहरुको अधिकार हनन तथा हिंसाबाट हुने जोखिमका विषयमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले प्रशिक्षण दिएको नगरपालिका शाखा अधिकृत पुजा काफ्लेले बताउनु भयो । कार्यक्रममा अधिकारकर्मी सिर्जना काफ्ले लगायतले प्रशिक्षण दिएका छन् ।