१७ किमी सडकलाई ६१ करोड
बुढखानी, महाभारत/जिल्लाको विकट पालिका महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री पुष्पकमल दाहालले शिल्यान्यास गर्नु भएको छ । बागमति प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेको उक्त सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएको छ ।
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुनेछ । १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाको लागतमा सम्झौता भएको छ । २०८० बैशाख १९ गते सम्झौता भएको उक्त सडकको शिल्यान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु भएको हो । २०८२ कार्तिक १९ गतेसम्म ३० महिना भित्र निर्माण कार्य सक्ने गरी बागमति प्रदेश सरकारले सन्तोषी धर्म जेभीसँग सम्झौता गरेको छ । ‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको थियो । ६० करोड ९६ लाखमा सम्झौता भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार गोकुले सडकका लागि ४८ करोड रकमको श्रोत सुनिश्चित भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘निर्माण ब्यवसायीहरुले विनियोजन बजेटमा कम दरमा सम्झौता गर्ने अनि समयमा काम सम्पन्न नगर्दा महाभारतबासीहरुले खोजेको विकास प्राप्त गर्न सकेका छैनन् ।’ ९९ करोडको बजेटमा ६० करोड ९६ लाखमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ । तिनखुट्टे – देविटारसम्मको ८.७ किलोमिटर पक्कि सडक निर्माण कार्य अलपत्र भए पछि गाउँपालिकाले पटक पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्नका लागि पत्र लेख्दै आएको थियो । उक्त सडकको अवधी दुई वर्ष सम्पन्न भएर पुनः अर्काे वर्ष थप हुँदा समेत समयमै निर्माण कार्य सम्पन्न हुन सकेको छैन । बागमति प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले, जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले उक्त सडक समयमै निर्माण कार्य सक्न निर्देशन दिदै भईरहेका कार्यको अनुगमन गर्नु भएको थियो ।
‘काभ्रेको रोशी गाउँपालिका मंगलटार स्थित विपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे स्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिनेछ’–भौतिक पुर्वाधार मन्त्री दुलालले भन्नुभयो–‘उक्त मार्गका लागि ३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी बजेट विनियोजन हुनेछ ।’ महाभारत गाउँपालिकाका तीन खण्ड निर्माणको क्रममा रहेको तथा रोशी गाउँपालिकाको अर्काे खण्ड चालु वर्षबाटै प्रारम्भ हुने भएकाले खानिखोलाबाट मकवानपुरको भोर्लेनीमा जोड्ने पुल निर्माणको कार्य सकिनासाथ सडक सञ्जाल संचालनमा आउने उहाँले बताउनु भयो । उक्त सडकको लम्बाई ९३ किलोमिटर हुनेछ । माओवादीको जनयुद्ध शुरु भएको यति लामो समय पछि माओवादी नेतृत्वको सरकारले उक्त सडकलाई जनमुक्ति नामाकारण गरी बजेट विनियोजन गर्न लागेको हो । महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक कालोपत्रेको योजना ३ वर्षमा पनि पुरा नभएको गुनासो गरेका थिए । तीनखुट्टेमा निर्माणाधिन पक्कि पुलको पनि उल्लेख्य काम भएको छैन । ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोलाई सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भयो ।
महाभारतका १५ सय घरमा विजुली
प्रधानमन्त्री पुष्पकमल दाहालले महाभारत गाउँपालिकाको वडा नम्वर ३,४,५ र ६ नम्वर वडामा केन्द्रिय विद्युत्त प्रसारण लाईन शुभारम्भ गर्नु भएको छ । महाभारत गाउँपालिकामा पहिलो पटक केन्द्रिय प्रसारण लाईन शुरु गरिएको हो । वडा नम्वर ३, ४ र ५ वडाका १ हजार ५ सय घरमा बत्ति बलेको छ । जनतासँग गरिएका सबै बाचा क्रमश पुरा गरिदै लगिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भयो ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाईनको सम्पर्कमा नरहेका महाभारत र खानिखोला गाउँपालिकाका सर्वसाधारण पहिलो पटक विजुली बत्तिको उज्यालोमा बस्न पाउने भएका हुन् । ‘२०७४ सालमा हामी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु महाभारत पु¥याएर डाँडापारीका समस्या लिपिबद्ध गरेर बुझायौं’– गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत र खानिखोलाबासीलाई बत्तिको अध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो । रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको छ ।’ महाभारत गाउँपालिकाको वडा नम्बर ३ फोक्सिङ्गटार, वडा नम्वर ४ र ५ बुढाखानीका सबै घरमा बत्ति बल्ने गरी कार्य सम्पन्न भएको छ ।
‘गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘बाँकी रकम स्वंय घरधनीले ब्यहोर्ने गरी ३ वटा वडाका लागि १ हजार ५ सय घरधुरीका लागि मिटर पुगेकाले बत्ति बलेको छ ।’ केन्द्रीय प्रसारण लाईन महाभारतका सबै वडामा पुगिसकेको छ । अहिले शाखा लाईन विस्तारको कार्य अन्तिम चरणमा पुगेको वडा नम्वर १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता कान्छामान जिम्बाले बताउनु भयो । यहि वर्ष भित्र सबै घरमा विजुली बत्ति बालिसक्ने गरी गाउँपालिकाले योजना अघि बढाएको उहाँले बताउनु भयो । वडा नम्बर ६ र ७ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने वडा नम्वर १, २ र ८ मा धमाधम कार्य भईरहेको छ ।
केन्द्रिय प्रसारण लाईन नभएका कारण महाभारतमा उद्योग कलकारखाना संचालन हुन सकेका थिएनन । लघु जलविद्युत्त, सोलार तथा अन्य बैकल्पिक उपायबाट रातको समयमा उज्यालो देखिने गरेको थियो । भुकम्प पछि सोलारको प्रयोग बढेको थियो । त्यस अघि लघु जलविद्युत्त आयोजना संचालन भए पनि दिगो रुपमा संचालन हुन सकेका थिएनन् । मोवाईल टाओरका लागि पनि सोलारका कारण असहज भएको थियो । घाम नलागेको समयमा मोवाईल नेटवर्क हुँदैन थियो भने स्थानीयहरुलाई अन्य कार्यका लागि बत्ति नहुँदा असहज भएको स्थानीय रेशम बोम्जनले बताउनु भयो । ‘बत्ति आए पछि धेरै समस्या समाधान हुने आशा पलाएको छ’–उहाँले भन्नुभयो–‘बत्तिको समस्या समाधान हुँदा धेरै कुरा सहज हुन्छ ।’ महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन् । सबै घरमा विजुली, खानेपानी पु¥याउने गरी कार्य भईरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हरिसिं विष्टले बताउनु भयो । विकट भएका कारण धेरै कुराको अभाव भएकाले स्थानीय सरकार निर्वाचित भए पछि विकासका आधारभुत आवश्यकता पुरा हुन थालेको उहाँले बताउनु भयो ।
बिजुली उद्घाटन र सडक शिल्यान्यास कार्यक्रममा प्रधानमन्त्रीसँगै पुर्व राज्य मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्वर १ सांसद सुर्यमान दोङ्ग ‘लालध्वज’, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, प्रतिनिधि सभा सांसद रुकु चौलागाई, बामगती प्रदेश सभा सांसद तथा पुर्व मन्त्री रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, गाउँपालिका उपाध्यक्ष सागर मोक्तान लगायतको सहभागिता रहेको थियो ।





