2026 May 20/ 09:20: 16am

– सामाजिक जागरण र पर्यटन प्रर्बद्धन प्रमुख उद्देश्य
    बनेपा/धुलिखेल नगरपालिका ११ पातलेखेत स्थित स्टोन पार्क नजिकै रहेको पञ्चकन्या देवीको मन्दिर परिसरमा बैशाख २९ गते देखि जेठ ४ गतेसम्म सप्ताह आयोजना गरिएको छ । ३÷४ सय वर्ष अघि उक्त स्थानमा मन्दिर भए पनि २५ वर्ष अघिबाट मात्रै देविको स्थापना गरी पुजाआजा शुरु गरिएको थियो । 
    ‘हरेक दिन घर परिवारमा दुःख हुने ग¥यो । गाई बस्तु मर्न थाले । मान्छे समेत मर्न थाले । बाँचेका ब्यक्तिहरु पनि निरन्तर विरामी भईरहे । केहि ब्यक्तिहरुमा देविमाताको स्वरुप देखिन थाल्यो’– स्थानीय कमल परियारले भन्नुभयो–‘आफ्नै छोरी समेत काम्न थाले पछि हामीले विकल्प खोज्यौं । त्यहि स्थानमा पन्चकन्या मन्दिरलाई नियमित पुजा गर्दा संकट हट्दै जाने बताए पछि सिस्नुको घारी फाँडेर मन्दिर स्थापना गरिएको हो ।’ कमल परियारले आफ्नै करिव एक रोपनी जमिनमा पञ्चकन्या देविको मन्दिर स्थापना गरी पुजा शुरु गरेसँगै समस्या हट्दै गएको बताउनु भयो । त्यहि समय देखि कमल परियारहरुले पञ्चकन्या देविलाई कुलका रुपमा पुजा गर्न थाले पनि उनी बाहेकका उनका आफन्तहरुले भने धर्म परिवर्तन गरेर पुजा गर्न छाडे । तर कमलले नियमित पुजा गरेर मन्दिर स्थापना गरे । अहिले उक्त मन्दिर चिटिक्क छ । मन्दिर निर्माणका लागि कमलले ब्यक्तिगत लगानी गरेका छन् भने अन्य पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले ४ लाख २० हजार र केहि दाताहरुले सहयोग गरेका छन् । 
    सोहि मन्दिरको प्रचार प्रसार तथा स्थानीय क्षेत्रको प्रर्वद्धनका लागि उनै कमलको संयोजकत्वमा स्थानीयहरुले १ सय ८ सदस्यीय मुल समारोह समिति निर्माण गरी सप्ताह आयोजना गरेका हुन् । चर्चित कथाबाचक शिरोमणी पण्डित दिनबन्धु पोखरेलले उक्त स्थानमा आयोजित सप्ताहमा कथा बाचन गर्नेछन् । सप्ताहका लागि विभिन्न १३ वटा उप समिति गठन भएको छ । समितिमा संयोजक कमल परियार, सचिव विष्णु तिवारी, कोषाध्यक्ष सरोज तिवारी रहनु भएको छ । करिव २५ लाख रुपैया खर्च हुन सक्ने प्रारम्भिक खर्च तथा आम्दानीका लागि स्थानीयहरुले योजना तयार गरी प्रचार प्रसार शुरु गरेको प्रचार प्रसार उप समितिका संयोजक एवं पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले बताए । उक्त क्षेत्रको प्रचार प्रसार हुन सक्दा धुलिखेल ११ मा रहेका अन्य धार्मिक तथा सांस्कृतिक र पर्यटकिय क्षेत्रको समेत विकासमा सहयोग पुग्ने आयोजकले विश्वास गरेका छन् । सप्ताहका लागि लाग्ने खर्च संकलनमा अपुग हुँदा स्वयम संयोजक कमल परियारले ब्यहोर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । ‘पञ्चकन्या देवि मन्दिरले सोचेको र चाहेको पुरा गरिरहनु भएको छ’–कमल परियारले भन्नुभयो–‘माता देविले चाँहदा यो सप्ताह पनि सफल हुन्छ । धन भएर भन्दा पनि मन भएर सप्ताहको आयोजना गरिएको हो ।’ पण्डित दिनबन्धु पोखरेलले धार्मिक सहिष्णुता कायम राख्दै समाजमा मान्छे मात्रै रहेकाले मान्छे भित्र महिला र पुरुष बाहेक अन्य कुनै जात नभएकाले सप्ताहले सामाजिक जागरण ल्याउँदै पातलेखेतको प्रचार प्रसारका लागि टेवा पुग्ने बताउँदै उहाँकै हौसला पछि कार्यक्रम आयोजना गरिएको कमल परियारले बताउनु भयो । उहाँको योजना, २५ वर्ष अघि देखेको सपना र बाँकी योजनामा स्थानीयहरुले सक्रिय सहभागिता र सहयोग गरिहेको समितिका सचिव विष्णु तिवारीले बताउनु भयो ।