2026 May 20/ 09:20: 17am

    बनेपा/सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकले स्थापना दिवसको अवसर पारी सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको छ । समाजिक उत्तरदायित्व बहन गर्दै सशस्त्र प्रहरी बल काभ्रेपलाञ्चोकले रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गरिएको काभ्रेका प्रमुख एसपी अच्युतकुमार मजगैयाले बताउनु भयो । 
    ‘स्थापना दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरिएको छ’–एसपी मजगैयाले भन्नुभयो–‘बैशाख १७ देखि २४ गतेसम्म हरेक दिन फरक फरक कार्यक्रम आयोजना गरेका छौं ।’ बैशाख १७ गते विपद सम्वन्धी जनचेतनामुलक अभियान संचालन गरिएको छ । पाँचखालमा रहेको दुग्धेश्वर माध्यमिक विद्यालयमा बाढि, पहिरो तथा आगलागी, चट्याङ्गसँग सम्वन्धित विषयमा सचेतना गराईएको छ । त्यस्तै बैशाख १८ गते आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् । बैशाख १९ गते बनेपामा रहेको ऐतिहासिक चण्डेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । बनेपामा बुद्ध जयन्तिको अवसरमा हरेक वर्ष लाग्ने जात्राको सन्र्दभलाई समेत मध्यनजर गर्दै नगर प्रमुख शान्तिरत्न शाक्य, कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंह, राष्ट्रिय अनुसन्धानका प्रमुख राजन प्रजापति लगायतको सहभागितामा शशस्त्र प्रहरी, नेपाल प्रहरी समेतको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको एसपी मजगैयाले बताउनु भयो । त्यस्तै सप्ताहब्यापी कार्यक्रम अन्र्तगत शशस्त्र प्रहरी बल १५ गणमा कार्यरत विभिन्न तहका शशस्त्र प्रहरी बीच खेलकुद प्रतियोगिता तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद तथा नागरिकहरुलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्दै आएको छ । भुकम्प, कोराना महामारी तथा अन्य विपदहरुमा शशस्त्र प्रहरी सशक्त रुपमा कृयाशिल हुँदै आएको छ ।