पनौती/फागु पुर्णिमाका दिन आयोजना हुने पनौती क्षेत्रको संकटा जात्रा सम्पन्न भएको छ । पनौती नगर क्षेत्रका विभिन्न मठ मन्दिरको परिक्रमा पछि संकटा मन्दिरमा नित्य पूजा सहित बलि दिएको प्रसाद वितरण पछि जात्रा समापन भएको हो ।
पनौतीका प्रधानाङ्ग परिवारले संचालन गरिरहेको जात्रा लामो समय देखि संचालन हुन सकेको थिएन । स्थानीय युवाहरुको सक्रियतामा २०६७ सालमा शुरु भएको जात्राले निरन्तरता पाईरहेको संकटा जात्रा ब्यवस्थापन समिति सदस्य रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो । भुकम्प पछि क्षति भएको उक्त मन्दिरको पुरातत्व विभाग मार्फत पुर्नर्निमाण गरिएको छ । मन्दिर पुर्ननिर्माणका लागि स्थनीय हरिसुन्दर सैजूको मूख्य भूमिका रह्यो । अहिले मन्दिर पुर्नर्निमाण सहित मन्दिर क्षेत्रलाई कम्पाउण्ड गरिएको छ । विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले मन्दिर परिसरमा निरन्तर सरसफाई र पूर्वाधार निर्माणको कार्य भईरहेको छ ।
संकटा जात्रा ब्यवस्थापन समितिको आयोजनामा फागु पूर्णिमाका दिन विहानै रातो पहिरनमा सजिएका महिलाहरुले पुजाका सामाग्री सहित पनौती बजारका विभिन्न मठ मन्दिरको परिक्रमा गर्छन । परिक्रमा पछि संकटा मन्दिरमा आएको उक्त समुहलाई नियमित पुजा गराई प्रसाद वितरण गरिनेछ । मन्दिरमा आचाजु अथार्त कर्माचार्यद्वारा पुजा हुन्छ । जात्रामा सहभागि सबैले लाईन बसेर पुजा गर्ने ब्यवस्था मिलाईएको हुन्छ । यो पटक सत्यनारायण कर्माचार्य मुख्य पुजारी थिए । भिन्तुना ग्रुपले संकटा मन्दिरमा बलि दिन ४७ हजार रुपैयाँमा राँगो खरिद गरेको थियो । अन्य प्रसादका लागि विभिन्न स्थानबाट भौतिक, आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिनुभयो । पनौतीका युवाहरु सम्मिलित भिन्तुना ग्रुप जात्रा ब्यवस्थापन तथा आयोजनाका सह आयोजक हो ।
नगरपालिका अन्र्तगत गठित जात्रा ब्यवस्थापन समिति मार्फत उक्त जात्राका लागि ३० हजार सहयोग प्राप्त हुनेछ । जबकी सम्पूर्ण जात्रा समापनका लागि डेड लाख रुपैया खर्च हुने आयोजक समितिका संयोजक विक्रम प्रजापतिले बताउनु भयो । बलि पछिको प्रसाद वितरणको क्रममा १ सय रुपैया नगद संकलन गरिएको छ । जसबाट संकलित रकमले जात्रा ब्यवस्थापन गरिन्छ । अहिले समितिमा जम्मा भएको करिव ७ लाख रुपैयाको ब्याज जात्रा संचालन समितिको मुख्य श्रोत हो । पनौती क्षेत्रका विभिन्न जात्राहरु मध्ये संकटा जात्रा पनि प्रमुख जात्राका रुपमा रहेको स्थानीय रोशनकुमार श्रेष्ठले बताउनु भयो ।





