2026 May 20/ 05:57: 47am

वर्गिकरण नहुँदा ‘विवाह ब्रतबन्ध’ रोकियो
    धुलिखेल/नेपाल लेखापढी कानून ब्यवसायी एशोसिएसन जिल्ला कार्य समितिको १६ औ बार्षिक साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । स्थानीय सरकारले बर्गिकरण नगर्दा भएका समस्या, कारोवारमा  आएको मन्दी, ब्यवसायीक एकता र शुद्धताका बारमो छलफल गर्दै सभा सकिएको अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो । 
    ‘संस्थाको विकास तथा ब्यवसायीक एकताका लागि सदस्यहरुको क्षमता बढाउन आवश्यक छ’–अध्यक्ष रोशनकुमार श्रेष्ठले भन्नुभयो – ‘जग्गा बर्गिकरण नहुँदा नागरिकहरुले ब्यहोर्नु परेको समस्यामा स्थानीय तहका जनप्रतिनिधि र सरकारका तीनै तह जिम्मेवार बन्न सकेनन् ।’ ‘अंशवण्डा हुन सकेको छैन’– अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘कृषि क्षेत्रमा बर्गिकरण गरिएको जग्गा अंश बण्डा हुँदैन ।’ कित्ताकाटका समस्यामा मालपोत र नापी कार्यालयमा भईरहेका समस्यालाई समाधान गर्न पहल गरेको भए पनि नागरिकहरुलाई छिटो सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनु भयो । भु–सेवाबाट प्रदान गरिएको सेवालाई प्रभावकारी र गुणस्तर बनाउन सहजिकरण गरिएको श्रेष्ठले बताउनु भयो । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले मालपोत र नापी कार्यालयको सेवालाई प्रभावकारी बनाउन पहल भईरहेको बताउनु भयो । जग्गा बर्गिकरण नहुँदा भएका समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय भए पनि प्राविधिक कारण हुन नसकेको उहाँले बताउनु भयो । आउँदो बैशाख भित्र १३ वटै पालिकाको जग्गा बर्गिकरण भईसक्ने गौतमको दावी छ । जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल र चौरी देउराली तथा खानीखोला गाउँपालिकाले बर्गिकरण गरिसकेका छन् । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले लेखापढी ब्यवसायीहरुको भवन निर्माण तथा संस्थागत विकास आवश्यक रहेको बताउँदै नमोबुद्ध नगरपालिकाको जग्गा बर्गिकरणमा विज्ञहरुले धेरै रकम मागेकाले बर्गिकरण समयमै हुन नसकेको बताउनु भयो । अन्य पालिकाहरुले असहयोग गरेको बताउँदै नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिकाले माघ भित्रै बर्गिकरण सम्पन्न गरेर बुझाउने बताउनु भयो । जग्गा बर्गिकरण नहुँदा सन्तानको शुभ कार्य समेत रोकिएको गुनासो आएको उहाँले बताउनु भयो । 
    कार्यक्रममा एशोसिएसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेलले लेखापढी कानून ब्यवसायीहरुले भोग्दै आएका समस्या, भएका नीति तथा कानूनहरुको अवस्था तथा ब्यवसायलाई समृद्ध बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नापी कार्यालय काभ्रेका अधिकृत सुरेश मानन्धर, केन्द्रिय उपाध्यक्ष सुर्यबहादुर थापा, महासचिव कृष्णप्रसाद दाहाल, कोषाध्यक्ष हरिप्रसाद पौड्याल, बार एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद सापकोटा, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, एशोसिएसनका केन्द्रिय सदस्य श्रीधर कायश्थ, जिल्ला उपाध्यक्ष ध्रुर्वप्रसाद दाहाल, सचिव कुमार मैनाली, सल्लाहकारहरु माधव सिग्देल, सदस्य जिल्ला दोर्जे लामा, पत्रकारहरु मोतीराम तिमल्सिना, भुवन रायमाझी र पेमा लामाले लेखापढी कानून ब्यवसायका बारेमा धारणा राख्नु भएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा ५२ वटा भू–सेवा छन् । नयाँ सदस्यहरुका लागि भू–सेवा थप भए पछि आवश्यकता र क्षमताका आधारमा वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । देशभर १ सय ५२ वटा संस्था संगठित भई लेखापढी कानून ब्यवसायीहरु सक्रिय भएका छन् ।