2026 May 19/ 07:30: 16pm

    पनौती नगरपालिका वडा नम्वर ७ मा रहेको स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन भएको ७ वर्ष भएको छ । बर्थिङ्ग सेन्टरमा सेवा लिन आउने गर्भवति महिलाहरुको स्वास्थ्य परिक्षण, परिवार नियोजन, ल्याव परिक्षण लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । अस्पतालले प्राप्त गरेको गर्भवति परिक्षणका लागि आवश्यक भिडियो एक्सरे मेशिन दक्ष जनशक्ति अभावका कारण ६ वर्ष देखि दराजमा ताल्चा लगाएर थन्काईएको छ । इसिजी मेशिन भए पनि कागज नभएका कारण इसिजी सेवा सूचारु हुन सकेको छैन । 
    ‘आर्थिक वर्ष २०७८÷०७९ मा बर्थिङ्ग सेन्टरमा ३५ जना महिला सुत्केरी भएका छन्’–बर्थिङ्ग सेन्टरमा कार्यरत नर्स सनि श्रेष्ठले भन्नुभयो–‘२४ सै घण्टा सेवा प्रदान गरिएको बर्थिङ्ग सेन्टरमा चार जना नर्सहरु कार्यरत रहे पनि आफुले भने अझै तालिम प्राप्त गर्न सकेको छैन ।’ तीन जना नर्सहरु तालिम प्राप्त भए पनि सनिले तालिमको अवसर नपाएको बताउनु भयो । ‘गर्भवति महिलाहरुको स्वास्थ्य परिक्षणका लागि आवश्यक पर्ने भिडियो एक्सरे मेशिन संचालन गर्ने जनशक्ति नभएका कारण प्राप्त मेशिन संचालन गर्न सकिएको छैन’–स्वास्थ्य चौकी इन्चार्ज हेमलता मश्राङ्गीले भन्नुभयो–‘भिडियो एक्सरे मेशिनका लागि जनशक्ति र इसिजी मेशिन संचालनका कागज बैठक नै पिच्छे माग गरेका छौं, ब्यवस्थापन हुन सकेको छैन ।’ उक्त सेवा संचालन हुन सके विरामीहरुका लागि थप सहजता हुनेछ । स्वास्थ्य चौकीमा भएको मेशिन संचालनमा नआउँदा गर्भवति महिलाहरुले एक पटकको ७ सय वा सो भन्दा धेरै रकम तिरेर अन्यत्र एक्सरे गराउँदै आएका छन् । नगरपालिकाले इसिजी मेशिनका लागि आवश्यक पर्ने प्रिन्ट कागज उपलब्ध नगराउँदा उक्त सेवा पनि सूचारु गर्न नसकिएको उहाँले बताउनु भयो । 
    बजारको केन्द्रमा रहेको स्वास्थ्य चौकीमा बार्षिक २ हजार ८ सयले सेवा लिएको हेल्थ असिस्टेन्ट लता कोईरालाले जानकारी दिनु भयो । ‘अस्पतालले दिने ल्याव, गर्भवति महिलाको परिक्षण, परिवार नियोजन सेवा, ल्याव सँगै मानसिक स्वास्थ्य पनि प्रमुख हो’–हेल्थ असिस्टेन्ट लता कोईरालाले भन्नुभयो –‘मासिक रुपमा संचालन भएको मानसिक स्वास्थ्य शिविरमा १ सय १२ जनाले निशुल्क सेवा सहितको औषधी लिनुहुन्छ ।’ स्वास्थ्य चौकीमा ३८ प्रकारका निशुल्क औषधी उपलब्ध छन् भने २ जना मेडिकल अफिसर डाक्टर, ४ जना नर्स, ३ पारामेडिक्स, १ जना ल्याव र २ जना कार्यालय सहयोगि कार्यरत छन् । भवन अभावका कारण सबै सेवा एकै स्थानबाट उपलब्ध गराउँदा असहज भएको हेल्थ असिस्टेन्ट लता कोईरालाले जानकारी दिनुभयो । पनौती नगरपालिकामा १५ वटा स्वास्थ्य संस्था छन् । खोपासीमा अस्पताल संचालनका लागि भारतिय सरकारको सहयोगमा पूर्वाधार निर्माण गरिएको छ । अस्पताल संचालनमा आएको छैन । 
    खोपासी, पनौती र कुशादेवीमा तीनवटा ल्याव, तीनवटा बर्थिङ्ग सेन्टर रहेको स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले बताउनु भयो । स्वास्थ्य विमाका कार्यक्रम तथा नगरपालिकाले शुरु गरेको स्वास्थ्य विशेष कार्यक्रम सहित थप सेवा संचालनका लागि आवश्यक कार्य भईरहेको तिमल्सिनाले बताउनु भयो । एक्सरे मेशिन संचालनका लागि आवश्यक जनशक्तिका बारेमा नगरपालिकाले ब्यवस्थापन गर्ने तयारी भईरहेको तिमल्सिनाले जानकारी दिनु भयो । वडा अध्यक्ष सविन ताम्राकारले भवन निर्माणसँगै संचालन हुन नसकेका सबै सेवाहरुमा नियमितता हुने बताउनु भयो ।