2026 November 17/ 06:11: 44am

दशैं, नेपाल संवत, तिहार र छठको शुभकामना आदानप्रदान 
    धुलिखेल/नेपाल भेटेरिनरी ल्याबोरेटोरी एसोसिएसन (नेभ्ला) काभ्रेको आयोजनामा विजयादशमी, नेपाल संवत, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विपत्ति कोषमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा नेभ्ला काभ्रेका सदस्यहरूबाट संकलित ५२ हजार ६५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ । नेभ्ला काभ्रेका अध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सदस्य बदनकुमार भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पशु सेवा कार्यालय काभ्रेका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ब्रजकिशोर ठाकुर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, पशु सेवा कार्यालयका पशु विकास अधिकृत डा.सुशिला श्रेष्ठ, पशु चिकित्सक डा.अनिशा श्रेष्ठ, नेभ्लाका केन्द्रीय सदस्य पवनकुमार केसी, पशु स्वास्थ्य तथा सेवा परिषद्का सदस्य अनिल तामाङ, पोल्ट्री व्यवसायी मञ्चका सचिव दयाराम महत, पशु सेवा कार्यालयका अधिकृत उद्धवप्रसाद सापकोटा तथा नेभ्लाका दीपक न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

संकलित रकम हस्तान्तरण
    कार्यक्रममा नेभ्लाका सदस्यहरूबाट संकलित रकम तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको थियो । नेभ्लाका सदस्यहरूले व्यक्तिगत रूपमा समेत विपद् प्रभावितका लागि सहयोग गरिसकेको भए पनि संस्थागत रूपमा समेत आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले रकम संकलन गरी हस्तान्तरण गरिएको बताएका छन् । कार्यक्रममा सहभागीहरूले विपद्का समयमा राज्य, निजी क्षेत्र, व्यवसायी तथा नागरिक समाज सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि उपलब्ध स्रोतको प्रभावकारी परिचालन हुनुपर्नेमा समेत जोड दिइएको थियो ।
व्यवसाय र चाडपर्वसँगै विपद्का विषयमा छलफल
    कार्यक्रममा विजयादशमी, नेपाल संवत, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै पशु तथा पशुजन्य व्यवसायका समसामयिक विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले पशु स्वास्थ्य, पशुपालन तथा व्यवसायमा देखिएका समस्या, व्यवसायीका चुनौती तथा राज्यका सम्बन्धित निकायसँग गर्नुपर्ने समन्वयका विषयमा धारणा राखेका थिए । चाडपर्वका समयमा पशु तथा पशुजन्य पदार्थको माग बढ्ने भएकाले उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ पशुजन्य उत्पादन उपलब्ध गराउन व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।
    त्यस्तै, व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वको शुभकामना आदानप्रदानसँगै विपदमा  परेका नागरिकलाई सहयोग गर्ने अभियान अघि बढाउनु सकारात्मक भएको बताएका थिए । नेभ्ला काभ्रेले आगामी दिनमा पनि पशु स्वास्थ्य तथा व्यवसायसँग सम्बन्धित विषयका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।