धुलिखेल/२९७ थान मोटरसाइकल लिलाम बिक्री गरी ४१ लाख २० हजार रुपैयाँ राजस्व दाखिला गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका प्रहरी नायव निरिक्षक रामकुमार बुढाथोकी उत्कृष्ट प्रहरी घोषित भई सम्मानित भएका छन् ।
उनलाई जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले सम्मानपत्र सहित सम्मान गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी नायब निरीक्षक रामकुमार बुढाथोकीलाई २०८३ साल भदौ महिनाको महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । ईलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा कार्यरत बुढाथोकीले कार्यालयको जिन्सी व्यवस्थापन, अभिलेख अद्यावधिक तथा राजस्व दाखिलामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी कार्यालयका अनुसार बुढाथोकीले कार्यालयको जिन्सी आम्दानी किताबमा रहेका हातहतियार, गोलीगठ्ठा, असामानका सामानलगायत अन्य जिन्सी सामग्रीको रजिस्टर तथा कम्प्युटरमा दुरुस्त अभिलेख राख्नुका साथै सफटवेयरमा समेत अभिलेख व्यवस्थित गरेका थिए ।
त्यसैगरी विगत केही वर्षदेखि जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा विभिन्न कारणले बेवारिसे अवस्थामा रहेका तथा स्वामित्व नखुलेका मोटरसाइकलहरूको व्यवस्थापनमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्दै उक्त कार्य सफलतापूर्वक सम्पन्न गरेकाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनलाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको प्रमाणपत्रमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविन कार्कीले प्रमाणपत्र प्रदान गर्दै बुढाथोकीलाई उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।









